coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आजदेखि विदेशी पर्यटक प्रवेशमा रोक

रसुवा -  विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिनका लागि विदेशी पर्यटकको प्रवेशमा रोक लगाइएको छ। कोरोना भाइरस फैलिएपछि जिल्लामा पर्यटकको आगमन घटेको थियो।

जिल्ला विपद् व्यवस्थापन समिति रसुवाको आइतबार बसेको बैठकले आजदेखि विदेशी पर्यटक जिल्ला प्रवेशमा रोक लगाएको हो। पदयात्रा तथा भ्रमणमा आउने विदेशी पर्यटकहरूलाई अर्को व्यवस्था नभएसम्मका लागि रसुवा प्रवेशमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।

अत्यावश्यक काममा बाहेक पदयात्रा तथा भ्रमणका लागि रसुवा आगमन गर्ने आन्तरिक पर्यटकहरुको आवागमनलाई कडाइ गर्ने र आवागमन गर्नेहरूलाई सेल्फ क्वारेन्टाइन डिक्लेररेसन फर्म भरी अनिवार्य १४ दिन स्व–क्वारेन्टाइनमा रहने व्यवस्था गरेको छ।

शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि आजदेखि रसुवामा आइसोलेसन कक्ष र क्वारेन्टाइन निर्माण कार्य सुरु भएको छ। जिल्लाको ८ स्थानमा मानव आश्रयस्थल अर्थात क्वारेन्टाइन र दुईवटा अस्पतालमा आइसोलेसन स्थापना गर्ने कार्य सुरु भएको उनले बताए। जिल्ला अस्पताल रसुवामा ४ बेड र ग्रामीण अस्पताल जीवजीवेमा ५ बेडको आइसोलेसन कक्ष सञ्चालनमा छ।

अहिले आइसोलेसन सञ्चालनमा रहेको जिल्ला अस्पताल र जीवजीवे ग्रामीण अस्पतालमा शैया थप गर्ने निर्णय पनि गरेको छ। रसुवागढी क्षेत्रमा ३०, धुन्चे बजारमा ५०, कालिकास्थानमा ५०, बेत्रावतीमा २०, स्याफ्रुमा १५, थाम्बुचेतमा १५, डाँडागाउँमा १५ र पारच्याङमा १५ शैयाको क्वारेन्टाइन स्थापना गरिने प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए। त्यसैगरी जिल्ला अस्पतालमा २० शैया र ग्रामीण अस्पतालमा १५ शैयाको आइसोलेसन कक्ष सञ्चालन गरिने छ। आइसोलेसन सञ्चालनका लागि धुन्चेको साविकको महिला विकास कार्यालयको भवन प्रयोगमा ल्याइने छ। गोसाइँकुण्ड गाउँपालिकाले स्याफ्रुमा ५ शैयाको क्वारेन्टाइन सञ्चालनको तयारी थालेको छ।

जिल्लाको पाँचवटै गाउँपालिकामा हेल्थ डेक्स सञ्चालन आवश्यक भएकाले स्थापना नभएका ठाउँमा स्थापना गरिने छ। जिल्लाको नौकुण्ड गाउँपालिकाले गाउँपालिकाको दुई स्थानमा डेक्स सञ्चालन गर्ने तयारी गरेको छ। हालसम्म बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रु र रसुवागढीमा डेक्स सञ्चालनमा आएको छ।

यस्तै समितिले कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि हालसम्म गरेका क्रियाकलापको बारेमा जानकारी गराएको छ। समितिका अनुसार हालसम्म हेल्थ डेक्स सञ्चालन, पाँचवटै गाउँपालिकामा दैनिक उपभोग्य सामग्रीको अवस्था बारे जानकारी संकलन, चिनियाँ समकक्षीसँग अनैपचारिक छलफल तथा अनुरोधमा रसुवागढी नाकाबाट आवागमनमा नियन्त्रण गरिएको छ।

गएको माघ १५ गतेदेखि चिनियाँ पक्षको अनुरोधमा सीमा नाकामा आवागमन बन्द गरिएको छ। फागुन ३ गतेदेखि नेपाली पक्षको अनुरोधमा नेपाली नागरिकलाई केरुङबाट आउन दिएतापनि विदेशी नागरिकलाई नेपाल आगमनमा बन्द गरिएको प्रजिअ भण्डारीले बताए।

फागुन २६ गतेदेखि कोरोना प्रभावित देशहरू चीन, इरान, इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई आउन तथा जान पूर्ण रूपमा रोक लगाइएको छ। चैत ६ गतेदेखि नेपाली तथा विदेशीलाई आगमनमा रोक लगाइएको समितिले जानकारी दिएको छ।

प्रकाशित: १० चैत्र २०७६ १२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App