coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दिल्लीमा २४ घण्टामा नयाँ सङ्क्रमण भेटिएन, नमूना सङ्कलन गर्न स्वास्थ्यकर्मी घरमै पुग्ने

नयाँ दिल्ली  - भारतीय राजधानी दिल्लीमा विगत २४ घण्टामा कोरोना भाइरसको नयाँ सङ्क्रमण पुष्टि नभएको यहाँका मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार बताएका छन्।

मुख्यमन्त्री केजरीवालले आफ्नो ट्वीटर सन्देशमा भने, “विगत २४ घण्टामा दिल्लीमा कोभिड–१९ को नयाँ सङ्क्रमण भेटिएको छैन भने पाँच जना सङ्क्रमित विरामी उपचारपछि निको भएका छन् । यद्यपि यो समय खुशी भैहाल्ने अवस्था भने होइन ।” 

“अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको परिस्थितिलाई नियन्त्रणबाहिर जान नदिनु रहेको छ । यसका लागि सरकारले सबै नागरिकको सहयोगको अपेक्षा गरेको छ ।” 

दिल्लीमा कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति एकपछि अर्को गर्दै बढ्न थालेपछि राज्य सरकार तथा केन्द्र सरकारको निर्देशनमा आइतबारदेखि अति आवश्यक सेवाका लागि बाहेक घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । 

भारतमा मङ्गलबारसम्म ४४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भैसकेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भारतमा मङ्गलबारसम्म सङ्क्रमित नौ जनाको मृत्यु भइसकेको छ ।


नमूना सङ्कलन गर्न स्वास्थ्यकर्मी घरमा नै पुग्ने

कोभिड–१९को संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि भारत सरकारले शंकास्पद व्यक्तिहरुको नमुना सङ्कलन घरमै व्यवस्था छिट्टै हुने बताइएको छ ।

सरकारले कोरोना भाइरसको शङ्का लागि विरामीले माग गरेमा घरसम्म नै पुगी नमूना सङ्कलन गर्ने र परिक्षणका लागि दिल्लीमा एम्स, लखनऊमा केजीएम, जयुपुरमा एसएमएस, कोलकोत्तामा एनआईसीईडी, गुवाहाटीमा जीएमटी, नागपुरमा आइजीजीएमसी, मुम्बईमा कस्तुरबा मेडिकल कलेज, अहमदावादमा बीजे मेडिकल कलेज, बैंगलोरमा बीएमसीआरआई र चेन्नईमा केआईपीएमआर लगायतका अस्पतालहरुमा व्यवस्था मिलाएको छ ।

यसअघि भारतभर १३ वटा ल्याबमा मात्रै कोरोना भाइरसको परीक्षणको सुविधा रहेकोमा मंगलबारदेखि थप १८ ल्याबमा कोरोना भाइरसको परीक्षण गर्न सकिने व्यवस्था सरकारले मिलाएको छ । भारतमा अब ३१ वटा प्रयोगशालामा कोरोनाको परीक्षण गर्न सकिने छ ।

सरकारले निजी प्रयोगशालाका लागि परीक्षण शुल्कसमेत तोकेको छ । निजी प्रयोगशालामा ४ हजार ५ सय भारतीय रुपैयाँमा कारोनाको जाँच गर्न सकिने बताइएको छ ।

सरकारले निजी प्रयोगशालामा यदी कसैको रिपोर्ट ‘पोजेटिभ’ आएमा अन्तिम परीक्षणका लागि पुणे पठाउनु पर्ने जनाएको छ । त्यसपछि मात्रै कोरोनाको अन्तिम पुष्टि हुनेछ ।

भारतमा मङ्गलबार साँझ ८ बजेसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५११ पुगेको र यसका कारण १० जनाको मृत्यु भएको तथ्याङ्क सङ्कलन वेबसाइट वल्डोमिटरले जनाएको छ ।आजैदेखि २१ दिनसम्म भारतले देशव्यापी लकडाउनको घोषणा गरेको छ।रासस

प्रकाशित: ११ चैत्र २०७६ १५:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App