coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

घरै बसौँ

सरकारले मुलुकलाई ‘लकडाउन’ गरेको छ । यसको मतलव मानिस सकेसम्म घरभित्रै बस्ने, अरु मानिसको सम्पर्कमा नजाने हो । आफूमात्रै हैन, सिंगै परिवार र आफन्तलाई समेत यसका लागि प्रेरित गर्ने हो । यसबीचमा पनि केही समयको अन्तरमा साबुनपानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क सकभर नछाड्ने जस्ता कार्य भने बिर्सन मिल्दैन । कोरोना भाइरस संक्रमण बढ्ने सम्भावना चुलिँदै जाँदा सरकारले गरेको यो निर्णय यतिबेला अत्यन्तै आवश्यक थियो । त्यसैले यो सरकारी निर्णयलाई सुझबुझपूर्ण मानिएको हो ।

सामान्य मानिसले पनि बुझ्ने कुरा हो कि ज्येष्ठ नागरिक, पहिलेदेखि नै कुनै रोगको सामना गरिरहेका व्यक्ति तथा बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता न्यून हुन्छ । त्यसैले कोरोनाले पनि यस्ता समस्याबाट गुज्रिरहेकाहरूलाई आक्रमण गर्ने मौका कुरिरहेको हुन्छ । त्यसैले युवा वा वयस्क र तन्नेरीहरूले यो भाइरसलाई जित्न सके पनि समस्याग्रस्त व्यक्तिहरूले जित्ने सम्भावना अत्यन्तै कम हुन्छ । त्यसैले ज्येष्ठ नागरिक, बिरामी र बालबालिका जस्ता भाइरसको बढी जोखिममा हुनेहरू बढी सतर्क हुनुपर्छ । उनीहरूलाई थप सुरक्षा आवश्यक पर्छ । र, यो भनेको ‘घरबाहिर निस्कन निषेध’ गर्नु नै हो ।

यसको मतलव अरु सामान्यजनहरू खुलेयाम जे गर्न पनि स्वतन्त्र छन् भन्ने हैन । उनीहरू पनि कोरोना संकटमा पर्न सक्छन् । त्यसैले यतिबेला सबै मिलेर कोरोनालाई परास्त गर्नुको विकल्प हामीसँग छैन । त्यसको सबैभन्दा उत्तम उपाय भनेको सकभर घरभित्रै बस्नु हो । सरकारले आफैँ मुलुकलाई ‘लकडाउन’ गरेका कारण कर्मचारी, श्रमिक, विद्यार्थी, शिक्षक सबैजसो तह र तप्काका मानिसलाई घरमै बस्न सहज छ । यसरी घरमै बस्नुपर्दा धेरैलाई अवश्य पनि केही न केही समस्या हुन सक्छ, असहज लाग्न सक्छ तर यसलाई अन्यथा मान्नुहुन्न किनकि यो सामान्य अवस्था हैन । असामान्य अवस्थामा असामान्य परिस्थितिको सामना विधिको विधानभित्रै पर्ने कुरा हो ।

हुन त चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्यांकअनुसार कोभिड–१९ को मृत्यु दर २.३ प्रतिशत छ । तर यसको मृत्यु दर डरलाग्दो नभए पनि यसले अरुमा रोग फैलाउन सक्ने दर निकै उच्च भएका कारण सम्पूर्ण जनता सतर्क हुनुपर्ने अवस्था सिर्जिएको हो । १०–३९ वर्ष समूहका मानिसको मृत्यु दर ०.२० प्रतिशत रहे पनि ७० वर्षमाथिका व्यक्तिको मृत्यु दर ८ प्रतिशत रहनुले प्रतिरोधी क्षमता कमजोर भएकालाई कोरोनाले सबैभन्दा बढी लक्षित गर्छ भन्ने प्रस्टिन्छ ।

महिलाभन्दा पुरुष बढी जोखिममा रहेका, मुटुसम्बन्धी बिरामीले बढी सतर्कता अपनाउनुपर्ने, उच्च रक्तचाप र स्वास/प्रस्वासका बिरामी कोरोनाको प्रभावमा पर्ने जस्ता निष्कर्ष पनि उक्त अध्ययनले निकालेको छ । त्यसैले कोरोनाबाट सबै उत्तिकै सतर्क रहनुपर्ने भए पनि जोखिमको उच्च स्थानमा भएकाहरू थप सतर्क रहनुपर्ने देखिन्छ ।
यस्ता वास्तविकता एकातिर छन् भने अर्कोतिर हामी नेपाली जाति पनि संक्रमण सम्भावनाको टाढा छैनौँ । विशाल छिमेकी मुलुकमा ज्यामितीयरूपमा बढिरहेको संक्रमणले हामीलाई यो सम्भावनाको नजिक तानिरहेको छ । त्यसैले यस्तो बेलामा आफ्नो र परिवारको स्वास्थ्यको ख्याल आफैँ गर्नुको विकल्प छैन । आफ्नो नियन्त्रणबाट फुत्किए त्यसमा सघाउने घोषणा त सरकारले गरेकै छ । तर सबैभन्दा पहिलो प्रयास भने आफू आफैँ घर बस्ने र परिवार तथा आफन्तलाई पनि आफ्नै घर बसाउने कार्यबाट थालिनुपर्छ ।

कैयौँ सहरलाई एकअर्कासँग सम्पर्क विच्छेद गरिनु, हात धुने कार्य तीव्र र विस्तार गरिनु, मास्क लगाउनु, उपचार खोज्ने विषयमा एकभन्दा बढी माध्यमलाई सूचना संप्रेषण गरिनु र द्रुत प्रतिकार्य टोली गठन गरेर त्यसमा सम्बन्धित धेरै निकाय समावेश गरी महामारी नियन्त्रणका लागि परिचालन गरिनु जस्ता कारण चीनमा कोरोनाले चाँडै डाँडो काटेको पनि यो अध्ययनले उल्लेख गरेको छ । त्यसैले नेपालमा पनि कोभिड–१९ बाट मुक्ति पाउन यिनै मार्ग अवलम्बन गर्नुको विकल्प हामीसँग छैन ।

‘उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु वेश’ भन्ने भनाइ यतिबेला सबैभन्दा बढी सान्दर्भिक छ । कोरोना लागे पनि मरिहालिन्न भनेर लकडाउन घोषणा खारेज गर्दै अघि बढ्ने हो भने त्यसले उसलाई मात्र नभएर अरुलाई पनि सिध्याउन सक्छ । त्यसैले सरकारले घोषणा गरेको लकडाउनलाई शतप्रतिशत शिरोपर गर्दै आफू पनि सकभर घरबाहिर ननिस्कने र अरुलाई पनि ननिस्कन प्रेरित गर्नु नै कोरोनामाथि जीत हासिल गर्ने एकमात्र उपाय हो । लकडाउन पालना गरौँ । घरै बसौँ ।     

 

प्रकाशित: १२ चैत्र २०७६ ०४:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App