७ वैशाख २०८१ शुक्रबार
समाज

खरिपाटी क्वारेन्टाइनमा ६२ जना

भक्तपुर – भक्तपुरको खरिपाटीलाई पुनः क्वारेन्टाइन बनाइएको छ । खरिपाटी क्वारेन्टाइनमा शनिबारदेखि चार विदेशी र ५८ नेपालीलाई राखिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट उनीहरूलाई सीधै त्यहाँ लगेर राखिएको बताए।

कोरोना भाइरसको जोखिम रोक्न सरकारले लगाएको अस्थायी प्रतिबन्धलाई उल्लंघन गर्दै उनीहरू शनिबार नेपाल आएका थिए । जापान, मलेसियालगायत मुलुकबाट उनीहरू आएको जनाइएको छ । आफूखुसी नेपाल आएका उनीहरू १४ दिन खरिपाटी क्वारेन्टाइनमा बस्नुपर्नेछ।

क्वारेन्टाइनमा बस्दा लाग्ने सबै खर्च उनीहरूले नै बेहोर्नुपर्नेछ । यसअघि चीनबाट ल्याइएका नेपालीलाई त्यहाँ राख्दा लागेको सबै खर्च सरकारले बेहोरेको थियो । सरकारले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिकलाई चैत ७ देखि वैशाख ३ गतेसम्म नेपाल आउन रोक लगाएको छ।

 

प्रकाशित: ९ चैत्र २०७६ ०२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App