८ वैशाख २०८१ शनिबार
प्रवास

लण्डनमा ‘सरसर्ती संसार’ को लोकार्पण

लन्डन- गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीबा लामिछानेद्वारा लिखित पुस्तक सरसर्ती संसारको आइतबार लण्डनमा एउटा लोकार्पण गरिएको छ। पश्चिम लण्डनको भेन्यु फाइभ रेष्टुरेण्टमा आयोजित समारोहमा बोल्दै बेलायतकालागि नेपाली राजदूत तथा कवि डा दुर्गाबहादुर (दुबसु) क्षेत्रीले लामिछाने एक बहुआयामिक प्रतिभाको धनी भएको  बताए ।

एकजना सफल व्यवसायी, समाजसेवी, नेपाली भाषा तथा साहित्यसेवी र गैरआवासीय नेपाली अभियानका अभियन्ताबाहेक लामिछानेले लेखकको पनि पहिचान बनाएको उनले बताए । प्रा. बालकृष्ण पोखरेलको शब्दमा निजात्मक यात्रा ‘नियात्रा’ लेखकहरुको पंक्तिमा उभिन आइपुग्नुभएका लामिछानेका लेखहरुमा राष्ट्रिय चेतना र देशभक्तिको भावना परिपोषित रहेको उनको टिप्पणी थियो । आफुले राजदूतको रुपमा बेलायतमा कार्यभार संहालेको १०० दिन पुरा भएको स्मरण  गर्दै राजदूत क्षेत्रीले नेपाल ब्रिटेन संबन्धको २०० वर्ष पुरा भएको अवसरमा दुबै देशमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्न लागिएको पनि जानकारी दिए।

हाल लण्डन आइपुगेका मधेसी जनअधिकार फोरमका सांसद जीतेन्द्रनारायण देवले नेपालका राजनीतिकर्मीहरुले पनि यो पुस्तकबाट धेरै सिक्न सक्ने बताए। लेखकले आफ्नी धर्मपत्नी डा. विन्दिता लामिछानेको दबाबमूलक प्रेरणाले आफुलाई पुस्तक लेख्न प्रोत्साहित गरेको उल्लेख गरेको बताउँदै त्यस्तो दबाबमूलक प्रेरणाले आगामी दिनमा पनि अरु राम्रा कृतिहरु प्रकाशन हुनसकुन् भन्ने शुभकामना  दिए ।

राजदूत सुवेदी तथा सांसद देवले पुस्तकको संयुक्तरुपमा लोकार्पण  गरेका थिए ।  पुस्तकको समीक्षा गर्दै पत्रकार नारायण गाउँलेले हाम्रा धर्मग्रन्थहरुले जीवनलाई यात्रा र संसारलाई एउटा बिसौनीको संज्ञा दिएको चर्चा गर्दै यात्राले जीवनलाई स्वच्छ, सुन्दर र सार्थक बनाउने बताए। २२० पृष्ठमा अटाएका २९ वटा संस्मरणहरुमा लेखकको तथ्यगत सचेतता, मनोहर भाषा शैली, आख्यानतत्व र इतिहासचेत व्यक्त भएको गाउँलेले बताए ।

लामिछानेसंग लामो समयसम्म सहकार्य गरेका एनआरएनएका पूर्व प्रवक्ता डा. हेमराज शर्माले लामिछाने लिखित ‘सरसर्ती संसार’ पुस्तकका प्रत्येक अध्यायमा नेपालप्रतिको मोह र नेपाल विकसित हुन नसकेकोमा चिन्ता व्यक्त गरिएको बताए । उनले एनआरएन अभियान र व्यवसाय संबन्धी आफ्नो अनुभवबारे पनि छुट्टाछुट्टै पुस्तकहरु लेख्न लामिछानेलाई सुझाए ।

पत्रकार फडिन्द्र भट्टराईले संसारको जुनसुकै ठाउँ पुगे पनि लेखकले नेपाललाई संगसंगै लिएर गएको र विकसित नेपालको कल्पना गरेको बताए ।

एनआरएनका युरोप क्षेत्रीय संयोजक कुल आचार्यले लामिछानेको नेतृत्वमा एकहजार जना गैरआवासीय नेपालीहरुले एउटा इन्भेस्टमेन्ट कम्पनी खोलेर नेपालको जलविदुयुत क्षेत्रमा लगानी गरेको स्मरण गर्दै उनको कार्यकुशलताको प्रशंसा  गरे ।  बेलायतकालागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि पशुपति भण्डारीले लामिछानेलाई नेपालका पर्यटकीय स्थलहरुबारे पनि लेख्न  आग्रह गरे। त्यस्तै एबिआइ कलेजका सिइओ कृष्ण भट्ट तथा एनआरएन आइसिसि सदस्य संगीता मरहट्टा लगायतले शुभकामना  दिए ।

कार्यक्रममा बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपालीले सरसर्ती संसार पुस्तकको एउटा अध्याय वाचन गरेका थियो भने पत्रकार नरेन्द्र बस्नेतले लामिछानेको जीवनीबारे तयार पारिएको अडियो प्रोफाइल प्रस्तुत गरे।

 नेपालब्रिटेन डटकमका अध्यक्ष चिरन्जीवी ढकालको अध्यक्षतामा सम्पन्न सभामा सोही अनलाइनका निर्देशक विश्वप्रकाश पण्डितले उपस्थित सहभागीहरुको स्वागत  गरका थिए। नेपालब्रिटेन डटकमका अर्का निर्देशक कमल भण्डारीले अतिथिहरुलाई खादा लगाएर सम्मान  गरे।

कार्यक्रममा लेखक लामिछानेले पाठकहरुले किनेका पुस्तकप्रतिहरुमा हस्ताक्षर गर्नुका साथै आफ्नो पहिलो कृतिमा संसारभरबाटै निकै राम्रो प्रतिक्रिया आएको बताउँदै  अर्को कृति लेख्नका लागि हौसला मिलेको बताए । लण्डनमा पुस्तक बिक्रीबाट संकलित रकम बागलुङ जिल्लामा एम्बुलेन्स किन्न सहयोगस्वरुप प्रदान गरिने पनि घोषणा गरिएको थियो।

नेपालब्रिटेनडट कमले  आयोजना गरेको कार्यक्रममा ब्रिटेनस्थित एनआरएनका अगुवाहरु, भूतपूर्व गोर्खा परिवार, व्यवसायी, समाजसेवी तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति थियो।

प्रकाशित: २५ पुस २०७३ १०:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App