coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

रामेछापमा कोरोना संक्रमण रोक्न उच्च सतर्कता

ड्युटीमा खटिनु अघि प्रकोपका बारेमा चिकित्सकबाट प्रशिक्षण लिदै जिल्ला प्रहरी कार्यालय रामेछपाका प्रहरी अधिकृत तथा जवानहरु।

रामेछाप – विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को प्रकोप जिल्लामा भित्रिन नदिनका लागि जिल्लामा उच्च सर्तकता अपनाइएको छ। स्थानीय प्रशासनले जिल्लामा कोरोना संक्रमण हुन नदिनका लागि जिल्ला तहमा  सतर्कता बढाउनुका साथै जोखिम नियन्त्रणको लागि पूर्वतयारी गरिएको जनाएको छ। जिल्लामा संक्रमण हुन नदिन विभिन्न छलफल तथा  चेतना मुलक कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। उनले स्थानीय प्रशासनले सबै क्षेत्र र बर्गसँगको परामर्शमा र क्षेत्राधिकार भित्रका कुनै पनि काम बाँकी नराख्ने बताइन्। 

‘यतिबेला सबै कुरालाई ध्यानमा राखेर काम गर्नु पर्ने अवस्था छ, नागरिकको स्वास्थ्यका लागि सबै क्षेत्र सजग र चनाखो हुनु पर्ने बेला आएकोले जिल्लाको अवस्था परिवेश अनुसार जतिबेला जे पनि हुन सक्छ नागरिक आफै सबै सजग हुनु पर्ने अवस्था आएको छ’, उनले भनिन्।  हामी जिल्लाको अवस्था र जिल्लाको गतिविधि हेरेर प्रकोप फैलन नदिनका लागि जतिबेला पनि चनाखो रहेर काम शर्माले बताइन्। कोरोना प्रकोप फैलन नदिन सोमबार देखि जिल्लामा ‘हेल्थ डेस्क’ समेत सञ्चालन गरिएको छ। 

मन्थली नगरपालिका –१ भैशेश्वरमा सोमबारबाट सडकमै ‘हेल्थ डेस्क’ सञ्चालन गरि स्वास्थ्य परिक्षणको व्यवस्था मिलाइएको छ।  आवश्यकता अनुसार अन्यत्र पनि विस्तार गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ। राजधानी लगायतका स्थानबाट सदरमुकाम मन्थली भित्रिने मुख्य नाकाका रुपमा भैशेश्वरमा ४ जना स्वास्थ्यकर्मीहरुले दैनिकमा यातायातका साधानमा यात्रा गर्नेहरुको कोरोना भाइरसको प्रारम्भिक चरणका परिक्षण गर्ने व्यवस्था मिलाइएको मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशबराज फूयालले बताए।

परिक्षणका क्रममा शंकास्पद लक्षण देखिएकाहरुलाई अस्पताल पठाउने व्यवस्था समेत मिलाइएको उनले बताए। ‘हेल्थ डेस्क’ मा सर्वसाधारणलाई लक्षित गरी हात धुने व्यवस्था सहित स्यानेटाइजर लगायतका सरसफाइको प्रवन्ध समेत मिलाइएको छ। कोरोना प्रकोप लक्षित गरी यस अघि नै जिल्ला अस्पताल सहित, तामकोशी सहकारी अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा समेत आइसोलेसन वार्ड बनाइ सकिएको छ। शंकास्पद मानिसहरु राख्ने गरी जिल्लाका दुइ स्थानमा क्वारेन्टाइन कक्ष बनाइएको र नेपाली सेनाले समेत क्वारेनटाइन कक्ष बनाउने तयारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन। 

प्रकोप रोकथामका लागि विभिन्न क्षेत्र र नाकाहरुमा चेकजाँच गर्न सुरक्षकर्मी समेत व्यापक परिचालन गरिएको छ। प्रकोप रोकथाममा प्रहरीको विशेष भुमिका रहने हुदा प्रकोप सम्बन्धि अभिमुखिकरण दिइ उनीहरुलाई आवश्यक सावधानी अपनाइ सेवामा खटिनका लागि समेत तयारी थालिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ। मान्छेको भिडभाड हुन नदिन र सार्वजनिक यातायातका साधन संचालनमा भने रोक लगाइ सकिएको प्रशासनले जनाएको छ। जिल्लाको नाका भने बन्दको घोषणा नगरिएको र आवश्यक देखिए प्रशासनले नाका समेत बन्द गराउन सक्ने प्रशासनले जनाएको छ। पसल व्यावसायका हकमा पनि ठोस निर्णय भने भइ नसकेको बताइएको छ। 
  

प्रकाशित: १० चैत्र २०७६ १३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App