coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

त्रि–धार्मिकस्थल हलेसी गुफा प्रवेशमा रोक

हलेसीको गुफा प्रवेशमा रोक लगाइएपछि गेट बाहिरैबाट दर्शन गर्दै दर्शनार्थी। तस्बिर सौजन्य : टिवन राई

खोटाङ – कोरोनाको संक्रमण रोक्नका लागि खोटाङको त्रि–धार्मिकस्थल हलेसीका दुई गुफा प्रवेशमा रोक लगाइएको छ। शनिबार बिहानदेखि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी महादेवस्थान र बसाहा गुफा प्रवेशमा रोक लगाइएको हो।

कोरोनाको संक्रमण फैलिन सक्ने खतरालाई ध्यानमा राखेर दर्शन गर्न आएका दर्शनार्थीको पुजाआजा नरोकिने गरी महादेवस्थान रहेको मूख्य गुफा र बसाहा गुफा प्रवेशमा रोक लगाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। ‘कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सहयोग पु¥याउने उद्देश्यले अर्को व्यवस्था नभएसम्मका लागि गुफा प्रवेशमा रोक लगाइएको हो,’ मेयर राईले भने, ‘यसको मतलव हलेसीमा दर्शन गर्न पाइन्छ तर गुफाको गेटभन्दा बाहिरबाट गर्ने प्रवन्ध मिलाइएका छौँ।’

हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसीका गुफाको फलामे गेटमा ताला लगाएर बाहिरैबाट पुजाआजा गर्ने व्यवस्था मिलाइएको मन्दीर व्यवस्थापन समितिले जनाएको छ। शनिबार बिहानदेखि दर्शनार्थीले गेट बाहिरैबाट हलेसीको दर्शन तथा पुजाआजा गरिरहेका छन्।

हलेसीको गुफा प्रवेशमा रोक लगाइएको सम्भवत यो पहिलो हो। हलेसीका प्राकृतिक गुफामा प्रशस्त चमेरा बस्ने गरेको र चिनमा चमेराबाटै कोरोना सरेको चर्चा चलेकाले मन्दीर गुफा प्रवेशमा रोक लगाइएको महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईले बताए। ‘चिनमा चमराबाटै कोरोना मान्छेमा सरेको देखियो भन्ने हल्ला छ, हलेसीका गुफामा पनि प्रशस्त चमेरा पाइन्छ,’ वडाध्यक्ष राईले भने, ‘त्यही भएर गुफा प्रवेशमा रोक लगाइएको हो।

अहिले दर्शनार्थीले गेटभन्दा बाहिरबाट पुजाआजा गर्ने व्यवस्था मिलाइएको छ।’ दर्शनका लागि गुफा प्रवेश गर्नेक्रममा खाली खुट्टा प्रवेश गर्नुपर्ने भएकाले र संक्रमणको जोखिम बढि भएकाले गुफाको गेट बन्द गरिएको हो। नगरपालिका, हलेसी महादेव विकास समिति र मन्दिर व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले गुफा प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो। कोरोना फैलिएको चिनका नागरिकको बाक्लो आउजाउ हुने हलेसीलाई संक्रमणका हिसावले जोखिमपूर्ण मानिएको छ।

रामनवमी मेला रोकियो
कोरोना महामारीबाट जोगिनका लागि भन्दै हलेसीमा ठूलो संख्यामा भेला भएर गरिने पुजाआजा, पुरान, मेला, पर्व लगायतका धार्मिक कामको आयोजनामा समेत रोक लगाइएको छ। आगामी चैत २० गते लाग्ने रामनवमी मेला समेत स्थगन गरिएको मेयर राईले बताए। हलेसीमा हप्ता दिनसम्म रामनवमी मेला लाग्ने गरेको थियो। कोरोनाको त्रासका कारण हलेसीमा उसै पनि चहलपहल घटेको छ।

हलेसीमा सदियौंदेखि चल्दै आएको नृत्य नैनृत्यलाई भने निरन्तरता दिइएको छ। बाल पुजारीमार्फत बिहान बेलुका गरिने नृत्य नैनृत्य पुजाआराधनाका लागि भने गुफाको गेट खुल्ने मेयर राईले बताए। बाल पुजारी, बाजा बजाउने नगर्ची, सहयोगीका लागि मात्र बिहान र बेलुका हलेसी गुफाको गेट खोल्ने र बन्द गर्ने व्यवस्था मिलाइएको छ।

प्रकाशित: ८ चैत्र २०७६ ०४:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App