coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इटालीमा एकै दिन ६ सय २७ को मृत्यु

रोम – कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट इटालीमा शुक्रबार ६ सय २७ जनाको ज्यान गएको छ। यससँगै त्यहाँ ज्यान गुमाउनेको संख्या चार हजार ३२ पुगेको छ।

वर्ल्ड ओमिटरडटइन्फोका अनुसार कोरोना भाइरसबाट ज्यान गुमाउने संख्याका आधारमा स्पेन र इरान क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। स्पेनमा शुक्रबार दुई सय ६२ जनाले ज्यान गुमाउँदा इरानमा एक सय ४९ जनाको मृत्यु भएको छ। नयाँ संक्रमणको हिसाबमा पनि इटाली अग्रस्थानमा छ। वर्ल्ड ओमिटरडटइन्फोका अनुसार त्यहाँ ४७ हजार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार त्यहाँ पाँच हजार नौ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ। अघिल्लो दिनको तुलनामा यो करिब १४.६ प्रतिशतले वृद्धि भएको हो।

यस्तै, जर्मनी र स्पेनमा पनि नयाँ संक्रमण निकै उच्च छ। जर्मनीमा शुक्रबार चार हजार पाँच सय २८ र स्पेनमा तीन हजार चार सय ३३ जना नयाँ संक्रमित फेला परेका छन्। इटालीपछि कोरोना संक्रमणबाट ज्यान गुमाउने चीनमा धेरै छन्। त्यहाँ तीन हजार दुई सय ४८ जनाले ज्यान गुमाएका छन्। इटालीको राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (आइएसएस) का अनुसार मृत्यु भएका व्यक्तिहरूको औसत उमेर ७८.५ वर्ष रहेको छ। मृत्यु भएकामध्ये सबैभन्दा कम उमेरका व्यक्ति ३१ वर्षका थिए भने सबैभन्दा बढी उमेरका व्यक्ति १०३ वर्षका थिए। त्यस्तै मृत्यु भएकामध्ये ४१ प्रतिशत ८० देखि ८९ वर्षका तथा ३५ प्रतिशत व्यक्ति ७० देखि ७९ वर्ष उमेरका थिए।

इटालीमा जापानपछि विश्वमै सबैभन्दा बढी बुढ्यौली उमेरका व्यक्ति रहेका छन्। मुलुकको कूल जनसंख्याको करिब २३ प्रतिशतको उमेर ६५ वर्षभन्दा माथि छ। चिकित्सकको भनाइमा विश्वका अन्य भागको तुलनामा यहाँ मृत्युदर बढी किन भइरहेको छ भन्ने यही तथ्याँकले नै पुष्टी गर्दछ। मृत्यु भएका तीन हजार दुई सय व्यक्तिको सर्वेक्षणका आधारमा तयार पारिएको आइएसएसको प्रतिवेदनमा मृतकमध्ये ७०.६ प्रतिशत पुरुष र २९.४ प्रतिशत महिला रहेको उल्लेख छ। तुलनात्मकरूपमा कोरोना संक्रमित व्यक्तिको औसत उमेर ६३ वर्ष रहेको छ। अध्ययनमा समेटिएका ४८१ जना मृतक व्यक्तिको विश्लेषण गर्दा झन्डै ९९ प्रतिशतमा एक वा त्योभन्दा बढी किसिमका रोगबाट पीडित भएको देखिएको छ। करिब ७३.८ प्रतिशत व्यक्तिमा उच्च रक्तचाप थियो भने ३४ प्रतिशतमा मधुमेह र ३०.१ प्रतिशतमा मुटुरोग थियो।

अस्पतालमा भर्ना हुँदा ७६ प्रतिशतमा ज्वरो आएको थियो भने ७३ प्रतिशतलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो। करिब ४० प्रतिशतमा खोकी थियो भने ८ प्रतिशत व्यक्तिमा झाडापखाला लागेको थियो। प्रतिवेदनमा औसतरूपमा रोगको लक्षण देखिएपछि ८ दिनभित्र मानिसको मृत्यु उल्लेख छ। यी मानिसहरू औसतमा चार दिनमात्र अस्पतालमा भर्ना भएको पाइएको छ। सर्वेक्षणमा समेटिएका तीन हजार दुई सय मृत्युमध्ये ९ जना मात्र ४० वर्षभन्दा मुनिका थिए। गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरसबाट शनिबार बेलुकासम्म ११ हजार आठ सय ४२ को ज्यान गइसकेको छ।

प्रकाशित: ९ चैत्र २०७६ ०२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App