६ वैशाख २०८१ बिहीबार
समाज

बाँकेका सिडिओ भन्छन्, ‘अब त कुनै पनि हालतमा छोडिदैन’

नेपालगन्जस्थित नेपाल–भारत सिमा नाका। तस्बिरः नागरिक

नेपालगन्ज - भारतमा रोजगारी, औषधी उपचार र आफन्तको घरबाट फर्केका नेपाली नागरिक मंगलबार पनि रुपैडिहामा अलपत्र परेका छन्। नेपालगन्जस्थित नेपाल–भारत सिमानाका पुर्ण रुपमा बन्द भएपछि उनीहरु सिमा प्रवेश हुन नपाएर अलपत्र परेका हुन्।

इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज एवम् प्रहरी नायव निरीक्षक माधव रिजालका अनुसार करिव ४० जना जति नेपालीहरु दसगजा नजिकै भारतीय क्षेत्रमा आएर बसेका छन्। प्रहरीका अनुसार उनीहरु सोमबार रातीदेखी रुपैडिहा आएका थिए।

‘करिव ४० जना जति आएर बसेका छन्, हामीलाई सिमा प्रवेश गर्न दिनुप¥यो भनेर भन्छन्, तर हामीले उनीहरुलाई यतातिर आउन दिएका छैनौं,’ रिजालले भने। रुपैडिहामा अलपत्र परेका नेपालीले आफुहरु भोक भोकै बस्नु परेको दुखेसो समेत पोखेका छन्। ‘भारतको बाटो धेरै दुःख, कष्ट भोगेर यहाँसम्म आयौं, तर आफ्नो देशले प्रवेश गर्न नदिदाँ नराम्रो लागेको छ,’ उनीहरु भन्छन्।

भारतीय क्षेत्रमा होटल, पसल सबै बन्द रहेकाले भोक भोकै बस्नु परेको उनीहरुको दुखेसो छ। भारतमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सर्तकता स्वरुप आइतबारबाट सिमा नाका बन्द गरिएको थियो। नाका बन्द भएपनि बाँके प्रशासनले सिमापारी अलपत्र परेका नेपाली नागरिकलाई सोमबार सम्म उद्धार गरेको थियो।

सिमा नाकाबाट सोमबार उद्धार गरिएका मध्ये ५ सय ४० जनालाई नेपालगन्ज उपमहानगरपालिकाको नगर बसमा राखेर स्थानीय महेन्द्र बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनमा ल्याइएको थियो। स्थानीय प्रशासन उनीहरुलाई केही समयका लागि क्वारेन्टाइनमा राख्ने र पुनः स्वास्थ्य जाँच गरी घर पठाउने योजनामा थियो। तर, त्यहाँ रहेका मध्ये करिव आधा जति ब्यक्ति ‘जबरजस्ती’ क्वारेन्टाइनको पर्खाल नाघेर भागेका थिए।

भारतबाट सिमा प्रवेश गराइएका ब्यक्तिमा कोरोनाको लक्षण नभेटिएपनि स्थानीय प्रशासनले गरेको आग्रहलाई अटेरी गरेका कारण मंगलबार नाका पुर्ण रुपमा बन्द गरिएको बताइएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले मंगलबार सिमापारी रुपैडिहाबाट कसैलाई पनि सिमा प्रवेश हुन नदिइएको बताए। ‘सिमापारी कतिको संख्यामा छन्, हामीलाई त्यसबारे जानकारी छैन,’ उनले नागरिकसँग भने ‘अब त कुनैपनि हालतमा छाडिदैन।’

प्रकाशित: ११ चैत्र २०७६ १०:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App