७ वैशाख २०८१ शुक्रबार
अन्य

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एक महिनाभित्रै निर्माण सुरु हुन्छः मन्त्री पाेखरेल

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलकाे स्केच

जनकपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले विश्वकै फराकिलो निजगढ विमानस्थलको निर्माण कार्य साउन महिनाभित्रै सुरु हुने दाबी गरेका छन्। सोमबार जनकपुर विमानस्थल निरीक्षण गर्दै मन्त्री पोखरेलले साढे ८ वर्गकिलोमिटर क्षेत्रफलमा निर्माण हुने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास एक महिनाभित्र गर्ने बताए।

‘सिंगो तराईको विकासमा लाइफलाइनको रुपमा निर्माण हुन लागेको निजगढ विमानस्थल राज्यको प्राथमिकतामा छ,’ मन्त्री पोखरेलले सञ्चारकर्मीसँग भने, ‘तराई तथा पूर्वी नेपाललाई राजधानीसँग कम दूरीमा जोड्ने जङ्कशनको रुपमा पनि निजगढको विकास हुनेछ।’

२०१९ सालमा निर्माण भएको जनकपुर विमानस्थल पर्याप्त यात्रुसंख्या भएर पनि थप विकास हुन नसकेकोमा स्थानीयले व्यक्त गरेको गुनासोलाई सम्बोधन गर्दै उनले केही महिनाभित्रै देखिनेगरी यसमा सुधार हुने प्रतिबद्धता जनाए। हाल दिउँसो मात्रै उडान सम्भव रहेको यो विमानस्थलमा रात्रि उडानको लागि आवश्यक प्रविधि जडान गर्नुको साथै ७२ सिट क्षमता भएको जहाज अवतरण गराउन पनि आवश्यक भौतिक परिमार्जन गर्ने उनले आश्वासन दिए।

जनकपुर विमानस्थलमा निर्माणाधिन आधुनिक टर्मिनल भवन। तस्बिरः सुरेश यादव

विमानस्थलमै पुगेका स्थानीय सरोकारवाला निकायका प्रतिनिधि तथा नागरिक समाजका अगुवाहरुले तराईको राजनीतिक केन्द्र भएर पनि जनकपुरको विकास हुन नसकेकोमा चित्त दुखाउँदै आवश्यक सहयोगको अपेक्षा गरेका थिए। त्यहाँ बुद्ध एयरलायन्सका जनकपुर प्रबन्धक विजय सिंहले एक महिनापूर्व आफूहरुले ७२ सिट क्षमताका जहाजलाई परीक्षण अवतरण गराउँदा पाइएको प्राविधिक कमजोरी बारे मन्त्रीलाई जानकारी गराएका थिए।

ठूलो जहाज अवतरण गर्दा बढ्ने यात्रुका लागि प्रतिक्षालयको अभाव, सुरक्षा चेकजाँचको फितलो व्यवस्थादेखि खानेपानी, शौचालयलगायत समस्याबारे सिंहले मन्त्रीलाई जानकारी गराएका थिए। उक्त समस्या सुनेपछि मन्त्री पोखरेलले आफू बढी नबोल्ने बताउँदै निर्माणाधिन अवस्थामा रहेको नयाँ टर्मिनल भवन र दुई हजार मिटर लामो रनवे निर्माणको लागि आवश्यक प्रक्रिया पूरा गर्ने प्रतिबद्धता दोहो¥याए।

उनले आफ्नै कार्यकालमा जनकपुरलाई धार्मिक पर्यटकीय नगरीको रुपमा दुई नम्बर प्रदेशको केन्द्र सहरको रुपमा विकास गर्ने वैधानिक काम गर्ने बताए। विश्वका हिन्दु धर्माबलम्बीहरुको आस्थालाई जनकपुरसँग जोड्नेगरी सरकारी स्तरबाट काम हुनुपर्ने उनको भनाई थियो।

जनकपुरको राजनीतिक पहुँच नपुगेर विकासमा पछाडि नपरेको औल्याउँदै उनले राष्ट्रपतिदेखि दर्जनौ मन्त्रीहरु यो ठाउँबाट प्रतिनिधित्व गरेपनि विकासको दृष्टिकोण अभावले माथि उठ्न नसकेको बताए। ‘तर, इमान्दारीपूर्वक काम गरियो भने अहिले पनि जनकपुरलाई मुलुकको उदाहरणीय सहर बनाउन सकिन्छ,’ मन्त्री पोखरेलले भने।

 

 

प्रकाशित: २० असार २०७३ १४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App