coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

भैरहवामा लकडाउन थप प्रभावकारी

भैरहवा- कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले मंगलबारदेखि गरेको लकडाउन दोस्रो दिन अझै प्रभावकारी देखिएको छ। कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गरेको लकडाउनमा सुरक्षा संयन्त्र कडा रुपमा लागेपछि रुपन्देहीको भैरहवा क्षेत्रमा पहिलो दिन भन्दा आज थप प्रभावकारी देखिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक हेमकुमार थापा, प्रहरी नायब उपरिक्षक खड्गबहादुर खत्री, सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक तेज पोखरेल, सशस्त्र प्रहरी डण्डाका प्रमुख मानबहादुर शाही र सेनाहरु स्वयम फिल्डमा कडा रुपमा उत्रेपछि भैरहवामा लकडाउन प्रभावकारी देखिएको छ।

पहिलो दिन कतिपय सर्वसाधारण थाहा नपाएर घरबाहिर निस्किने र युवापिढीले हल्का रुपमा लिइएपछि प्रहरीले सम्झाइ बुझाइ गरेकोमा आज उल्लंघन गरिए कारबाही गर्ने चेतावनी दिई सवारी साधनसहित नियन्त्रणमा लिन थालेपछि प्रभावकारी देखिएको छ।

यस्तो अवस्थामा पनि लकडाउनको उल्लंघन गरे यथास्थानमा संक्रामक रोगसम्बन्धी ऐन २०२० अनुसार नियन्त्रणमा लिएर कारबाही गर्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी खत्रीले बताए। भैरहवा क्षेत्र मात्र होइन ग्रामिण तथा भित्री क्षेत्र धकधई, बेथरी, मर्चवार, लुम्बिनी लगायतका क्षेत्रमा पनि प्रहरी परिचालन गरी पूर्ण रुपमा लकडाउन गरिएको छ।

प्रशासनलाई खाद्यान्न, औषधि उपचारलागायतका अत्यावश्यक कामबारे जानकारी गराई दुरी कायम राखी मात्र निश्चित व्यक्तिहरु बाहिर निस्किन मिल्ने छ। अतिआवश्यक दैनिक उपभोग्य पसलहरु भिडभाड नगरी दूरी कायम गर्दै पूर्ण रुपमा सञ्चालन गर्न मिल्ने छ।

यसैबीच सामाजिक उत्तरदायित्व अन्तर्गत जगदम्बा समूहले भिम अस्पताल र जिल्ला प्रहरी कार्यालयलाई निःशुल्क सर्जिकल मास्क प्रदान गरेको छ। दैनिक एक हजार मास्क उत्पादन गर्न सुरुवात गरेको समूहले हालसम्म उत्पादित सबै मास्कहरु निःशुल्क प्रदान गर्दै आएको जगदम्बा सिमेन्टका जेनरल म्यानेजर विदुर ढुङगानाले बताए। देशको स्थिती बुझेर नाफामूलक भन्दा पनि सेवामूलक भावनाले हालै मात्र मास्क उत्पादन सुरु गरेका छौ, उत्पादित मास्क देशैभर वितरण गरिरहेका छौं।
 

प्रकाशित: १२ चैत्र २०७६ ०७:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App