coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ओहोरदोहोर रोक्न नाममात्रको कडाइ

जनकपुरधाम - प्रदेश २ का आठवटै जिल्ला भारतसँग जोडिएकाले कोरोना भाइरसको उच्च जोखिम हुँदा सीमाक्षेत्रबाट हुने ओहोरदोहोरमा शनिबारदेखि कडाइ गरिएको छ। भारतीय सुरक्षा अधिकारीसँगको समन्वयपछि प्रदेश २ का जिल्लास्थित सुरक्षा अधिकारीहरूले सीमित नाका प्रयोगका लागि खुला गर्दै अरू सबै नाकामा ओहोरदोहोरमा रोक लगाएको बताएका छन्। तर खुला सीमाका कारण पर्साबाट निर्वाध रूपमै मानिसहरू नेपाल—भारत आवतजावत गरिरहेका छन्। कोरोना भाइरसाको उच्च जोखिममा रहेको नेपालमा भारतबाट दुईवटा छोटी भन्सार नाका र रक्सौल नाकाबाहेक कतै पनि स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छैन।

रक्सौल मुख्य नाका र ६ वटा छोटी भन्सार नाका रहेको यो जिल्लामा रक्सौल, ठोरी र भिस्वा नाकामा मात्र हेल्प–डेस्क राखेर शरीरको तापक्रम मापन गरिरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। रक्सौल नाकामा सात जना स्वास्थ्यकर्मी भएको एउटा हेल्प–डेस्क राखिएको छ। ती सात जना तीन सिफ्टमा बसेर इन्फ्रारेड थर्मामिटरले भारतबाट नेपालतर्फ आउने व्यक्तिको तापक्रम नापेर सामान्यभन्दा बढी देखिए नारायणी उपक्षेत्रीय अस्प्ताल वीरगन्ज पठाउने कार्य भइरहेको सहायक जिल्ला अधिकारी ललितकुमार बस्नेतले जनकारी दिए।

‘जिल्लाभरि खुला सीमा छ। धेरै बाटो छन्। सबैतिर हेल्प–डेस्क राख्नु पनि सम्भव छैन। सायद सरकारले सीमानाका नै बन्द गर्ने निर्णय गर्छ होला,’ बस्नेतले भने। उनका अनुसार पर्सा जिल्लामा तीनवटा हेल्प–डेस्कबाट हालसम्म ४२ हजारभन्दा बढी व्यक्तिको जाँच गरी शंकास्पद व्यक्तिलाई अस्पतालमा पठाइँदै छ। तर शंकास्प्द व्यक्ति सामान्य बिरामी रहेकाले उनीहरूको रगत वा पिसाब स्याम्पलिङका लागि काठमाडौं पठाउने अवस्था नआएको उनले बताए।
उनका अनुसार कोरोना भाइरसबाट हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै वीरगन्जको नेसनल मेडिकल कलेजमा ५० शड्ढया र नारायणी अस्पतालमा पाँच शड्ढयाको आइसोलेसन वार्ड बनाइँदै छ। यस्तै आयुर्वेद मेडिकल कलेजमा एक सय ५० बेडको क्वारेन्टाइन बनाउने तयारी भइरहेको सहायक जिल्ला अधिकारी बस्नेतको भनाइ छ।

महोत्तरीको मुख्य नाका भिठ्ठामोडबाहेक अन्य नाकाहरूको अवस्था निकै दयनीय छ। महोत्तरीका १२ स्थानमा राखिएको हेल्प–हेल्प डेस्कमध्ये भिठ्ठामोडबाहेक सबै नाकामा सामान्य थर्मोमिटरले नै तापक्रम नापिन्छ। तापक्रम नाप्ने थर्मल–गन अभावका कारण सामान्य थर्मोमिटरले ज्वरो जाँच भइरहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए। उनका अनुसार यस्तो जाँचले हेल्प–डेस्कका स्वास्थ्यकर्मी नै करोना संक्रमणको खतरामा रहेका छन्।

यस्तै, सर्लाहीको मुख्य नाका सानेवर्सालगायत १३ वटै नाकामा थर्मल–गनसहित हेल्प–डेस्कको व्यवस्था गरिएको छ। कोरोना संक्रमणको जोखिमबाट सावधानी अपनाउन सोनवर्षा नाकामा नेपाल–भारतका स्थास्थ्यकर्मीका साथै संयुक्त रूपमै सेना र प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए। तर खुला सीमाका कारण अन्य बाटो भएर दुवै देशका मानिसहरू निर्वाध रूपमै आउजाउ गरिरहेका छन्। प्रदेश २ मा रहेको ३९ वटा भन्सार नाकाबाहेक अधिकतर नाकाहरूमा न त थर्मल–गन छ, न स्वास्थ्य परीक्षणका अरू कुनै साधन। छोटी भन्सार नाकाहरूबाट भारतीय नागरिक तथा काम गर्न भारतको विभिन्न भागमा पुगेर फर्किरहेका नेपाली नागरिकहरू सहजै प्रवेश गरिरहेका छन्। सबै नाकाहरूमा हेल्प–डेस्क राखिए पनि साधन, स्रोत र जनशक्तिको अभाव र लापरबाहीले जाँचको व्यवस्थापन फितलो रहेको स्थानीयको गुनासो छ।

यस्तै, कोरोना संक्रमणबाट जोगिन जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाको मुख्य जटही र खजुरी नाकाबाहेक सबै नाका सिल गर्ने निर्णय गरेको छ। शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जनकपुरको मुजेलियास्थ्ति मणिपाल मेडिकल कलेजको प्रयोगविहीन भवनमा ६० देखि ७० बेडको कोरेन्टाइन भवन बनाउने निर्णय गरेको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार ७० देखि ८० घण्टाको अवधिमा कोरेन्टाइन भवन बनाउन तयारी थालिएको छ। यस्तै अति आवश्यकबाहेक सरकारी सेवा बन्द गरिने, कार्यालय खोल्ने तर सेवा प्रवाह नगरिने निर्णयसमेत भएको प्रजिअ निरौलाले बताए।

प्रकाशित: ९ चैत्र २०७६ ०३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App