पाल्पा–महाविनाशकारी भूकम्प गएको बीस महिना बितिसक्दा पनि सहयोग नपाएपछि सहलकोटका भूकम्प पीडितको दैनिकी झनै कष्टकर बनेको छ। गाउँमा प्राय सबै घरका मानिसमा कुनै न कुनै स्वास्थ्य समस्या देखिन थालेका छ। धेरैलाई निमोनिया, जण्डिस, दम, झाडापखाला तथा रुखाखोकीको समस्याले ग्रसित भएका छन्।
सहलकोट–९ सुकेकोटकी मीना राना दश दिनकी सुत्केरी हुन्। उनी चिसो भूँईमा टिनको छानामुनी टहरोमा सुत्कै आएकी छिन्। बच्चालाई जण्डिस देखा परेसँगै मन पीडा थपिएको उनले बताइन्। उनी भन्छिन्, ‘भूकम्प गएको दुई वर्ष पुग्न लाग्दा समेत सरकारले आश्वासनमात्र दिन्छ। हामी गरिबमाथि प्रकृतिले अन्याय गर्यो। खानेसुत्ने एकै ठाउँ हो। घरमा भएका कुखुरा बाख्रासँगै सुत्नुपर्छ।’ उनले सुत्केरी भएर पनि पौष्टिक आहारका त के कुरा पूरा पेटभरी खाना समेत खान नपाएको गुनासो गरिन्।
जिल्लामा सबैभन्दा बढी प्रभावित भएको स्थान हो–सुकेकोट। यहाँका भूकम्प पीडितहरुलाई सरकारले अहिलेसम्म टहरा निर्माणकालागि सरकारले १५ हजार र न्यानो कपडा खरीदकालागि १० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ। भूकम्प पीडित व्यवस्थापन संयोजक रहेका उमेरकुमार गाहाले तात्कालीन केही खाद्य सामाग्री र जम्मा २५ हजार रुपैयाँ बाहेक अन्य कुनै सहयोग नपाएको बताए। दुई बर्खा बितिसक्यो सरकारले के हेरेर बसेको छ?,’ उनले प्रश्न गर्दै भने। मानिसहरुमा स्वास्थ्य समस्या देखा परेपनि औषधि उपचार गर्न जान पैसा नभएको उनले बताए।
जापानिज समाजसेवी काजुमासा काकीमी (ओके बाजे) ले एक लाख रुपैयाँ प्रदान गरेका थिए। जुन रकमबाट सुकेकोटका स्थानीयले दाल, चामल, चाउचाउ, बिस्कुट, चिउरा खरिद गरे। गोर्खा वेल्फेयर सेन्टरले एक पूर्व सेनाको घर निर्माण गरिरहेको छ। सहलकोट गाविसमा जम्मा ५९ घरधूरीले रातो कार्ड प्राप्त गरेका छन्। जिल्ला दैवी प्रकोप उद्दार समितिमार्फत् अहिलेसम्म २५ हजार नगद सहयोग मात्र प्रदान भएको छ।
इञ्जिनियरहरुले सामाजिक परिचालकहरुको सहयोगमा जिल्लाका ११ हजार ३ सय ४५ घरधूरीमा गएर लगत संकलन गर्नेछन्।’ टोलीका इञ्जिनियरहरुले घरको चौकिल्ला सहित विस्तृत विवरण अपलोप ट्याबबाट गर्नेछन् । उक्त तथ्याङ्क केन्द्रीय तथ्याङ्क विभागले एकिकृत गर्दैछ। टोलीले एक दिन ८ घरधूरीको सर्वेक्षण गर्ने उपाध्यायले बताए।
प्रकाशित: २५ पुस २०७३ ०८:१७ सोमबार