५ वैशाख २०८१ बुधबार
स्वास्थ्य

भारतबाट फर्किएका ४० जनालाई होम क्वारेन्टाइनमा बस्न आग्रह

खोटाङ– खोटाङको जन्तेढुंगा गाउँपालिकाले भारतबाट गाउँ फर्केका ४० जनालाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेकाे छ। कोरोना भाइरसको त्राससँगै भारतका विभिन्न स्थानबाट घर फर्किएका स्थानीयलाई १४ दिनसम्म घरैमा क्वारेन्टाइनमा बस्न भनिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए।

गाउँपालिकाको केन्द्र चिसापानीमा स्थापना गरिएको हेल्थ डेस्कमा आइपुगेका उनीहरुलाई ज्वरोको समस्या नदेखिए पनि घरमा परिवारबाट अलग्गै बस्न भनिएको गाउँपालिकाले जनाएको छ। भारतबाट सोमबार १८ जना स्थानीय चिसापानी हेल्थ डेस्कमा आइपुगेका थिए। भारतबाट फर्किने सबै स्थानीयलाई होम क्वारेन्टाइनमा बस्न लगाइने पोखरेलले बताए। जन्तेढुंगा गाउँपालिकाले चिसापानीसहित उदयपुरको सिमानामा पर्ने बंशिलाघाट र भोजपुरको सिमानामा पर्ने भञ्ज्याङखर्कमा हेल्थ डेस्क खडा गरेको छ।

विदेशबाट फर्किएका युवा निगरानीमा
हलेसी तुवाचुङ नगरपालिकाले बिदेशबाट फर्किएर आएका स्थानीयलाई निगरानीमा राखेको छ। कोरोनाको त्रास फैलिन सुरु गरेपछि हालसम्मको अवधिमा घर फर्किएका युवालाई नगरपालिकाले निगरानीमा राखेको हो। केही समयअघि मात्र विदेशबाट फर्किएका युवाको विवरण संकलन गरेर घरैमा पुगेर स्वास्थ्य जाँच गर्ने र होम क्वारेन्टाइनमा बस्ने व्यवस्थाका लागि सम्बन्धित वडाका वडाध्यक्ष र अहेवलाई खटाइएको मेयर इवन राईले बताए। भर्खरै मात्र विदेशबाट आएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका युवाको स्वास्थ्य परीक्षणका लागि वडाध्यक्ष पृथीराज राई र अहेवलाई पठाइएको नगरपालिकाले जनाएको छ।

यस्तै, गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै काठमाण्डौं अवतरण गरेको क्यूआर ६५२ कलसाईनको कतार एयरवेजमार्फत फर्किएका भनिएका हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका एक युवा अर्कै जहाजबाट फर्किएको खुलेको छ। उनी कतार एयरवेजको क्यूआर ६४४ मार्फत स्वदेश फर्किएको कागजातबाट खुलेको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले बताईन्। त्यी युवाले आफूलाई क्यूआर ६५२ कलसाईनको कतार एयरवेजमार्फत नेपाल फर्किएको हल्ला चलेपछि तनाव झेल्नु परेको फेसबुकमा उल्लेख गरेका छन्।

प्रकाशित: ११ चैत्र २०७६ ०९:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App