७ वैशाख २०८१ शुक्रबार
खेल

ओलम्पिकलाई पछि सार

ओस्लो – नर्वे ओलम्पिक कमिटीले कोरोना भाइरसको त्रास नहटेसम्म आगामी टोकियो ओलम्पिकको प्रक्रिया अगाडि नबढाउन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)लाई  आग्रह गरेको छ।

नर्वे ओलम्पिक कमिटी र पारालम्पिक कमिटीले आइओसीका अध्यक्ष थोमस बाचलाई पत्र लेख्दै तत्कालको स्थितिमा आगामी समर ओलम्पिक प्रक्रिया अगाडि नबढाउन आग्रह गरेको हो। नर्वे ओलम्पिक कमिटीले यस अवस्थामा मानिसको स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने आइओसीलाई सुझाएको छ। ‘हाम्रा सुझाव भनेको यस्तो त्रासको स्थितिमा टोकियो ओलम्पिक अगाडि बढाइनु गलत हो। यो समय सबै मिलेर कोभिड–१९ लाई नियन्त्रण गर्ने माध्यम सिर्जना गर्न हो,’ नर्वे ओलम्पिकको पत्रमा उल्लेख छ। नर्वेले आफ्ना खेल गतिविधि सबै ठप्प रहेको उल्लेख गर्दै यस्तो स्थितिमा ओलम्पिक तयारी गर्न नसकिने जनाएको छ। आइओसीका अध्यक्ष बाचले विभिन्न खेलका अन्तर्राष्ट्रिय संस्था र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँग वर्तमान अवस्थाका बारेमा छलफल भइरहेको बताउँदै टोकियो ओलम्पिक सार्नु परिपक्व निर्णय नहुने धारणा व्यक्त गरेका थिए। ब्याचको त्यो भनाइपश्चात् विभिन्न देशका ओलम्पिक कमिटीसँगै नर्वेले त्रासको स्थितिमा ओलम्पिक गर्न नहुने सुझाव दिएको छ।

‘यदि ओलम्पिकको सिद्धान्त मान्ने हो भने आगामी टोकियो ओलम्पिक निर्धारित जुलाईमै आयोजना गर्नु हुँदैन। यस ओलम्पिकलाई सन् २०२१ मा सार्नु कुनै गल्ती हुने छैन। तब मात्र सबै खेलाडीले समान रूपमा तयारी गर्न पाउँछन्।’

पछिल्ला दिन खेलपदाधिकारी र खेलाडीहरूले विभिन्न अभिव्यक्ति दिँदै टोकियो ओलम्पिक सार्न आइओसी, टोकियो ओलम्पिक आयोजक र जापान सरकारलाई दबाब दिइरहेका छन्। यद्यपि, आगामी जुलाई २४ देखि अगस्ट ९ सम्म आयोजना हुने ओलम्पिक समयमा गर्ने आइओसीले जनाइरहेको छ। त्यसैले पनि आइओसीका अध्यक्ष बाचले ओलम्पिक अहिले नै स्थगित गर्नुको औचित्य नरहेको प्रतिक्रिया दिइसकेका छन्। त्यसैगरी स्लोभानिया ओलम्पिक कमिटीका अध्यक्ष बोजडान गाभरोभेचले पनि आगामी ओलम्पिक पछि सार्नुपर्ने बताएका छन्। स्लोभानिया ओलम्पिक कमिटीका अध्यक्ष गाभरोभेचले अहिले स्थितिबाट ओलम्पिक आयोजना हुँदा सबै खेलाडीले समान रूपमा तयारी गर्न नपाउने दाबी गरेका छन्। ‘यदि ओलम्पिकको सिद्धान्त मान्ने हो भने आगामी टोकियो ओलम्पिक निर्धारित जुलाईमै आयोजना गर्नु हुँदैन,’ उनले भने, ‘यस ओलम्पिकलाई सन् २०२१ मा सार्नु कुनै गल्ती हुने छैन। तब मात्र सबै खेलाडीले समान रूपमा तयारी गर्न पाउँछन्।’

शुक्रबारसम्म विश्वभरिबाट कोरोनाका कारण ११ हजार १ सय २९ मानिसको मृत्यु हुँदा दुई लाख ५८ हजार ९ सय ३० व्यक्तिमा संक्रमण देखिएको छ। हालसम्म विश्वका १ सय ६३ राष्ट्रमा कोरोना संक्रमण भेटिएको छ। चीनबाट सुरु भएको संक्रमण विश्वभर पैmलिँदा रोकिने अवस्था नै देखिएको छैन। यस्तो स्थितिमा सबै राष्ट्रका खेलाडीले समान रूपमा टोकियो ओलम्पिकको तयारी गर्न नपाउने नर्वे ओलम्पिककी सोफिया ओल्सनको भनाइ छ। युएस स्विमिङ फेडेरेसनले पनि टोकियो ओलम्पिक सार्न अनुरोध गरेको छ। उसले युएस ओलम्पिक कमिटी र पारालम्पिक कमिटीलाई आगामी ओलम्पिक सार्नुपर्ने माग राख्दै पत्र पठाएको छ। फ्रान्स स्विमिङ फेडेरेसनले पनि युएसको स्विमिङको भनाइ समर्थन गर्दै त्रासको स्थितिमा टोकियो ओलम्पिक सारिनुपर्ने भन्दै आइओसीमाथि दबाब दिएको छ। कोरोना संक्रमण र त्रासका कारण विश्वका अधिकांश खेल स्थगित हुँदा टोकियो ओलम्पिकका विभिन्न छनोट चरणमा रोकिएका छन्। आइओसीले यसै हप्ता सार्वजनिक गरेको रिपोर्टअनुसार ५७ प्रतिशत खेलाडी मात्र ओलम्पिकका लागि छनोट भएका छन्।

आइओसीका अध्यक्ष बाचले अहिले नै टोकियो ओलम्पिक सार्नु हतारको निर्णय हुने भन्दै तोकिएको समयमै आयोजना गर्ने संकेत गरेका छन्। ‘अझै साढे चार महिनाजति बाँकी रहेको अवस्थामा निर्णय लिनु कठिन छ। खेल गतिविधि स्थगित भए पनि ओलम्पिकबारे निर्णय लिने उचित समय होइन,’ आइओसीका अध्यक्ष बाचले भने, ‘स्थगित गर्नु हाम्रो लागि जबाफदेही हुँदैन। सल्लाह सुझाव पछि मात्र निर्णयको कदम चाल्नेछौं।’ बाचको त्यो भनाइसँगै विश्वभरका खेल संस्था र खेलाडीले आइओसीको चौतर्फी आलोचना गरिरहेका छन्।

प्रकाशित: ९ चैत्र २०७६ ०१:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App