८ वैशाख २०८१ शनिबार
राजनीति

कोरोना संक्रमणविरुद्ध सचेतना कार्यक्रममा सबै दल एकजुट

काठमाडौं - प्रमुख राजनीतिक दलले कोरोना भाइरस संक्रमणबाट जोगिन मातहतका निकायलाई सचेतना अभियान सञ्चालनमा सक्रिय बनाएका छन्। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा), प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपासहितका दलले विश्वभर माहमारीको रुपलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन पूर्व र्निधारित कार्यक्रम स्थगन गरेर सचेतना कार्यक्रमलाई अघि बढाएका हुन्।

सत्तारूढ नेकपाले संगठन विस्तार तथा परिचालन अभियानलाई र कांग्रेसले पार्टीको सदस्यता वितरणको कार्यक्रम स्थगित गरेर सचेतना अभियानमा परिणत गरेको छ। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी पंक्तिले जनताको घरदैलोमा पुगेर कोरोनाबारे जानकारी गराउने सचेत गराउने तथा यसबाट कसरी सुरक्षित हुन सकिन्छ भनेर कार्यक्रम सञ्चालन गरिरहेको बताए। ‘कसरी सामाजिक दूरी कायम गर्न सकिन्छ भनेर प्रचारप्रसार गर्ने, सरकारले कोरोनालाई दृष्टिगत गरीै अघि सारेका कार्यक्रम तथा योजना सफल बनाउन पार्टी पंक्तिलाई लाग्न निर्देशन दिएका छौं,’ श्रेष्ठले भने, ‘कोरोनाको आशंका देखिएमा सेल्फ क्वारेन्टाइनमा लैजानेदेखि उपचारका लागि सहयोग गर्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ।’ केही दिनअघि बसेको सचिवालय बैठकले पार्टीसँग सम्बन्धित युवा, विद्यार्थी तथा स्वास्थ्यकर्मीलाई स्वयंसेवीका रूपमा सरकारका काममा सघाउन निर्देशन दिएको पनि उनले जानकारी दिए।

त्यस्तै, कांग्रेसले कोरोनाको जोखिमलाई न्यूनीकरण गर्न भन्दै पार्टीको क्रियाशील सदस्यता वितरण चैत्र मसान्तसम्मका लागि स्थगित गरेको छ। कांग्रेसले शनिबार विज्ञप्ति प्रकाशीत गर्दै सदस्यता वितरण कार्यक्रम स्थगन गरेर सचेतना अभियानमा जुट्न पनि आग्रह गरेको छ। ‘सहरदेखि गाउँसम्म, गाउँको टोल हुँदै घरघरसम्म कोरोना सचेतना अभियानमा पार्टीपंक्तिको क्रियाशिलता भने सतर्कतापूर्वक विविध ढंगले जारी रहनेछ,’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘ जिल्ला, क्षेत्र, गाउँ(नगर हुँदै टोल तहसम्म जोखिम सामना गर्ने राष्ट्रिय दायित्व निर्वाहमा नेपाली कांग्रेसको सम्बन्धित तहका साथीले विभिन्न दल, समुदाय र स्वास्थकर्मीसँग आवश्यक समन्वय, सहयोग र स्वयंसेवीको भूमिका निभाउनु हुनेछ।’

सचेतना अभियानमा सञ्चारका विविध माध्यमको प्रयोगमा तीव्रता दिइने जनाउँदै कांग्रेसले स्थलगत सांगठनिक गतिविधि रोकिए पनि कोरोना सचेतना अभियानको आवश्यकताअनुसार केन्द्रीय कार्यालय खुला रहने जनाएको छ। यसअघि पार्टी सभापति शेरबहादुर देउवाले मातहतका निकायलाई नौ बुँदे परिपत्र गर्दै कोरोना संक्रमणविरुद्ध सचेतना अभियानमा लाग्न आग्रह गरेका छन्।

पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलसहितले सचेतना अभियान थालेका छन्। संक्रमणको फाइदा उठाउँदै विभिन्न ठाउँमा भएको कालोबजारीको निगरानी राख्दै आएको संघले इन्टरनेट, टेलीफोन र केबल लाइन केही समयका लागि निःशुल्क गर्न माग गरेको छ। ‘लकडाउन जनतालाई सुरक्षा दिन हो लुट्न होइन भन्दै नेवि संघका महामन्त्री बलदेव तिमल्सिनाले बसपार्क र टिकट काउन्टरको भीड र कोलाहल नियन्त्रण गर्न आग्रह गरेका छन्। संघले आफू मातहतका निकायलाई सचेतनामुलक कार्यक्रम सञ्चालनका लागि दिएको निर्देशनअनुसार नेवि संघले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको दाबी गरे।

त्यस्तै, राष्ट्रिय जनता पार्टी नेपालले पनि कोरना भाइरसको सम्भावित जोखिमबाट सचेत भई चिकित्सकीय सल्लाहअनुसार जीवनयापन गर्न आफ्ना कार्यकर्ता तथा आम नेपाली समुदायलाई आह्वान गरेका छन्। राजपा अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले विज्ञप्ति जारी गर्दै ढिलै भए पनि पनि कोभिड– १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका निर्णय सकारात्मक भएको जनाएका छन्। भाइरसको संक्रमणविरुद्ध सततकर्तापूर्वक जोगिन तथा सुरक्षित तरिकाले सचेतना फैलाउन उनले कार्यकर्ता, शुभेच्छुक तथा आमजनतालाई आग्रह गरेका छन्। भण्डारीले कोरना भाइसको संक्रमण हटाउन एकजुट हुन पनि आग्रह गरेका छन्। राजपाले कोरना भाइरसको सम्भावित संक्रमणको कारण देखाएर महाधिवेशनको तयारीसमेत स्थगन गरेको छ। यसबाट राजपाको महाधिवेशनसमेत प्रभावित हुने भएको छ। राजपाले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेमाथि कडा भन्दा कडा कारबाही गर्न पनि सरकारसँग माग गरेको छ। साथै दैनिक उपभोग्य तथा खाद्यान्न सहज आपूर्ति मिलाउन पार्टीले सरकारसँग आग्रह गरेको छ।

समाजवादी पार्टीले पनि कोरना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणकोलागि सरकारले गरेको तयारी अझै अपयाप्र्त भएको समाजवादीको भनाइ छ। समाजवादीका उपमहासचिव प्रकाश अधिकारीले कोरना भाइरसको नियन्त्रण र रोकथामको जिम्मेवारी सरकारको रहेको बताउँदै भने, ‘सरकारले गरेको तयारी अझै अपयाप्र्त छ। यसमा थप प्रभावकारी कार्यक्रम ल्याउन आवश्यक छ।’ कोरना भाइरसको संक्रमणविरुद्ध जोगिन समाजवादीले कार्यकर्ताहरुलाई आह्वान गरेको छ। उपमहासचिव अधिकारीका अनुसार समाजवादीले यतीखेर सभा तथा ठूलाठूला कार्यक्रम स्थगन गरेको छ। ‘साना–साना अनौपचारिक भेटघाट कार्यक्रम त रोकिएका छैनन् तर कार्यकर्ता भेला, सभा, कोणसभा तथा ठूलाठूला कार्यक्रम स्थगन गरेका छौं,’ अधिकारीले भने।

राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरना भाइरसको सम्भावित सक्रमण रोक्न खुला सीमा नियन्त्रण गर्न सरकारसँग माग गरेको छ। ‘नेपाल कोरना भाइरस संक्रमणको उच्च जोखिममा रहेको छ। यस्तो बेलामा सरकारले खुला सीमा नियन्त्रण गर्नुपर्छ,’ राप्रपाका नेता भुवन पाठकले भने। केही दिनअघि राप्रपाले निकालेको विज्ञप्तिमा पनि खुला सीमा नियन्त्रण गर्न सरकारसँग माग गरिएको थियो। राप्रपाले कोरना भाइसको संक्रमणविरुद्ध चेतना फैलाउन तथा यसको संक्रमणविरुद्ध जोगिन कार्यकर्तालाई आह्वान गरेको छ। कोरना भाइरसको सम्भावित संक्रमणकै बेला फागुन २८ तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच पार्टी एकीकरण गरिएको थियो। पार्टी एकीकरण घोषणा पछि राप्रपाले कोरना भाइरसको सम्भावित सक्रमणको कारण देखाएर थप कार्यक्रम गरेको छैन।

प्रकाशित: ९ चैत्र २०७६ ०३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App