४ वैशाख २०८१ मंगलबार
राजनीति

आठौं प्रदेशमा गए निकास : फोरम लोकतान्त्रिक

काठमाडौं- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) ले संसद्मा टेबुल भएको संविधान संशोधन विधेयकमा आफ्ना तर्फबाट संशोधन प्रस्ताव दर्ता गराउने भएको छ। लोकतान्त्रिक फोरमको सोमबार बसेको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले यथास्थितिमा संशोधन प्रस्ताव स्वीकार गर्न नसकिने भन्दै संशोधन हाल्ने निर्णय गरेको छ। बैठकमा लोकतान्त्रिक फोरमका नेताले कुनै पनि अवस्थामा झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई छाड्न नसकिने धारणा राखेका थिए। कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा गाभ्नुपर्ने, झापा, मोरङ, सुनसरीमा सप्तरी र उदपयुर जोडेर आठौं प्रदेशमा जान सकिने धारणा उनीहरुले राखेका थिए। बैठकमा पार्टी अध्यक्ष विजय गच्छदारले आठौं प्रदेशमा गए मुलुकले निकास पाउने बताएका थिए।

'संशोधन प्रस्तावमा संशोधन हाल्दैै संसद्मा टेबुल भएको संशोधन विधेयकलाई समर्थन गर्ने निर्णय गरका छौं', बैठकपछि लोकतान्त्रिक फोरमका वरिष्ठ उपाध्यक्ष रामेश्वरराय यादवले भने, 'खासगरी सीमांकनका बारेमा हामीले संशोधन प्रस्ताव राख्ने भएका छौं।'

सो दलका सांसद पवनकुमार सारडाले संशोधन प्रस्ताव परिमार्जन गरेमा समर्थन गर्ने निर्णय भएको बताए। 'यथास्थितिमा संशोधन विधेयकलाई समर्थन गर्न सक्दैनौं। विधेयकमा परिमार्जन हुनुपर्छ भन्ने हाम्रो माग हो', सारडाले भने।

स्रोतका अनुसार बैठकमा थारु सांसदले ५ नम्बर प्रदेशमा कैलाली र कञ्चनपुरलाई गाभेर थरुहट प्रदेश बनाउनुपर्ने अडान राखेका थिए।

यसैगरी मधेसी मोर्चाले पनि संशोधन विधेयक संशोधन गर्नुपर्ने अडान दोहोर्‍याएको छ। संसद्मा पेस भएको संशोधन प्रस्ताव परिमार्जन गर्न मोर्चाका नेताले सरकारसँग छलफल गर्ने भएका छन्। 'मोर्चाका तर्फबाट संशोधन राख्ने कि सरकारका तर्फबाट भन्नेबारेमा हामीले सरकारसँग छलफल गर्दैछौं', सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, 'तर संशोधन प्रस्तावमा संशोधन गर्नुपर्छ भन्ने हाम्रो अडान हो।'

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले मधेसी मोर्चासँग सहमति गरी सरकारले नै संशोधन प्रस्ताव दर्ता गर्नुपर्छ भन्ने मोर्चाका माग रहेको बताए। 'मोर्चासँग छलफल र सहमति गरी सरकारले नै संशोधन प्रस्ताव परिमार्जन गर्नुपर्छ भन्ने मोर्चाको माग हो', झाले भने, 'कार्यतालिका प्रकाशित भएपछि हामीले यसबारेमा छलफल गर्ने भएका छौं।' संशोधन प्रस्तावबारे छलफल गर्न बुधबार मोर्चाको बैठक बस्ने जानकारी झाले दिए ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि संविधान संशोधन विधेयक जस्ताको त्यस्तै पास भएमा कुनै अर्थ नहुने बताएका छन। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संशोधन प्रस्ताव परिमार्जन भएमा मुलुकले निकास पाउने बताए।

प्रकाशित: २६ पुस २०७३ ०३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App