८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा

स्याङ्जा – वालिङ नगरपालिकामा विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा बसेका छन्। विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ को सचेतनास्वरूप नगरपालिकाले नगरभित्रका विभिन्न वडाका घर/घरमा पुगेर विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न दिएको सुझाव अनुसार उनीहरू होम क्वारेन्टाइनमा बसेको नगरपालिकाले जनाएको छ। 

‘नगरभित्रका १४ वटै वडामा विदेशबाट फर्किएका व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गरिरहेका छौं’, नगर प्रमुख दिलीपप्रताप खाँणले भने, ‘विदेशबाट फर्किएका व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा बस्न सुझावसहित निगरानी तथा अनुगमन पनि अगाडि बढाएका छौं।’

विदेशबाट आफ्नो टोलमा कोही आएमा वडा वा नगरपालिका कार्यालयमा खबर गरी सहयोग गर्न पनि नगर प्रमुख खाँणले टोलवासीहरूलाई आग्रह गरेका छन्। 

टोलवासीहरूले नगरपालिका कार्यालयमा खबर गरेसँगै नगरका विभिन्न वडाका घर÷घरमा पुगेर विदेशबाट आउनुभएका दाजुभाई तथा दिदीबहिनीलाई १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न सुझावसहित आवश्यक परामर्श प्रदान गरिएको नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले बताए। ‘विदेशबाट फर्किनुभएकालाई १४ दिनसम्म घरमा छुट्टै बस्न लगाएका छौं’, उनले भनिन् ,‘उहाँहरूको इच्छा अनुसार होम क्वारेन्टाइनमा बस्न छाडेका छौं। बसे नबसेको नियमित अनुगमन गरिराखेका छौं।’

भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको निर्णय पालना गरी सहयोग गर्न नगरपालिकाले आग्रह गरेको छ। सोमबार र मंगलबार गरी नगरभित्रका १, २, ८, ९, ११, १२ र १३ नं. वडामा घर÷घरमा पुगेर विदेशबाट आएका तर १४ दिन पूरा नभएका नागरिकलाई आफू सुरक्षित हुँदै घरपरिवारलाई पनि सुरक्षित राख्ने उद्देश्यले होम क्वारेन्टाइनमा बस्न सुझाव दिएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए। 

होम क्वारेन्टाइनमा बसेकालाई १४ दिनसम्म दैनिक आफ्नो तापक्रम मापन गर्नका लागि थर्मोमिटर प्रदान गरिएको छ भने आवश्यक परामर्श समेत दिइएको छ। नगरका १४ वटै वडामा विदेशबाट आएकाहरुको खोजी गरी अभिलेख राख्ने कार्यलाई निरन्तरता दिइने स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए। रासस

प्रकाशित: १२ चैत्र २०७६ ०३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App