७ वैशाख २०८१ शुक्रबार
अर्थ

नाका बन्द भएकै दिन ५२ बुलेट ग्यास आयात

काठमाडौं- सरकारले कोरोना नियन्त्रणको लागि भारतसँग नाका बन्द गरेको भए पनि सोमबार एकै दिन ५२ वटा खाना पकाउने ग्यासका बुलेट आयात भएका छन् । नेपाल आयल निगमका अनुसार बजारमा ग्यासको अभाव हुन नदिन आयात बढाएर बुलेट आयात गरिएको हो। ५२ बुलेट वीरगन्ज भन्सारबाट पास भएको नेपाल आयल निगमले जनाएको छ । २१ वटा ग्यास उद्योगमा नाममा जारी भएको पिडिओ अनुसार ग्यास बुलेटबाट ग्यास ढुवानी गरिएको हो

निगमका अनुसार नेपाल ग्यासका दुई, श्री ग्यासको एक, साईबाबा ६, जानकी ग्यास ६ बुलेट, श्रीराम ग्यास एक, गीता ग्यास तीन, काब्सन ग्यास दुई, गौरीशंंकर ग्यास तीन बुलेट ग्यास ल्याएका छन् । त्यस्तैगरी श्रीकृष्ण ग्यासका दुई, एभरेष्ट ग्यासका दुई, सुगम ग्यासका दुई, ओम ग्यासका तीन र सगरमाथा ग्यास एक बुलेट रहेका छन् । त्यसैगरी भानु ग्यास एक, गृहलक्ष्मी ग्यास चार, नोबेल ग्यास चार, बाबा ग्यास दुई , साहारा ग्यास चार, एनपी ग्यास एक, शक्ति ग्यास एक र मनोज ग्यास एक बुलेट रहेको निगमले जनाएको छ । सरकारले सोमबारबाट मानिसको आवतजावत गर्न रोक लगाएको भए पनि नियमित रुपमा इन्धन आयात भैरहेको छ ।

नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलका अनुसार इन्धनको ढुवानी सुचारु छ । पेट्रोल, डिजेल, खान पकाउने एलपिजी ग्यास, हवाई इन्धन नियमित रुपमा ढुवानी भएको पौडेलले बताए । ‘मानिसको आवतजावतमा बन्द गरे पनि इन्धन ढुवानी रोकिएको छैन, उनले भने, ‘अन्य अवस्थामा जस्तै ढुवानी हुन्छं ।’

इन्डियन आयल कर्पोरेस(आइओसी)ले पनि लोड दिने भएकाले ढुवानीमा कुनै समस्या नहुने निगमले प्रष्ट पारेको छ । आइओसी र भन्सारसँग समन्वय गरेर इन्धन ढुवानी नियमित गर्ने व्यवस्था मिलाएकोे छ ।

निगमले आइओसीबाट बाराको अमलेखगन्जसम्म पाइपलाइनबाट डिजेल ढुवानी गरिरहेकाले पनि थप समस्या हुने छैन । पाइपबाट प्रतिघण्टा एक लाख ८० हजार लिटर डिजेल आइरहेको अमलेखगन्ज डिपो प्रमुख भरत रेग्मीले बताए । ‘पाइपबाट चौविसै घण्टा डिजेल आयात भैरहेको छ,’ प्रमुख रेग्मीले भने, ‘आवश्यक पर्ने डिजेल काठमाडौं पठाएका छौं ।’ निगमले इन्धनको माग बढेर अभाव हुन सक्ने भन्दै आयात बढाएर भण्डारण क्षमता बढाएर ९० प्रतिशत मौज्दात राखेको छ । बजारमा ग्यास र पेट्रोलको अभाव देखिएर लाइन बढेपछि निगमले इन्धन आयात बढाएको छ ।

प्रकाशित: १० चैत्र २०७६ १५:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App