८ वैशाख २०८१ शनिबार
विचार

कोरोना जोखिममा सावधानी

कोरोना भाइरसको प्रभाव अब कुनै देश र भूगोलको मात्र चासो रहेन। न यो कुनै निश्चित क्षेत्रमा बाँधिएर बस्न सक्यो न त कुनै ठाउँमा नपुग्ने निश्चित गर्नै सकिन्छ। त्यसैले यतिबेला यो भाइरस सिर्जित आतंकलाई दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो त्रासका रूपमा वर्णन गरिँदैछ। यो विषय नेपालका लागि पनि उत्तिकै डरलाग्दो बनेको छ। त्यसो त चीनबाट सुरु भएको कोरोना भाइरसबाट नेपाल पहिलेदेखि नै सतर्क छ। छिमेकी राष्ट्र भएका कारण त्यसको प्रभाव यहाँ पनि फैलन सक्ने उत्तिकै सम्भावना थियो। तर नेपालसँग त्यति बाक्लो आवत्जावत् नभएको र भूगोलका हिसावले पनि निकै टाढा भएका कारण नेपाल चीनमा फैलिएको उक्त असरबाट एक हदसम्म सुरक्षित बन्न सक्यो। पछिल्लो समय यो भाइरस युरोप हुँदै सबैतिर फैलिरहेको छ। र, विज्ञहरुले दक्षिण एसियामा यसको जोखिम बढ्ने खतरा औंल्याइसकेका छन्। त्यसमाथि भारतमा दिनदिनै यसका संक्रमित बढिरहेका छन् जुन नेपालका लागि सबैभन्दा बढी चिन्ताको विषय हो। खुला सिमाना, दैनिक लाखौँ मानिस ओहोरदोहोर हुने तथा सामान पनि उत्तिकै आउने÷जाने भएकाले नेपालका लागि भारतमा भाइरसका संक्रमित बढ्नु चिन्ताको विषय बन्न पुगेको हो। यस्तो अवस्थामा सरकाले आइतबारदेखि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको छ। यसअघि नै शिक्षालयहरू बन्दका घोषणा भइसकेका छन्। विद्यालय शिक्षाको अन्तिम परीक्षा मानिने एसइइ स्थगित भइसकेको छ भने उच्च शिक्षाका परीक्षाहरू पनि रोकिएका छन्। अदालतले समेत २ साता पेसी नतोकिने जानकारी गराएको छ। लामो दूरीका सवारी साधनसमेत केही दिनका लागि बन्द गरिने भएको छ।

कोरोना भाइरसलाई हाम्रो भूमि र ज्यानमा प्रवेश निषेध गर्नु नै सबैभन्दा उत्तम उपाय हो। जसका लागि सरकार तथा स्वास्थ्य विज्ञहरूले औल्याएका सामान्य नियम पालना गर्नैपर्छ। कम्तीमा पनि सरकारका निर्णय पालना गर्ने र विज्ञका सुझाव पछ्याउनु नै अहिलेका लागि सबैभन्दा उत्तम उपाय हो।     

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको बताएका हुन्। चैत ९ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडानसमेत स्थगित गरिएका छन्। साथै सीमा नाकामा अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमन मिलाइने भएको छ। हामी नेपालीमा पूर्वतयारी भन्दा पनि आगो लागेपछि कुवा खन्ने प्रचलन देखिँदै आएको छ विगतमा। त्यसैले सरकारले यस किसिमको व्यवस्था केही समयपहिले नै गर्नुपर्ने आवाज उठ्दै आएको थियो। तर, केही ढिलै भए पनि सरकारले सर्वसाधारणको हितका खातिर गम्भीर निर्णयहरू गरेको छ। जसलाई सबै क्षेत्रबाट कार्यन्वयन गरिनुपर्छ। किनकि यो प्रत्येक जीवनको मूल्यसँग जोडिएको विषय हो। थोरै पनि खेलाँची गर्दा नरसंहार हुन सक्ने जोखिम रहन्छ। त्यसैले यो कदम आवश्यक पनि थियो। सरकारले त घोषणा ग¥यो। त्यसलाई पालना गर्नु हामी सम्पूर्ण नागरिकको दायित्व हो। सरकारी घोषणा अवज्ञा गर्ने वा यसको विरोध गर्दै सुझावलाई चुनौती दिने कार्य हामी आफैँलाई घातक हुन सक्छ। त्यसैले यो कुनै राजनीतिक वा अन्य विषयको घोषणा, आग्रह नभएकाले सबैले पालना गर्नु अत्यावश्यक हुन्छ। अझ सकिन्छ भने सरकारी आग्रहभन्दा पनि अघि बढेर सतर्कता अपनाउनु सबैभन्दा बुद्धिमानी हुनेछ। जस्तो– सरकारले भनेभन्दा बढी साबुनपानीले हात धुने, भिडभाडमा जाँदै नजाने, अत्यावश्यक कामबाहेक घरमै बस्ने, परिवारमात्र हैन, आफन्तलाई समेत यसो गर्न प्रेरित गर्ने जस्ता काम गर्न सकिन्छ। जसले आफ्नोमात्र हैन, अरुको समेत जीवन लम्ब्याउन सघाउँछ।

सम्पन्न र विकसित देशलाई समेत यो भाइरसको संक्रमण रोक्न गाहे परिरहेको छ। अरबौँ रुपियाँ र उच्च जनशक्तिसमेत निष्प्रभावी बन्दै गएका छन्। त्यसैले यसको नियन्त्रण पैसा र दक्ष भनिने जनशक्तिको पहुँचमा पनि नरहेको आजको विश्वले प्रमाणित गरेको छ। प्रत्येक दिन संक्रमित र मृतक संख्या बढ्दै जानु यसको ज्वलन्त उदाहरण हो। तथापि यस्तो समयमा नागरिक र सरकार सबैले मिलेर अगाडि बढ्नु उचित हुन्छ। सामान्यकालमा सर्वसाधारणले आफैं आफ्नो जीविका गर्छन्। संकटको समयमा भने सरकारले नै सहयोग पु¥याउनु पर्छ। कतिपय अवस्थामा राज्य आफैंले बजेट खर्च गर्न तयार पनि हुनुपर्छ। यस्तो अवस्थामा कोरोना भाइरसलाई हाम्रो भूमि र ज्यानमा प्रवेश निषेध गर्नु नै सबैभन्दा उत्तम उपाय हो। जसका लागि सरकार तथा स्वास्थ्य विज्ञहरूले औल्याएका सामान्य नियम पालना गर्नैपर्छ। कम्तीमा पनि सरकारका निर्णय पालना गर्ने र विज्ञका सुझाव पछ्याउनु नै अहिलेका लागि सबैभन्दा उत्तम उपाय हो।
 

प्रकाशित: ९ चैत्र २०७६ ०५:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App