८ वैशाख २०८१ शनिबार
खेल

अञ्जन स्पेन, किरण माल्दिभ्सतर्फ

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका दुई स्टार गोलरक्षक किरण चेम्जोङ र स्ट्रा्रइकर अन्जन विष्ट विदेशमा अनुभव बटुल्न माल्दिभ्स र स्पेनतिर लागेका छन्। लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदीका गोलरक्षक चेम्जोङ सोमबार लिग खेल्न माल्दिभ्सतर्फ जाँदा युवा स्ट्राइकर विष्ट विशेष प्रशिक्षणका लागि स्पेनको मार्बिला युनाइटेड एकेडेमी गएका छन्।

चेम्जोङले माल्दिभ्सको शीर्ष डिभिजन लिग उपविजेता ट्रस्ट एन्ड केयर (टिसी) स्पोर्ट्सबाट एक सिजन खेल्नेछन्। नेपाली राष्ट्रिय टोलीका पहिलो रोजाइका गोलरक्षक चेम्जोङले अनुभव बटुल्न विदेशी क्लबबाट खेल्ने निर्णय गरेको बताए। 'नेपालमा लिग नभएका बेला विदेशी क्लबबाट खेल्दा मेरो व्यक्तिगत खेलस्तर माथि उठ्नेमा विश्वस्त छु। त्यहाँको अनुभवले राष्ट्रिय टोलीलाई पनि फाइदा पुग्नेछ। मैले विदेशी क्लबमा आफूलाई राम्रो गोलरक्षक प्रमाणित गर्नुपर्ने चुनौति सामना गर्न म तयार छु,' चेम्जोङले भने, 'टिसीले पछिल्लो समय मलाई नियालीरहेको रहेछ। लिगको स्तर र क्लबका कारण मैले त्यहाँ खेल्ने निर्णय गरेको हुँ।' उनले सन् २०१७ को एक सिजन खेल्न सम्झौता भएको बताए। उनले थपे, 'सुरुमा क्लबले दुई वर्षको प्रस्ताव राखेको थियो। तर मैले अहिले एक सिजनमात्र खेल्ने बताएपछि एकवर्षे सम्झौता भएको छ। तर सम्झौता सार्वजनिक भएको छैन। सम्झौता माल्दिभ्समै सार्वजनिक गर्ने सहमति छ।'

सम्झौता रकम नखुलाए पनि चेम्जोङले आर्कषक रकममा माल्दिभ्स जान लागेको बताए। उनले भने, 'क्लबको आर्कषक प्रस्तावमा चित्त बुझेपछि सम्झौता पत्रमा यहीँबाटै हस्ताक्षर गरेर पठाएको थिएँ। अन्य सुविधाबारे उहीँ नै छलफल गर्ने सहमति भएको छ।'

चेम्जोङ दोस्रोपल्ट विदेशी क्लबबाट फुटबल खेल्न लागेका हुन्। यसअघि उनले बंगलादेशको चित्तागोङ अवहानीबाट २०१० मा बंगलादेश प्रिमियर लिग खेलेका थिए। त्यहाँ एक सिजन खेल्ने सम्झौता भए पनि उनी ४ महिनामात्र खेलेर फर्किएका थिए। बंगलादेशको तुलनामा माल्दिभ्स लिग कठिन हुने उनको अनुमान छ।

चेम्जोङले भने, 'राष्ट्रिय टोलीको खेल परेकाले बंगलादेशबाट लिगको बीचमै फर्कनु परेको थियो। तर माल्दिभ्सको फुटबल स्तर दक्षिण एसियामा राम्रो मानिन्छ। भारत र माल्दिभ्सको लिग स्तरीय छ। माल्दिभ्समा खेल्नु मेरा लागि राम्रो अवसर पनि हो। क्लबका लागि म सयमात्र होइन दुई सय प्रतिशत राम्रो खेल्ने प्रयास गर्छु।'

माल्दिभ्समा व्यावसायिक फुटबल खेल्ने चेम्जोङ तेस्रा नेपाली फुटबलर बन्नेछन्। यसअघि सन् २००९ मा नेपाली स्ट्राइकर सन्तोष साहुखल र जुमानु राईले माल्दिभ्सको अल युथ लिङकेजबाट खेलेका थिए।

२६ वर्षे चेम्जोङले २००८ देखि मछिन्द्र फुटबल क्लबबाट व्यावसायिक फुटबल खेल्न थालेका हुन्। एन्फा एकेडेमीका उत्पादन उनले थ्री स्टारबाट ७ वर्ष घरेलु प्रतियोगिता खेले। त्यस अवधिमा उनले ए डिभिजन राष्ट्रिय लिगलगायत महत्वपूर्ण उपाधि जितिसकेका छन्। पछिल्लो समय उनी मनाङ मर्स्याङदी क्लबमा आबद्ध थिए।

उदीयमान स्टार विष्ट घरेलु फुटबलमा सशस्त्र प्रहरी बलको एपिएफबाट व्यावसायिक फुटबल खेल्छन्। उमेर समूहका राष्ट्रिय टोलीबाट प्रभावशाली प्रदर्शन गर्दै आएका उनले मार्बिल युनाइटेडमा तीन महिना विशेष प्रशिक्षण लिने अवसर पाएका छन्। उनले एकेडेमीमा प्रशिक्षण लिनुका साथै युरोपका विभिन्न क्लबमा ट्रायल पनि दिने बताइएको छ। आइतबारमात्र सशस्त्र प्रहरी बलको मोस्ट भ्यालुएबल प्लेयरको अवार्ड पाएका विष्टले व्यक्तिगत पहलमा यो अवसर पाएका हुन्। युरोपमा अभ्यास तथा ट्रायलको अवसर पाउनुलाई उनले करियरको महत्वपूर्ण मोडका रुपमा लिएको बताए। 'त्यहाँ प्रशिक्षण लिन पाउँदा मेरो खेलस्तर पक्कै माथि उठ्ने विश्वास छ। ट्रायलको अवसर पाए म आफू र नेपाली फुटबललाई प्रमाणित गर्ने भरमग्दुर प्रयास गर्नेछु,' उनले भने।

राष्ट्रिय तथा यु–१९ टोलीमा विष्टका सहयात्री विमल घर्तीमगर र अनन्त तामाङ पनि आउँदो केही साताभित्र स्पेन जाने तयारीमा रहेको बताइएको छ।

प्रकाशित: २६ पुस २०७३ ०४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App