स्मृतिमा दलित बस्ती

तर किन मान्छेबाटै भयो यस्तो भूल...

शनिबार, ०८ चैत २०७६, १० : ४६ नागरिक

डा. गीता त्रिपाठी
लुगासिलाइदिने रामजीदाइ हामी सबै केटाकेटीका प्रिय थिए। माथि डाँडामा थियो उनको घर। हाम्रो भन्दा एक किलोमिटर जति दूरीमा। तल–तल अरू जातिका मानिसको बस्ती थियो।कथित ठूला जातिका घर नजिक–नजिकै थिए, तर उनको घर भने एक्लो र अलग्गै थियो।वर्षमा तीनपटक काँचुली फेरिन्थ्यो हाम्रो शरीरमा।मलाई नयाँ लुगाको गन्ध औधि मनपर्ने, कारण जसमा सबैभन्दा धेरै बसाउँथ्यो, रामजी दाइको कल–मेसिनको तेल। बिदाका दिन सखारै हामी उनको घरबाहिर धर्ना बसिसक्थ्यौं।‘रामजीदाइ, बुबाले आज हामीकहाँ लुगा सिउनबोलाउन पठाउनुभएको’ भन्थ्यौँ। कहिलेकाहीँ अरूले बीचैबाट लगिदिने हुँदा हामी उनलाई कुरेरै घर लिएर आउँथ्यौँ। अघि–अघि उनी काँधमा हाते कल बोकेर निस्किन्थे। उनकी दुलही पछि–पछि कलमा हाल्ने तेल, सियो–धागो आदि चाहिने सामान बोकेर निस्किन्थिन्। हामी उनीहरूको पछि लाग्थ्यौँ।

उनलाई अघि लगाएर घर आउन पाउँदा हामीलाई ठूलै सफलता पाएजस्तो लाग्थ्यो। अनि उनका लागि बस्ने ठाउँ बनाउन हामी आफैँ जुट्थ्यौँ। यसरी जातको जति नै अवमूल्यन गरे पनि सीपको उपासक थियो हाम्रो समाज। हामीलाई थाहा हुँदैनथ्यो, छुवाछुतको कुरा तर रामजी दाइ र भाउजूले बलेसीपारि पुगेको गुन्द्री र सतरन्जालाई तानेर आफूतिरै ल्याउँथे र भन्थे बलेसीपारि ओछ्याउनु हुँदैन ! अनि, आमाले भित्रबाट खानेकुरा पकाएर बलेँसीपारि नै पुर्‍याउन अह्राउनुहुन्थ्यो। हामी त्यसै गथ्र्यौं। यसमा चाहिँ मैले कुनै जिज्ञासा राखिनछु त्यसबेला। नयाँ लुगा लगाउने हतारोमा भेदभावका कुरा दिमागमा आउनै पाएनन् कि जस्तो लाग्छ। बिजुलीको सुविधा नभएकाले सियो उन्ने, धागो मिलाउने, कपडा काट्ने र सिउने सबै कामका निम्ति घरभित्र पर्याप्त उज्यालो नपुग्ने हुँदा बाहिर बसेर सिलाएको होला भन्ठान्थे सादय,त्यसैलेमैले यस विषयमा खासै खोजी पनि गरिनछु।

रामजी दाइभन्दा पहिले पौवाका दमाईदाइले हाम्रा लुगा सिइदिन्थे। पछि बुढ्यौलीका कारण उनले अवकाश लिएपछि रामजीदाइलाई बाली भर्नुभएको थियो आमाले। उनै पौवाका दमाईदाइकाकान्छा छोराले चाहिँ हामीकहाँ केही समय खेतबारी जोत्ने काम गरे। उनी अलि रमाइला पाराका थिए। हामी केटाकेटीसँग बस्न, खेल्न खुब रुचाउँथे। एकदिन, कामबाट फर्केर उनी हामीसँग गफिँदै थिए, रात पर्‍यो। उनको घर पुग्न झन्डै एक घन्टाको उकालो हिँड्नुपथ्र्यो।खोल्साखोल्सी र खोलाको बाटो, त्यसमाथि उनले भूतप्रेतका अनेकन् उपकथा सुनेका रहेछन्, घर जान डराए। त्यो दिन उनलाई बास दिने कुराले घरमा ठूला मान्छे पिरोलिएको मैले पनि थाहा पाएँ। मेरा भान्दाइ उनकै समवयका थिए, साथीजस्ता। घरको बाहिरपट्टिखोपामा लामा–लामा काठ घुसाएर बलेसीमाथि पर्नेगरी खटिया तयार भयो। उनलेत्यहीँ सुतेर रात काटे। खटियामा मेरा भान्दाइ पनि सुते।घरभित्र पशु पालिएका थिए, कान्छा दमाई हामी सबैका प्रिय दाइ हुँदाहुँदै पनि बाहिरै सुत्न विवश थिए ! भान्दाइ पनि साथै सुतेकाले हामीलाई विभेदभन्दा ज्यादा रोमाञ्चक लागेको थियो त्यो रातको कथा !

बालुवाबेँसीको झिकु खोलापारिको गाउँको अर्को सम्झना छ। बाटोवारि हाम्रो घर र बाटोपारिका हाम्रा सहोदर छिमेकी सार्कीको घर, जहाँ निकै बूढी आमै थिइन्। तिनी प्रत्येक दिन हाम्रो पेटीमा आइबस्थिन्। मेरी बहिनीले पकाएको चिया उनलाई जिब्रैमा लाग्थ्यो। अतीतलाई रसिलो पाराले सम्झन्थिन्। एक कप चिया तिनलाई खुवाउन नपाएको दिन मेरी बहिनीलाई चैन हुँदैनथ्यो। तिनैका नाति रणजित सार्की, उमेरले मेरा दाइ, तिनको बच्चा नभएपछि काठमाडौँमा जँचाउन आउन खोजे, कतै बास पाएनछन्। सात–आठ कक्षासम्म मेरा दाइसँगै पढेका र स्कुलमा केही वर्ष सँगै खेलेका उनीप्रति समाजले भनिआएको अछुतको भावना मभित्र कहिल्यै आएन। तिनी बीचैमा पढाइ छाडेर भारत गए, ड्राइभरी गरे र पैसा कमाएर घर फर्किए।पछिल्लोपटक मैले भेट्दा बिहे गरेको पनि तीन वर्ष भइसकेको रहेछ। मैले उनलाई सहयोग गर्ने विचार गरेँ। ती खुसी भएर काठमाडौँ आए। बाहिरको भ¥याङबाट माथि छतको कोठामा तिनले आफ्ना सामान बिसाए तर हामी बस्ने तलामा आउन उनी राजी भए पनि उनकी पत्नीले मानिनन्, समाजले थोपरेको पाप–धर्मको डरले हो कि ?अझै पनि यो डरको साम्राज्य व्याप्त छ।

सन्दर्भ : जाति तथा रंगभेद उन्मूलन दिवस

पानी–कानून
काभ्रेकोपलाञ्चोक भगवती मन्दिरको वरपर दमाई र कुसुलेको पनि बसोबास छ। मेरा बाल्यकालीन दिनहरू उनीहरूका बाजागाजाका धुनले ध्वनिमय हुन्थे।कलाको जीवन्त आकर्षणले भरिएका थिए तिनका औँलाहरू। तिनका घरसँगै थियो, स्कुलको आँगन तरउनीहरू अशिक्षित हुनुको साक्षी थिएँ म। नजिकैको अर्को गाउँ बरबन्दी मेरो जन्मस्थान। बिहानीको घामसँगै मालश्रीको रागले शरद्को आभा सँगालेका ती दिनहरू सम्झिरहेछु।ती सुनौला बिहान मेरालागि जति सुन्दर थिए, त्यति सुन्दर ती दलित बस्तीका लागि पक्कै थिएनन्। तिनका निम्ति कुरूपताको पहिलो पृष्ठ नै ‘पानी’बाट आरम्भ हुने हिन्दूभाष्य थियो। दलितले पानीको स्रोत छुनुमहाअपराध मानिन्थ्यो। मन्दिर तिनका निम्ति बन्द थियो। प्रकृतिका सरसतामा तिनको श्रम भिज्थ्यो तर तिनको जीवनको तीर्खामा सरसताको कुनै गुञ्जायस थिएन :

सानो छँदा छुन पाइनँ आफ्नै पानी पँधेरो,
ठूलो भएँ लाग्यो सारा संसार नै अँधेरो।
पर्खी बसेँ छुट्ने आशमा,
मेरो दैव कैदी भयो मेरै बासमा।
यो गीतको रचनामैले २०४५ सालतिर गरेकी हुँ। थुँगा : वनफूलका (२०६१) गीत सङ्ग्रहमा संग्रहित यो गीतको रचनागर्भ निकै मार्मिक छ। मैले यो गीत किन लेखेँ ? म आफैँलाई सोध्नेगर्छु कहिलेकाहीँ। तर चित्तबुझ्दो जवाफ पाउँदिनँ। जवाफ नभएको पनि होइन। गीतमा मैले सानो छँदा पानी पँधेरो छुन नपाएको कुरा लेखेकी रहिछु, तर मैले देखे–भेटेका पानी पँधेरो छुन नपाएकाहरू युवा, अधबैँसे र वृद्धाहरू नै थिए। मचाहिँ सानो थिएँ त्यस बखत। नौ वर्ष पुगेपछि मेरो क्षमताअनुसारको पानीको गाग्रो दिएर दिदीहरूले मलाई पानी पँधेरोसँगको दैनिकी सुरु गराइदिए। यसपछि हो मैले पानीमाथिको राजनीतिलाई नबुझी नबुझी बुझ्न थालेको। नबुझेर विद्रोहजस्तो के के मनमा आउन थालेको। मेरो प्रश्न यहीँनिर हो। गीतमा मेरो पात्रत्वले किन प्रथम पुरुष कथनपद्धति समायो ? जवाफ दिन नसक्नुको कारण पनि यही हो। मेरो अनुभूतिमा म नै त्यो पात्रसँग मिसिएर वा पात्रैमा आरोपित भएर आउनुको कारण के थियो ? समाज विभाजनको वर्तमान संकीर्णतामा म फेरि पनि उत्तरविहीन छु।

त्यो दिन कान्छा दमाई लाई बास दिने कुराले घरमा ठूला मान्छे पिरोलिएको मैले पनि थाहा पाएँ। घरको बाहिरपट्टि खोपामा लामा–लामा काठ घुसाएर बलेसीमाथि पर्ने गरी खटिया तयार भयो। उनले त्यहीँ सुतेर रात काटे। खटियामा मेरा भान्दाइ पनि सुते। उनी हामी सबैका प्रिय दाइ हुँदाहुँदै पनि बाहिरै सुत्न विवश थिए !

पानी साह्रै अमूल्य हुन्थ्यो मेरो बाल्यकालमा। पहाडको बस्तीमा पानीका पँधेराहरू सुक्दै गएका थिए। एकाध खोल्सीमा सानो मूल थियो। पानीको पालो कुरेरै हाम्रा बाल्यकालीन सिर्जनात्मक समय खेर गइरहेका थिए। स्कुलको समय मुस्किलले समाएका ती दिन कम मार्मिक थिएनन्। यो मर्मभित्र अर्को मर्म थियो, जुन आफूले नभोगे पनि त्यो झेलिरहेकाहरूको आत्मीय र विवश अनुहार कहिल्यै स्मृतिबाट जान सकेको छैन। छानो लगाइएको पँधेरो नदीजस्तो स्वतन्त्र थिएन, न आफ्नो लागि न उसलाई धाएर आउनेका लागि। कति विवश थियो पानी ! चाहेर पनि उसले जातीय भेदभावको मैलो पखाल्न पाइरहेको थिएन। पलाञ्चोक भगवतीको पवित्र मन्दिर वरिपरि बसोबास भएर पनि अपवित्र बनाइएका जातिका निम्ति पानीको कथा पानीजस्तो सरल, निर्मल थिएन। गाउँदेखि ठाडै परेको ओरालो बाटो निकै झरेपछि मात्र पँधेरामा पुगिन्थ्यो। पँधेराको ढोकाबाहिरबाट खनिएको कुलेसोले पानी कुर्नेका निम्ति बनाइएको पानी–आँगनलाई दुई फ्याक पारेको थियो। हो, त्यही विभाजन रेखापारि परेकाको कथाले मेरो ९–१० वर्षे बालमस्तिष्कलाई बेचैन बनाएको थियो।

जन्मैदेखि माटोसँग गाँसिएर आएँ,
पैह्रो जाँदा बाटोसँगै भासिएर आएँ।
यस्तै थियो तिनीहरूको अस्तित्वको राशि। गरिबीको आतंक शरीरभरि स्पष्ट देखिन्थ्यो। फाटेर टाला लगाइएको फरिया र तुना चुँडिएर लर्किएको चौबन्दी। नकोरिएको कपालले आधा छोपिएको शिथिल अनुहार। पानीको पालो पर्खिरहनु मात्र होइन, मनकारी बिस्टको पर्खाइ पनि थियो, जसले झर्को नमानीकन पानी आफ्नो गाग्रोमा खन्याइदेओस् ! आमा उमेरकाले छोराछोरी उमेरकालाई गरिरहेको सम्बोधनले अवाक् बनाउँथ्यो ! मालिक र मालिक्निी भन्ने शब्द कसरी सहजसँग बसेको थियो ओठमा। जब पानी भरिदिने कोही हुँदैनथ्यो, पानी चल्नेहरूको पर्खाइमा तिनले घन्टौँ कुर्नुपर्दा कति पीडा हुँदो हो ! बाल्यकालीन दैनिकीमा मिसिएको यो एउटा नमीठो अनुभूतिलाई मैले ६ वर्षअघि एउटा एकांकीमा प्रस्तुत गरेकी थिएँ। बिएस डब्लुका विद्यार्थीले सामाजिक कार्य (सोसल वर्क) का निम्ति चितवनलाई कार्यक्षेत्र बनाएका थिए। उनीहरूलाई एउटा चेतनामूलक एकाङ्की तयार पार्नु थियो, तिनले मलाई अनुरोध गरे। नेपाली भाषामा सर्वसाधारणले बुझ्ने संवाद प्रयोग गरेर ‘किन चल्दैन पानी ?’ शीर्षकमा मैले एउटा एकाङ्की तयार पारेँ। निकै मेहनतका साथ तिनले अभिनय गरे, संवादलाई स्वाभाविक किसिमले प्रस्तुत गरे।

अभ्यासले खारिएका तिनको अभिनय कार्यक्षेत्रमा धेरैले रुचाएको कुरा तिनले गर्वका साथ भने र सँगै यो पनि भने– दलितप्रतिको अथाह भेदभाव भएको गाउँ–गाउँमा यो मञ्चन हुँदा उनीहरूले आँसु झारेका थिए। यो आँसु सायद मेरो बाल्यकालदेखिको पीडादायी प्रश्नको जवाफ पो थियो कि ? ब्रिटिस–गोर्खा कजेलका त्यस समयका विद्यार्थीहरू विपिन, सम्झना, किरण, सञ्जिना, मेरिन, सञ्चिता लगायतले अभिनय गरेको यो एकाङ्की मानवअधिकार दिवसका दिन केन्द्रीय विभाग, कीर्तिपुरको कार्यक्रममा पनि प्रस्तुत गरिएको थियो। यसको प्रभावकारिताकै कारण सिभिक्स लगायत सामाजिक संस्थाको उपस्थितिमा यो पुनः प्रस्तुत गरिएको थियो। पछि यस एकाङ्कीलाई विवेकसिर्जनशील प्रकाशनको सिर्जनशील नेपाली कक्षा ६ को पाठ्यक्रममा पनि राखिएको थियो।

अहिले फेरि अतीतका यी मार्मिक दृश्य स्मृतिबाट शब्दमा प्रवेश गर्न खोज्दै थिए। एउटा सर्ट फिल्म ‘मुलाकरम ः द ब्रेस्ट ट्याक्स’ हेर्दै गर्दा पाइलामुनिको जमिन भासिएजस्तो भयो। कुनै समय विभेदको स्वरूप दलित महिलाका निम्ति निकृष्टताको त्यो हदसम्म रहेछ, सोच्दै रिंगटा छुट्ने कथाले फेरि बेचैन बनाइरह्यो। फिल्ममा मुख्य पात्र नाङ्गेलीको आँट र सहादतप्रति एकैपटक भय, करुणा र वीरत्वको अनुभूतिले निःशब्द बनेकी थिएँ। दलित आमाहरू हतारले विह्वल भएको मैले कहिल्यै देखिनँ। बिहानी पँधेरोमा बालबच्चालाई स्कुल पठाउन ढिलो होला भनेर गति बढाइरहेका अन्य अभिभावकबीच तिनीहरूले भने एकनासको प्रतिक्रियाविहीन भएर पालो पर्खेको देख्थेँ। बालबच्चाको व्यवस्थापन गर्न नपाएर छटपटाएका ‘आमाहरू’ त तिनमा पनि थियो होला, तर समाजले तिनलाई केवल तल्लो जात मात्र देखिरह्यो !

तिनका भात–भान्साको, मेलापातको र अन्य दैनिकीमाथि कति ठूलो बाधा थियो, पानी–कानुन ! यो कानुनको निर्माता को होला ? म प्रश्नहरूको दलदलमा थिएँ। वारिका भन्थे, हामीले बनाएको होइन, चलिआएको चलन हो, भगवान्ले बनाएको। दैवको कानुनलाई हामीले नमानेर हुन्छ ! मसँग उत्तर हुँदैनथ्यो। आज सोच्छु, त्यसैले लेखेँ हुँला— मेरो दैव कैदी भयो मेरै बासमा ! निषेधको यो स्वरूपले नेपाली समाजलाई अग्रगति लिन धेरै बाधा दिएको छ। आज पनि यसको असर भयावह नै छ। दलित भएको थाहा पाएपछि घर छोड्न दबाब दिने शिक्षित घरबेटीमाथि पीडितले मुद्दा दायर गरेको समाचारले नाङ्गेलीको कथालाई नयाँ संस्करण गरिदिएको छ। त्यसबेला गाउँमा यति धेरै दबाब थियो वा दलित हुनुको अन्धविश्वासलाई यसरी मलजल गरिएको थियो, स्वयं दलित भनिएकाले सीमा भत्काउने कोसिस कहिल्यै गरेको देखिनँ। चेतनाको दियो बाल्ने युवा–युवती तयारै हुन दिइएन। किशोर उमेरसम्म स्कुल गएका पनि सामाजिक विभेदको घाउले छटपटाउँथे।

पारिवारिक प्रेरणा पाउने स्थिति बनेकै थिएन भने पढाइप्रति अरुचि जाग्नु स्वाभाविकै थियो। यसरी लामो समयसम्म शिक्षाबाट सिंगो समुदाय वञ्चित बनिरहेको थियो। भारतीय दलित समुदायका लेखक मनोरञ्जन व्यापारीका कृतिहरू निकै चर्चित छन्। उनको ‘इन्टरोगेटिङ माइ चान्डाल लाइफ’ शीर्षकको आत्मकथा प्रसिद्ध छ। त्यस कृतिमा उनले इमानदार मानिसको भाग्य के कारणले यति दुर्भाग्यपूर्ण भइदिन्छ भन्ने प्रश्न आफ्ना कठोर परिश्रमी र इमानदार बाबुले पाएको दुःखदायी जीवनका सन्दर्भमा उठाएका छन्। जातीय विभेदको अन्त्यका निम्ति साहित्य एउटा प्रभावकारी माध्यम हुनसक्नेमा दुईमत छैन। सिर्जनामा दलित चेतनाका कृतिहरू प्रकाशित भइरहेका छन् तर अशिक्षाका कारण हो वा साधनाका निम्ति उपयुक्त वातावरणको कमीले, नेपाली दलित समुदायबाट त्यस्तो मानक कृति आउन सकेका छैनन्।केही आएका कृतिले सही पाठक र समालोचक नपाउँदा मूल्यांकन हुन सकिरहेको छैन। बुद्धिविनोदमा उँचनिचको जातीय प्रचलनप्रति प्रश्न उठाउँदै लेखनाथ पौड्यालले दुई प्रश्नार्थी श्लोक रचना गरेका छन्। उनले मिलेर बसेको समाजलाई बिगार्ने कुप्रथाका रूपमा विभेदजन्य जातिप्रथाको विरोध गरेका छन्। यही प्रसंगमा को अछुत ?(२०११) शीर्षकको उपन्यासको सम्झना हुन्छ।

यसरी नै लिखे उपन्यास (२०५९), जुनकीरीको सङ्गीत (२०५६), मैदारो (२०७५)जस्ता उपन्यास, पारिजात र गीता केशरीका केही आख्यान हुँदै कवितामा विशेष किसिमले दलित चेतना प्रकाशित भइआएका छन्। सियोको टुप्पोले मुटु बिझ्यो दमाई दाइ... गीतका रचयिता देवकोटा दलित चेतनाका अग्रगामी व्यक्तित्व थिए। मुनामदनमा उनले मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन...लेखिरहँदा ठूला जात भनिएर तल्ला जातको जीवनशैली र जन्मलाई नै उपेक्षा गर्नेलाई सोच्न बाध्य बनाइदिएका थिए। उनको हातमा कलम थियो, कलमका माध्यमबाट प्रकट गर्ने विद्रोह र प्रतिरोध थियो। अन्धविश्वास र रुढीका विरुद्ध बोल्ने सामथ्र्य थियो तर उनीसित सत्ता थिएन। उनी चेतना दिन सक्थे, अधिकार दिन सक्दैनथे। भोको पेटलाई व्यवहारतः चेतनाभन्दा पहिले अधिकार चाहिन्थ्यो, साहित्य त्यस दृष्टिले राजनीतिभन्दा शक्तिशाली भएर पनि सायद दोस्रो दर्जामै परिरह्यो। प्रबन्धकाव्यमा आयोजना गर्न नसके पनि देवकोटाका केही फुटकर कवितामा दलितका विषय आएका छन्। समले ‘चिसो चुल्हो’ महाकाव्यमा नायकत्व दिन उभ्याएका सन्ते दमाईको चरित्रलाई पनि समाज सापेक्ष भएरै प्रस्तुत गरे। आत्मालापभन्दा बाहिर उसको आवाज पुग्न सकेन। 

समकाआदर्श प्रेमीहरू सांस्कृतिक रुग्णताको सिकार हुनुभन्दा प्रतिरोधी भइदिन सकेका भए परिणाम अग्रगामी समाजका पक्षमा हुने थियो। समका निम्ति त्यो समय जटिल भए पनि उनका पात्रलाई स्वतन्त्र हुन निकै पहिले सहयोग पुग्ने थियो। म विद्यार्थी हुँदा मेरो कक्षामा कोही दलित सहपाठी भएनन्। भइदिएका भए तिनका निम्ति म कस्तो दृष्टिकोण बनाउँथेँ होला ? कस्तो व्यवहार गर्थें होला ? म शिक्षिका भएपछि चाहिँ कक्षाकोठामा दलित समुदायका केही विद्यार्थीसँग नजिक भएकी छु। मेरो समयको सुकेको स्वर अहिले बुलन्द भइसकेको अनुभव म गरिरहेकी छु। भाषा–साहित्यका माध्यमबाट म तीमध्ये कतिसँग सहकार्य पनि गरिरहेकी हुन्छु। मलाई दलितहरूको जीवनशैली जन्मजात अशुद्ध हुन्छ भनेर तिनका घरमा पानी पिउनसमेत नदिने समाजसँग सदैव प्रश्न उठ्ने गर्छ, तिनीहरूको न्यायका लागि ठूला जाति भनाउँदाले के कति योगदान गरेका थिए ? यहाँ फेरि एकपटक महाकविको सम्झना हुन्छ। भूगोलपार्कमा दलित चिन्तनमा सहभागी सचेत कवि–लेखकका सैद्धान्तिक बहसबाट दाल नगल्ने देखिसकेका देवकोटाले नजिकै जुत्ता पालिस गरिरहेका व्यक्तिसँग पानी दिन अनुरोध गरे।

पानी घटघट पिएर सभातिर फर्किएर भने, ‘मैले मेरो काम गरेँ, तपाईंहरू आफ्नो काम गर्नुहोस्।’ मानवतावादी संचेतनाले प्रेरित यो व्यावहारिक सक्षमता देवकोटाको समय यता केहीले राजनीतिप्रेरित भएर गरे पनि ती सर्वथा समान दृष्टि बोकेर अघि बढ्न सकेनन्। यसरी हाम्रो समाजमा दलितप्रतिको सैद्धान्तिक बहस निकै सकारात्मक भए पनि त्यसले पूर्ण व्यावहारिक रूप पाउन सकेको छैन। जातीय विभेदको शृंखला टुट्दै गएको पछिल्लो सम्झनामा म राकेश परियारलाई पाउँछु। कक्षाकोठामा निकै उत्साहित र हँसिलो त्यो युवक डाक्टर पढ्न चाहन्थ्यो। उसकाबुबाले सिलाइबाट कमाएको सामान्य आर्थिक अवस्थाबाट केही रकम जोगाइरहेका थिए। जब उसको परीक्षा नजिकिँदै थियो, उसले मसँग भेट्ने इच्छा गरेको थियो। खासगरी  उसको भावना बुझ्ने शिक्षिकाको रूपमा ऊ मलाई आफ्नो बुबासँग भेटाउन चाहन्थ्यो। त्यो दिन ऊ बुबालाई लिएर मेरो निवासमा आएको थियो। पहिले रणजित दाइको परिवार आउँदाको जस्तो सङ्कोच उसले लिएको थिएन। आत्मसम्मान जगाउन शिक्षाले कसरी सहयोग पुर्‍याउँछ भन्ने उसको सहज आगमनले पुष्टि गरिरहेको मैले पाएँ।

उसका बुबा पनि छोरासँगै सहजतापूर्वक घरभित्र प्रवेश गरे। हामीले राकेशको इच्छाशक्ति र आर्थिक हिसाबले पर्नसक्ने सम्भाव्य समस्याका बीच के कसरी सामञ्जस्य बनाउने भन्नेबारे छलफल गरेका थियौँ। राकेश मेरा निम्ति एउटा जिज्ञासु छात्रका रूपमा सदैव सम्मानित थियो। ऊ डाक्टर हुनु भनेको आम मानिसका स्वास्थ्यका निम्ति उच्च प्राप्ति हुँदै हो, अझ विगतमा थिचिएको समुदायको एक सदस्यको सामाजिक रूपान्तरण हुनु पनि हो। २५ वर्षअघि, डाक्टर डिबी विश्वकर्माले अत्यन्त जिम्मेवारपूर्ण रहेर मेरो स्वास्थ्य परीक्षण गरी नयाँ जीवन दिएका थिए। राकेशमा पनि मैले तिनै व्यक्तित्वको प्रतिविम्ब खोजिरहेकी हुन्छु। आज पनि म मेरो अतीत र वर्तमानबीचको अन्तरालमा विभेदको चरम पीडालाई मुक्का हानेर सीप आर्जन गरिरहेका श्रमशील पवित्र हातहरूको स्मरण गर्नुपर्दा निसन्देह ती पात्र सम्झन्छु, जो मेरा गीतका अमर भाव हुन्, जसका आँखाभित्र धसिएको पीडा नै मेरा रचनाको आदिम लय बनेका छन्, जसले सिलाइदिएको जुत्ता र लुगामा मैले सभ्यताको पहिलो स्पर्श अनुभूत गरेँ ! ती, जसले दुःखका फूल फुलेर सुखका बिउ जोगाइरहे !
मैले छोएँ मुस्करायो धरतीको फूल
तर किन मान्छेबाटै भयो यस्तो भूल...।





यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

Ncell Footer Ad