coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोरोनाविरुद्धको पूर्वतयारीमा स्थानीय तह

हलेसी तुवाचुङको नगरपालिकाले जयराममा स्थापना गरेको हेल्थ डेस्कमा स्वास्थ्य परीक्षणका लागि उभिएका यात्रु।

खोटाङ – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि खोटाङका स्थानीय तहले आ–आफ्नो तयारी थालेको छ। विश्वभर फैलिरहेको कोरोनाको संक्रमण जिल्लामा पनि फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै स्थानीय तहले पूर्व तयारी र पूर्व सचेतताका उपाय अपनाउन थालेको हो। हाल अधिकांश स्थानीय तहले कोरोनाबाट बच्ने सुरक्षा उपायका बारेमा छलफल, अभिमुखीकरण, जनचेतनामुलक सन्देश प्रचार–प्रसारदेखि कोरोना भित्रिन नदिन आ–आफ्नो नाका–नाकामा हेल्थडेस्क स्थापना गरिरहेका छन्। तर, स्थानीय सरकारका लागि कोरोनासँग जुध्न हेल्थडेस्क स्थापना मात्र पर्याप्त भने हुने छैनन्।

रोकथाममा मात्र केन्द्रित गरिएको हालको तयारीले कोरोना लागे/नलागेको पुष्टि गर्ने, संक्रमण भइहालेमा गरिने उपचार पद्धति लगायतका पूर्वतयारी भने फितलो देखिएको छ। हलेसी तुवाचुङ नगरपालिकाले शुक्रबार त्रि–धार्मिकस्थल हलेसीमा ‘हेल्थ डेस्क’ स्थापना गरेको छ। हलेसी आउने देश विदेशका दर्शनार्थीको स्वास्थ्य जाँचका लागि हलेसी मन्दीरकै नजिक ‘हेल्थ डेस्क’ स्थापना गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। नगरपालिकाले काठमाडौं तथा पश्चिमी जिल्लाको प्रवेशद्धारका रुपमा रहेको जयराम र पूर्वी क्षेत्रको नाका राजापानीको रेग्मीटारमा शनिबार हेल्थडेस्क स्थापना गरेको छ।

जयराममा दुधकोसीको पुलमा राखिएको हेल्थडेस्कमा यात्रुलाई पंक्तीवद्ध उभाएर स्वास्थ्य जाँच गरिने छ। यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलको किरातचोक (रत्नपार्क) मा ‘हेल्थ डेस्क’ स्थापना गरेको जनाइएको छ। बसपार्ककारुपमा रहेको रत्नपार्कमा बिहान, दिउँसो र बेलुका ५/५ घण्टाको सिफ्ट बनाएर बिहान ६ बजेदेखि बेलुका ९ बजेसम्म दुई÷दुई जना स्वास्थ्यकर्मी बस्ने व्यवस्था मिलाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तिर्थ आचार्यले बताए।

नगरपालिकाभित्रका स्वास्थ्यकर्मीलाई ‘हाइअलर्ट’ रहन भनिएको छ। खोटेहाङ गाउँपालिकाले पनि शनिबार उदयपुरसँगको सिमानामा पर्ने रसुवाघाटमा हेल्थ डेस्क स्थापना गरेको छ। रसुवाघाटमा बिहानदेखि बेलुकासम्म दुई जना स्वास्थ्यकर्मी रहने हेल्थडेस्क गाउँपालिकाकी उपाध्यक्ष कबिता राईले उद्घाटन गरेकी हुन्। कोरोनाबाट बच्ने सचेतनाका लागि हरेक स्वास्थ्यचौकी, वडा कार्यालय र सार्वजनिकस्थलमा फ्लेक्सबोर्ड राख्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत हरि भट्टराईले बताए।

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले बतासेको रमाईलोमा कोरोना विरुद्ध हेल्थडेस्क स्थापना गरेको छ। केही दिनपछि बतासेको भँडारेघाटमा पनि डेस्क स्थापना गरिने गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए। आवश्यकताका आधारमा याम्खा र टेम्माको दिलैचीमा हेल्थ डेस्क स्थापना गरिने गाउँपालिकाले जनाएको छ। साकेला गाउँपालिकाले प्रत्येक वडामा कोरोनाबाट बच्ने उपायका बारेमा अभिमुखीकरण कार्यक्रम गरिएको छ। स्वास्थ्य शाखाका सह–संयोजक शेखरकुमार राजबंशी नेतृत्वको टोलीले वडा–वडा पुगेर सचेतनामुलक अभिमुखीकरण चलाएको हो। शुक्रबार सबै कर्मचारीलाई सहभागी गराएर छुट्टै अभिमुखीकरण कार्यक्रम गरिएको साकेला गाउँपालिकाका सूचना अधिकारी निसन राईले बताए। बराहपोखरी गाउँपालिकाको बंशिलाघाट र धाप्लाङघाटमा पनि हेल्थडेस्क स्थापना गर्ने निर्णय भइसकेको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए।

यस्तै, केपीलासगढी गाउँपालिकामा विभिन्न सार्वजनिक स्थलमा कोरोनाबाट बच्ने सचेतनामुलक सन्देश उल्लेख गरिएको फ्लेक्स राख्ने तयारी गरेको छ। यस बाहेक विभिन्न कार्यक्रम तथा भेटघाटकाक्रममा कोरोनाबाट बच्ने उपायका बारेमा सर्वसाधारणलाई सचेत गराउने गरिएको गाउँपालिका अध्यक्ष कृष्ण राईले बताए। रावाबेँसी गाउँपालिकाको कुभिन्डेस्थित तीनकुनेमा पनि हेल्थडेस्क स्थापना गरिएको छ। आवश्यक सामग्री र औषधि आएपछि आईतबार डेस्क राखिएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए।

यस्तै, ऐसेलुखर्क गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा हेल्थ डेस्क स्थापनाको तयारी गरेको छ। प्राथमिक स्वास्थ्य केन्द्रमै आइसोलेसन वार्ड समेत स्थापना गरिएको गाउँपालिकाकी उपाध्यक्ष पुष्पकला भुजेलले बताईन्। कोरोनाबाट बच्ने सचेतनामुलक क्रियाकलाप सञ्चालनका लागि प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ। यसबीचमा स्वास्थ्यकर्मीले बिदा नपाउने जनाइएको छ। प्राथमिक स्वास्थ्य केन्द्रमा शंकास्पद व्यक्तीको नमूना संकलन गरेर परिक्षणका लागि कठमाडौं पठाउने व्यवस्था गरिएको उपाध्यक्ष भुजेलले बताईन् ।

कोरोना भित्रिन नदिन जन्तेढुंगा गाउँपालिकाले प्रमुख नाकाका रुपमा रहेको बराहपोखरी गाउँपालिका–५ पौवासेरामा पर्ने बंशिलाघाटमा चैत २ गतेदेखि नै हेल्थडेस्क सञ्चालनमा ल्याइसकेको छ। जन्तेढुंगा गाउँपालिका–१ देस्थिान स्वास्थ्यचौकीका अहेव र अनमीलाई पठाएर उदयपुरसँग जोडिएको नाकामा हेल्प डेस्क सुरु गरिएकाको हो। जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयको भञ्ज्याङखर्कमा पनि हेल्थडेस्क स्थापना गरिने स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए।

तीन विमानस्थलमा पनि हेल्थ डेस्क

खोटाङका तीन विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको छ। कोरोना भित्रिने खतरालाई ध्यानमा राखेर मनमायाँ राई खानीडाँडा विनमास्थल, थामखर्क विमानस्थल र लामीडाँडा विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिसकिएको छ। खानीडाँडा विमानस्थलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले र थामखर्क विमानस्थलमा खोटेहाङ गाउँपालिकाले शनिबार हेल्थडेस्क स्थापना गरेको हो। जहाजमार्फत भित्रिने यात्रुको स्वास्थ्य जाँच, परामर्श एबं पुर्वसचेतताका लागि विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको जनाइएको छ। विमानस्थलमा उडान हुने दिन मात्र स्वास्थ्यकर्मी परिचालन गरेर हेल्थडेस्क सञ्चालन गरिने छ।

यस्तै, लामीडाँडा विमानस्थलमा पनि आईतबार बिहान हेल्थडेस्क स्थापना गरिएको रावाबेँसी गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए।

 

 

प्रकाशित: ९ चैत्र २०७६ ०९:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App