coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

क्षमताको ९० प्रतिशत इन्धन मौज्दात

काठमाडौं- नेपाल आयल निगमले आफ्नो भण्डारण क्षमताको ९० प्रतिशत इन्धन मौज्दात रहेको जनाएको छ । नोवेल कोरोना भाइरस संक्रमण आउन सक्ने भयले बजारमा माग बढेपछि अभाव हुन नदिन निगमले आयात बढाएर मौज्दात राखेको हो । निगमले ग्यासको अभाव हुन नदिन सोमबार एकै दिन भारतबाट ५२ बुलेट ग्यास आयात गरेको जनाएको छ ।

अप्ठेरो अवस्थामा अभाव हुन नदिन आयल निगमले सोमबार एकै दिन ५२ बुलेट ग्यास आयात गरेको छ ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, हवाई इन्धन नियमित कोटाभन्दा बढी आयात गरेको निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । ‘१–२ दिनमा निगमका सबै डिपो भरिन्छन्,’ पौडेलले भने, ‘अभाव हुन नदिन स्टक बढाएका हौं ।’

निगमले अहिले साबिकमा भन्दा बढी इन्धन बजार पठाइरहेको छ । काठमाडौंको थानकोट डिपोसहित देशभरका एक दर्जन डिपोमा रहेका भण्डारणगृहमा इन्धन सञ्चय गरेको हो । निगमसँग ६० हजार पाँच सय ६९ किलोलिटर भण्डारण क्षमता रहेकोमा आइतबारसम्म ५३ हजार सात सय आठ किलोलिटर इन्धन सञ्चित छ । सबैभन्दा धेरै इन्धन खपत हुने राजधानीका लागि थानकोट डिपोमा इन्धन भण्डारण बढेको छ । साेमबारसम्म थानकोट डिपोमा क्षमताको ७५ प्रतिशत भण्डारण गरेको डिपो प्रमुख विनितमणि उपाध्यायले बताए । ‘नियमितभन्दा धेरै आयात गरेका छौं,’ उपाध्यायले भने, ‘अब बजारमा अभाव हुन दिँदैनौं ।’

कोरोनाको सन्त्रासले केही दिनअघि उपत्यकामा पेट्रोल र डिजेल भर्ने उपभोक्ताको लाइन लागेको थियो । थानकोटमा २१ हजार चार सय ८५ किलोलिटर क्षमता रहेकोमा १६ हजार २० किलोलिटर भण्डारण गरेको छ । निगमले राजधानीसहित विराटनगर, भद्रपुर, जनकपुर, अमलेखगन्ज, पोखरा, भैरहवा, नेपालगन्ज, धनगढी, दिपालय डिपोमा स्टक बढाएको जनाएको छ । सबै डिपोलाई आफ्नो क्षमता अनुसार इन्धन भण्डारण गर्न निर्देशन दिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । ‘आयात बढाएर भण्डारण वृद्धि गर्न भनेका छौं,’ उनले भने ।

निगमले इन्धन भण्डारण बढाए पनि क्षमता भने कमजोर छ । लामो समयदेखि पूर्वाधार निर्माणका काम नहुँदा भण्डारण क्षमता वृद्धि हुन नसकेको हो ।

थप १५ हजार मेट्रिक टन ग्यास ल्याउने
कोरोनाको त्रासले बजारमा ग्यासको माग बढेर उपभोक्ता लाइनमा बसेपछि निगमले यसको आयात बढाएको छ । अभाव हुने हल्लाले उपभोक्ताले रित्ता सिलिन्डर भर्न थालेपछि निगमले आयात बढाएर आपूर्ति पनि बढाएको छ ।

निगमको आग्रहमा सरकारी तहबाट पनि ग्यासको कोटा बढाउन पहल भएको छ । नियमितभन्दा थप १५ हजार मेट्रिक टन ग्यास ल्याउन पहल भएको निगमका प्रबन्ध निर्देशक पौडेलले बताए । ‘कोटा बढाउन आग्रह गरेपछि सरकारी तहबाट भारत सरकारसँग अनुरोध भएको छ,’ उनले भने । भारतमा पनि कोरोना संक्रमण फैलिएकाले त्यहाँ पनि माग बढेकाले यहाँ अभाव नहोस् भनेर सरकारी तहबाट पनि पहल भएको हो ।

निगमले सामान्य अवस्थामा मासिक ३५–४० हजार टन ग्यास आयात गर्दै आएको थियो । जनवरीमा ३९ हजार एक सय २७ र फेब्रुअरीमा ४१ हजार टन ग्यास आयात भएको थियो । निगमको तहबाट आइओसीमा अनुरोध गरेर आयात बढाइरहेको निगमले सरकारी तहबाट थप पहल गरेर मासिक ५० हजार टन पुर्‍याउन लागेको हो । अहिले आइओसीका विभिन्न रिफाइनरीबाट करिब सात सय बुलेटले ग्यास ढुवानी गर्दै आएका छन् । मुलुकभर ५९ उद्योगले ग्यास सिलिन्डर भरेर बजारमा पठाउँछन् ।

ग्यासका २२ रिटेल आउटलेट सुरु
बजारमा ग्यासको माग बढेर उपभोक्ता लाम बसेपछि ग्यास उद्योगले आइतबारबाट उपत्यकाका २२ स्थानमा रिटेल आउटलेट सुरु गरेका छन् । नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघको समन्वयमा २१ वटा उद्योगले रिटेल आउटलेट खोलेका हुन् । उपभोक्तालाई सहज रुपमा ग्यास उपलब्ध गराउन रिटेल काउन्टर खोलेको निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । ‘पम्पमा सवारीको लाइन घटे पनि ग्यासको लाइन घटेन,’ पौडेलले भने, ‘उपभोक्ताले पायक पर्ने स्थानबाट खरिद गर्न सक्छन् ।’

नयाँ आउटलेट सुरु गरेपछि उपभोक्तालाई थप सहज भएको एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले बताए । ‘ग्यासको माग बढेपछि अहिलेका बिक्रेताका अतिरिक्त नयाँ रिटेल काउन्टर सुरु गरेका हौं,’ भण्डारीले भने, ‘नयाँ आउटलेटमा उपभोक्ताको भीड छैन ।’ उपभोक्ताले प्रतिसिलिन्डिर १३ सय ७५ रुपैयाँमा ग्यास पाएका छन् । आइतबार अनुगमन गर्दा बजार सामान्य अवस्थामा भेटिएको अध्यक्ष भण्डारीले बताए । निगम र संघको टोलीले अनुमगन गरेको थियो । ती आउटलेटमा विहान १० बजेदेखि पाँच बजेसम्म ग्यास बिक्री हुन्छ । उपभोक्ताले आफ्नो पायक पर्ने स्थानमा गएर ग्यास खरिद गर्न सक्छन् ।

नेपाल ग्यासले बालाजु, अनामनगर, सातदोबाटो, सागर ग्यासले जडीबुटी, एसटिसीले साल्ट ट्रेडिङ, कालीमाटी, ओम ग्यासले थलीमा आउटलेट सुरु गरेका हुन् । त्यसैगरी, गीता ग्यासले धुम्बाराही, हिमालले भगवतीबहाल, नमस्तेले कागेश्वरी मनहरा, भानुले गोंगबु, एभरेस्टले सिफल, श्रीरामले ललितपुर, बाबा तथा श्री र लुम्बनीले कपन धुम्बाराही, सिद्धार्थले इमाडोल, श्रीमायाले सतुंगल, लोकप्रियले नैकाप, राजधानी ग्यासले सीतापाइला, सूर्य ग्यासले जगाती, लोकप्रियले नैकापमा नयाँ आउटलेट खोलेका हुन् ।
 

प्रकाशित: ११ चैत्र २०७६ ०३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App