७ वैशाख २०८१ शुक्रबार
समाज

अभावै अभावमा आइसोलेसन

कैलाली - भारतमा कोरोना भाइरसका बिरामी बढ्दै जाँदा सुदूरपश्चिम प्रदेश उच्च जोखिममा रहेको छ। यस्तो बेला प्रदेश सरकारको उपचार तयारी न्यून छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा निर्माण गरिएको आइसोलेसन कक्ष अभावै अभावमा गुज्रिरहेको छ। अभावकै बीचमा पनि चिकित्सकले आइसोलेसनमा राखिएका बिरामीको हेरचाह गरिरहेका छन्।

सेती प्रादेशिक अस्पतालका आकस्मिक कक्ष प्रमुख डाक्टर जगदीश जोसीका अनुसार आइसोलेसनमा राखिएका बिरामीको निगरानी गर्ने चिकित्सक आवश्यक सामग्री अभावमा जसोतसो इरहेका छन्। ‘हामीसँग बिरामीको सम्पर्कमा जाँदा लगाउने लुगा, मास्क तथा गाउन छैन,’ उनले भने, ‘सामग्री अभावमै काम गर्न बाध्य छौं।’

सेती प्रादेशिक अस्पतालमा सात बेडको आइसोलेसन कक्ष स्थापना गरिएको छ। सात जना भन्दा बढी बिरामी भएमा निगरानीमा राख्न गाह्रो हुने चिकित्सकहरू बताउँछन्। ‘अहिले प्रादेशिक अस्पतालमा सात बेडको आइसोलेसन छ,’ डाक्टर जोसीले भने, ‘त्योभन्दा बढी भएमा बेड थप्नुपर्ने अवस्था आउँछ। बिरामी बढेमा हामीलाई सुरक्षा कवचका सामग्री अभाव हुँदा झनै समस्या बढ्न सक्छ।’ सुरक्षा कवचको अभावमा ‘रिस्क’ लिएर काम गरिरहेको उनले बताए।

शुक्रबार भारतबाट नेपाल फर्कंदै गरेका तीन जनामा ज्वरो आएको र रुघाखोकी लागेको लक्षण देखिनेबित्तिकै सीमानाका गौरीफन्टामा खटिएका स्वास्थ्यकर्मीले सेती प्रादेशिक अस्पताल धनगढीमा ती बिरामीलाई ल्याएको बताउँदै उनले भने, ‘शंकास्पद बिरामीको रगत परीक्षणका लागि काठमाडौं पठाइएको छ।’ पठाइएको रगतको नमुनाको रिपोर्ट सोमबारसम्म मात्रै आइपुग्ने उनले बताए। हाल उनीहरू प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमै चिकित्सकको निगरानीमा छन्।

प्रादेशिक अस्पतालमा उसै पनि चिकित्सकको दरबन्दी कम रहेको बताउँदै मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेयले भने, ‘दरबन्दीअनुसार चिकित्सक छैनन्। तर पनि हामीले करारमा राखेर काम चलाइरहेको छौं। यस्तो बेला झनै चनाखो भई हामी काम गरिरहेका छौं।’ उपचारका लागि चाहिने आवश्यक सामग्री अभाव भइरहेका बेला अस्पतालबाट प्रदेश सरकारलाई पूर्ति गरिदिन भन्दै पत्राचार गरेको पनि उनले बताए। ‘हामीसँग स्टक रहेका मास्क, स्यानिटाइजर, गाउन तथा लुगाकपडाहरूले काम चलाइरहेका छौं,’ उनले भने, ‘अहिले प्रदेश सरकारसँग माग गरेका छौं।’

प्रदेश सरकारले भारतबाट आएकाहरूको निगरानी राख्न स्थानीय तहका जनप्रतिनिधिलाई पत्राचार गरेको बताउँदै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भने, ‘हामीले बिरामीको स्वास्थ्य परीक्षण गर्न डोटीको बुडर र बैतडीको खोड्पेमा हेल्थ–डेक्स राख्ने तयारी थालेका छौं।’

उनले भारतमा रहेका कलकारखाना तथा होटलहरू बन्द भएपछि त्यहाँ कार्यरत नेपाली नागरिकहरू घर फर्किरहेकाले कोरोना संक्रमण भित्रिन सक्ने उच्च जोखिम रहेको बताउँदै भने, ‘नेपाल आउने नागरिकको रेखदेख र स्वास्थ्य अवस्था बुझ्न सजिलो होस् भनेर छोटी नाका बन्द गरिसकेका छौं।’ प्रदेश सरकारले स्थानीय तहसँग मिलेर गौरीफन्टा र गड्डाचौकीमा कोरोनाको प्रारम्भिक जाँच गर्ने र शंकास्पद देखिएमा तोकिएका अस्पतालमा थप परीक्षणका लागि पठाउने व्यवस्था मिलाएको छ। हाल यी दुई नाकाबाहेक बैतडीको झुलाघाट र दार्चुलामा पनि आवातजावतका लागि खुला राखिएको छ।

मुख्यमन्त्री भट्टले संक्रमण फैलिहालेको अवस्थामा उपचारका लागि छुट्टै कक्षहरू स्थापना गरिएको र ती कक्ष कम पर्न सक्ने अवस्था रहेकोले निजी अस्पताल तथा होटल व्यवसायीलाई पनि होटललाई नै अस्पतालका रूपमा प्रयोग गर्नेगरी छलफल गरिएको बताए।

प्रकाशित: ९ चैत्र २०७६ ०३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App