coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

१० हजार टन थप चामल किन्दै खाद्य

खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुर्खेत गोदाममा मौज्दात रहेको चामल। संस्थाले कोभिड–१९ को त्रासबीच खाद्यान्नमा कालोबजारी हुन नदिन सहुलियत मूल्य पसल चलाइरहेको छ। तस्बिर : प्रकाश अधिकारी/रासस

काठमाडाैँ - सरकारले बजारमा खाद्यान्नको मूल्य नियन्त्रणमा सहयोग पुग्ने गरी चामल खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ। सरकारको स्वामित्वमा रहेकोे खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आपतकालीन अवस्थामा भण्डारण गर्ने नीतिलाई सहयोग पुग्ने गरी १० हजार मेट्रिक टन चामल खरिद गर्न लागेको हो। खाद्यका नायब महाप्रबन्धक मोतिराज ज्ञवालीले चामल खरिद प्रक्रिया अगाडि बढाउन सुरु भएको जानकारी दिए।

‘राष्ट्रिय खाद्य सुरक्षा भण्डारमा २५ हजार र सार्क फुड बैंकमा आठ हजार टन राख्नुपर्ने हुन्छ,’ उनले भने, ‘यो नियमित कार्यक्रम हो। सामान्य अवस्थामा खरिद नगर्न पनि सकिन्थ्यो, अहिले सरकारको लक्ष्यलाई पक्कै पनि फाइदा पुग्ला।’ ज्ञवालीले खाद्यसँग अहिले २६ हजार मेट्रिक टन चामल रहेको र थप १० हजार टन खरिद गर्ने र यस वर्ष खरिद भएको दुई लाख ११ हजार मेट्रिक टन धानसमेत कुटाउन थालिएको बताए। ‘सुरक्षा भण्डारमा ३३ हजार मेट्रिक टन र बजारमा १९ हजार मेट्रिक टन पठाइने छ,’ उनले भने, ‘यसलाई बजारमा खाद्यान्न अभाव भएको भन्दा पनि मूल्य नियन्त्रणको अस्त्रको रूपमा मात्र प्रयोग गर्न खोजिएको हो।’ अभावकै अवस्था आए सुरक्षा भण्डार र अन्य योजना बनाएर खाद्यान्न जोहो गरिने उनको भनाइ छ।

खाद्यले तत्काल तीन हजार मेट्रिक टन गहुँ र दुई सय मेट्रिक टन दाल समेत खरिद गर्ने योजना बनाएको ज्ञवालीले बताए। खाद्यले उपभोक्ताको सहजताका लागि दुई ठाउँमा थप गरी पाँच ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको छ। ‘अहिले थापाथली, रामशाहपथ र नख्खुमा सुपथ मूल्य पसल सञ्चालनमा छ,’ खाद्यका अर्का नायब महाप्रबन्धक श्रीमणिराज खनालले भने, ‘सूर्यविनायकमा लगभग तयारी भएको छ, जावलाखेलमा पनि ठाउँ खोज्दैछौं।’ खनालले उपत्यकाभित्रका चारवटा भाटभटेनी सुपर मार्केटका आउटलेटबाट बिक्रीको लागि सम्झौता गरिएको बताए। ‘यसरी बिक्री गर्दा हाम्रो बिक्रीमा प्रभावकारिता पनि आउँछ र प्रचारप्रचार पनि हुन्छ,’ उनले भने, ‘त्यसबाहेक एउटा ट्रक र भ्यानमार्फत मोबाइल बिक्रीलाई सक्रिय बनाइनेछ।’

खाद्यले उपत्यकाबाहिरका शाखा कार्यालयमार्फत खाद्यान्न बिक्रीलाई तीव्रता दिने बताएको छ। ‘२६ जिल्लाका शाखाका कार्यालय, आठवटा साबिकका अञ्चल कार्यालयबाट खाद्यान्न बिक्री हुँदै आएको छ,’ उनले भने, ‘विभिन्न ३५ सहकारीलाई कमिसन बढाएर भए पनि बिक्री–वितरण व्यवस्थापनको जिम्मा दिँदैछौं।’ खाद्यान्न बिक्रीलाई सहज बनाउन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिडेटले पनि थप एक ठाउँमा आफ्नो आउटलेट सञ्चालनमा ल्याउने भएको छ। कालीमाटी, सतुंगल, कोटेश्वर, भक्तपुर र बनेपामा आउटलेट सञ्चालन गर्दै आएको साल्ट ट्रेडिङले जावलाखेलमा अर्को आउटलेट सञ्चालनमा ल्याउन लागेको प्रवक्ता कुमार राजभण्डारीले जानकारी दिए। ‘दसैं–तिहारको समयमा जसरी सामग्री बिक्री–वितरण गथ्र्यौं त्यही फम्र्याटमा सुपथ मूल्य पसल सञ्चालन हुनेछन्,’ राजभण्डारीले भने, ‘त्यसका अतिरिक्त यी स्थानबाट ग्यास बिक्रीलाई पनि प्राथमिकता दिइनेछ।’

उनले एसटिसीका ग्यास सात हजार सिलिन्डर मौज्दात रहेको र तीन हजार चार सय शुक्रबार डिलरलाई पठाइएको बताए। ‘चार हजार थप सिलिन्डर भर्ने तयारीमा छन्, पाँचवटा बुलेट ट्रान्जिटमा छन्,’ उनले भने, ‘थप ३२ बुलेटको खरिद प्रक्रिया गरी क्यूमा छन्।’ उनले ग्यासको सम्भावित अभावलाई ध्यानमा राखेर सरकारको योजनाअनुरूप व्यवस्था गर्न लागिएको बताए। प्रवक्ता राजभण्डारीले नुन पर्याप्त रहेको र नौ हजार मेट्रिक टन चिनी आफ्ना आउटलेट र सीमित डिलरमार्फत आवश्यक तथ्यांक राखेर बिक्री गरिने बताए। ‘चिनी भर्खर मात्र क्रसिङ सिद्धिएकोले व्यवसायीसँग पनि पर्याप्त छ, त्यसको अभाव नहोला,’ उनले भने, ‘अन्य खाद्यान्न पनि साबिकभन्दा बढी नै खरिद गर्ने योजना बनाएका छौं।’ उनले खाद्यान्नको लागि आफ्ना स्रोतमा बुझ्दा अभावको स्थिति नरहेको जानकारी प्राप्त भएको बताए।

प्रकाशित: ९ चैत्र २०७६ ०४:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App