८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

गढीमाई नगरपालिकाले यात्रीलाई बाँड्यो मास्क

रौतहट – विश्वभर कोरोना भाइरस (कोभिड–१९) महामारीको रूपमा फैलिरहेको अवस्थामा जिल्लाबासीलाई सचेत गराउन गढीमाई नगरपालिकाले मास्क वितरण गर्दै हात धुन सिकाएको छ। नगरभित्रका विभिन्न चोक तथा गरूडा नगरपालिकाको मुख्य चोकमा गढीमाई नपाले हजारौँ मास्क वितरण गर्नुका साथै  स्यानेटाइजरले हात धुन पनि सिकाएको हो। 

आइतबार बिहान गरूडाको इलाका प्रहरी कार्यालय अगाडि गढीमाई नपाका नगर प्रमुख श्यामप्रसाद यादव, निमित्त प्रशासकीय प्रमुख नागेन्द्रप्रसाद यादव र अन्य कर्मचारीहरूले बस, ट्रक, ट्रयाक्टर, टेम्पो, मोटरसाइकल तथा साइकलमा यात्रा गरिरहेका सबैलाई रोकेर स्यानेटाइजरले हात धुन सिकाउँदै मास्क प्रदान गरेका हुन्। गरूडामा मात्र कम्तिमा दुई हजार मास्क पैदल यात्रीलाई प्रदान गरिएको निमित्त प्रशासकीय प्रमुख नागेन्द्रप्रसाद यादवले बताएका छन्।

स्यानेटाइजरले हात धुन सिकाउन र मास्क वितरणमा इलाका प्रहरी कार्यालय गरूडा र डिएसपि ज्ञानकुमार महतोले पनि सहायोग सहयोग गरेका छन्। प्रहरी कर्मचारीलाई पनि हात धुन सिकाउन तथा मास्क वितरणमा सहयोग गराएर डिएसपि महतोले विश्व विपत्तिमा गरूडा प्रहरीले पनि सर्वसाधारणलाई साथमा दिएको सन्देश दिएका छन्। इप्रका गरूडाले कोरोना भाइरसबाट जोगिन निरन्तर सकारात्मक सन्देश बजाएर जनचेतना फैलाउने काम पनि गरिरहेको छ।

यसै गरी गढीमाई नगरपालिकाले मलाही, समनपुर तथा धर्मपुरमा पनि यात्रीहरूलाई मास्क वितरण गरेको र स्यानेटाइजरले हात धुन सिकाएको यादवको भनाइ छ। गढीमाई नगरपालिका कार्यालय, सम्पूर्ण वडा कार्यालय तथा स्वास्थ्य चौकीहरूमा पनि सेवाग्राहीलाई मास्क प्रदान गर्ने र स्यानेटाइजर भएपछि मात्र कार्यालयमा प्रवेश गर्ने व्यवस्था मिलाएको नगर प्रमुख श्यामप्रसाद यादवले बताएका छन्।

प्रकाशित: ९ चैत्र २०७६ १०:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App