काठमाडौं- कोरोना भाइरसबारे सामाजिक सञ्जालमा भाइरल भइरहेको एक अडियोबारे प्रहरीले अनुसन्धान थालेको छ। फेसबुकको मेसेन्जरमा एक जना पुरुष व्यक्तिको आवाज रहेको अडियोमा राजधानी काठमाडौंको कुनै अस्पतालमा ६ जनालाई कोरोना भाइरस देखिएको र नेपालमा फैलिईसकेको भनिएको छ।
'यस किसिमका भ्रामक जानकारी र अफवाह फैलाउने कार्य प्रति नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ र यसमा संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान प्रकृया अगाडी बढाईसकिएको समेत जानकारी गराउन चाहन्छौं', प्रहरीले भनेको छ।
साथै, यस्ता गतिविधिहरू प्रचलित ऐन कानुन अनुसार दण्डनीय भएको र मुलुकी अपराध संहिता अनुसार यसरी झुट्ठा अफबाह फैलाए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्छ। सो सजायका अतिरिक्त विद्युतीय माध्यम प्रयोग भएको हुँदा थप सजाय समेत हुनसक्छ।
प्रकाशित: ८ चैत्र २०७६ ०८:४५ शनिबार