coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

जवान राख्ने ज्याकुजी

डा. डीबी सुनुवार
अध्यक्षः होलिस्टिक ग्रुप अफ कम्पनी
ज्याकुजी शरीर स्वस्थ, सुन्दर तथा फिट राख्ने सहज, सरल र उपयुक्त प्राकृतिक जल चिकित्सा विधि हो । यो विधि चीन, जापान, कोरियाजस्ता मुलुकमा प्रसिद्ध छ । पश्चिमा मुलुकमा पनि परम्परादेखि नै ज्याकुजी गर्ने चलन चलिआएको छ । नेपालमा पनि आजकाल ज्याकुजी गर्नेको संख्या बढिरहेको छ ।

ज्याकुजीलाई ‘बाथटव’का नामले समेत चिनिन्छ । ज्याकुजीको भाँडो प्लाष्टिक तथा फाइबरले बनेको हुन्छ । सामान्यतः ‘ज्याकुजी बाथटव’ करिब तीन फिट गहिराइको हुन्छ, भने छ फिट लम्बाइ र चार फिट चौडाइको हुन्छ । यस्तो भाँडामा शरीरले सहन सक्ने तातोपानी भरिएको हुन्छ ।

ज्याकुजीको भाँडाभित्र करिब दस ठाउँमा पानीका फोहोरा निस्कने प्वाल हुन्छन् । त्यस्ता प्वालबाट भाँडामा हालिएको तातो पानी रिसाइक्लिङ भएर फोहोरा फाल्छ । पानीका फोहोरा पनि बडो रोमाञ्चित किसिमका हुन्छन् ।

कुनै प्वालका फोहोरा इन्द्रेनी आकारमा घुमेर छरिन्छन् भने कुनै डोरी बटारिएजस्तै (इस्फाइरल) गरी स्वचालितरुपमा फोहोरा फालिन्छन् । त्यति मात्रै हैन कतिपय फोहोरा त शरीरमा चाप पर्नेगरी तिखोरुपमा शरीरमा दबाब पर्ने किसिमले निस्कन्छन् । ज्याकुजी गर्ने क्रममा यसरी विभिन्न आकार–प्रकारमा निस्कने फोहोरा आवश्यकताअनुसार लिन सकिन्छ । यस्ता फोहोराको आकार ज्याकुजी बाथ लिने क्रममा आफैं विभिन्न आकारमा बनाउन पनि सकिन्छ ।

ज्याकुजी ठूलोदेखि सानो आकारको हुन्छ । हेल्थ क्लब तथा प्राकृतिक अस्पतालमा तुलनात्मकरुपमा ठूलो आकारको ज्याकुजी प्रयोग हुन्छ । घर तथा होटलमा पनि सानो आकारको ज्याकुजी प्रयोग गर्न सकिन्छ । यो व्यक्ति स्वस्थ रहन घरमै प्रयोग गर्न सकिने सहज विधि हो ।

सामान्यतः हेल्थ क्लबमा चारदेखि छ जनासम्मको समूहमा ज्याकुजीमा नुहाउन सकिन्छ । त्यसैगरी सानो आकारको ज्याकुजीमा एक जनाले मात्रै  नुहाउन मिल्छ ।

मस्तिष्क जवान राख्ने ज्याकुजी
ज्याकुजीको भाँडाभित्र फोहोरा फाल्ने बीचबीचमा सप्तरंगी बत्ती जडान गरिएको हुन्छ । यस विधिमा जडित सप्तरंगी बत्तीको प्रकाशले पानीको फोहोरा नै सप्तरंगी देखिन्छ । यसरी सप्तरंगी बत्तीको प्रकाशसहितको पानीको फोहोरामा बाथ लिँदा व्यक्तिलाई शारीरिकरुपमा मात्रै हैन मानसिकरुपमा समेत रोमाञ्चित बनाई व्यक्तिको मनै प्रफुल्ति हुन्छ । जसको कारण व्यक्ति शारीरिकरुपमा स्वस्थ रहनु मात्रै नभई मानसिकरुपमा पनि खुसी रहन सक्छ । व्यक्ति खुसी रहँदा मानसिक तनावबाट मुक्त हुन्छ । यसरी मानसिकरुपमा तनावमुक्त हुँदा व्यक्तिको स्मरण शक्ति बढ्नुका साथै सृजनात्मक क्षमताको वृद्धि हुन्छ ।

सन्तुलितरुपमा ज्याकुजी गर्नाले शरीरमा व्यायाम पुगी व्यक्ति थकित हुन्छ । जसको फाइदास्वरुप व्यक्ति मस्त निदाउन सक्छ । यसरी आनन्द र मस्त निद्रा लाग्नाले शारीरिक तथा मानसिकरुपमा व्यक्ति स्वस्थ तथा मजबुत रहन सहयोग मिल्छ ।

ज्याकुजी गर्नाले मानसिक तनाव कम भई व्यक्ति डिप्रेसन, पाको उमेरमा हुनसक्ने अल्जाइमर्स जस्तो जोखिमबाट बच्न सक्छ । त्यति मात्रै हैन व्यक्तिको मस्तिष्क जवान राख्नसमेत ज्याकुजी उपयोगी प्राकृतिक जल चिकित्सा विधि हो ।

ज्याकुजी गर्नाले मस्तिष्कका नसा तथा मस्तिष्कको विद्युतीय प्रवाह लचिलो र स्वस्थ बनाउन सहयोग गर्छ, जसका कारण मस्तिष्कमा सहजरुपमा रक्त सञ्चार भई अनावश्यक तत्व जमेर रहन पाउँदैन र मस्तिष्क स्वस्थ र मजबुत रहन्छ । ज्याकुजीमा शरीर तातोपानीमा डुबेको अवस्थामा शरीरको तापक्रम बढ्दै टाउकोतर्फ प्रवाह हुन्छ । शरीरको तापक्रम बढ्दा शरीरका नसा फुलेर मस्तिष्कसम्म राम्रोसँग रक्तप्रवाह हुन्छ । मस्तिष्कमा राम्रोसँग रक्तप्रवाह हुने प्रक्रियाले मस्तिष्कमा अक्सिजन तथा पोषणको मात्रा पुगी मस्तिष्क स्वस्थ र सक्रिय रहन्छ । मानिसमा मस्तिष्क स्वस्थ तथा सक्रिय रहँदा सिर्जनशील क्रियाकलापका लागि सक्रियता बढ्छ ।

शरीर फिट, रोग कम
यस्तो विभिन्न आकारको तातो पानीको फोहोरासहितको पानीमा शरीर डुबाएर ज्याकुजीको आनन्द लिनुका साथै ज्याकुजीको फोहोराको चापले शरीरको दुखाइ कम गर्न सहयोग गर्छ । त्यति मात्रै हैन चिसो वा अन्य कुनै कारण शरीरका विभिन्न भाग सुन्निएको अवस्थामा समेत यसरी पानीको फोहोराले कम हुन्छ ।

नियमित तथा सन्तुलितरुपमा ज्याकुजी गर्नाले बाथको समस्या हुनबाट बच्नुका साथै यसको समस्यालाई कम गर्न मद्दत गर्छ । ज्याकुजीले शारीरिक व्यायाम पुग्नुका साथै शरीरको बोसो कम हुन सहयोग पुग्छ । शरीर लचिलो तथा मोटोपना कम हुनेबित्तिकै शारीरिक तथा मानसिकरुपमा लाग्ने विभिन्न किसिमका रोगबाट छुट्कारा पाउन सकिन्छ । बोसो कम हुँदा व्यक्तिको शरीर फिट रहनुका साथै व्यक्तिको सिंगो जीवन नै जवान रहन सहयोग मिल्छ । मोटोपनको कमी तथा शरीर फिट हुँदा युरिक एसिडजस्ता समस्याबाट मुक्त हुन सकिन्छ । जसले शरीरका हाडजोर्नी दुख्नेलगायतको समस्याबाट बच्न सकिन्छ ।

ज्याकुजी गर्नाले शरीरमा रक्तप्रवाह राम्रोसँग सञ्चालित भई फोक्सोमा विकारतत्व जम्न पाउँदैन अनि श्वासप्रश्वाससम्बन्धी समस्याबाट बच्न सकिन्छ । त्यति मात्रै हैन पक्षघातको जोखिमबाट समेत बच्न सकिन्छ । नियमित तथा सन्तुलित रुपमा ज्याकुजी गर्नाले रक्तचाप सन्तुलन रहन सहयोग पुग्छ । रक्तचाप सन्तुलित भएको अवस्थामा मुटुको समस्या हुनबाट बच्नुका साथै हृदयाघातको जोखिमबाट समेत बच्न सकिन्छ ।

छाला टिलिक्क
यसरी सन्तुलित तथा नियमितरुपमा तातोपानीमा ‘ज्याकुजी’ बाथ गर्नाले छालाका मांशपेशी तथा नसासमेत लचिलो हुन्छन् । तातोपानीको चापका कारण छालाका प्वाल खुल्छन् । छालाका प्वाल खुल्नाले पसिनाको माध्यमबाट छालामा भएका विकारतत्व शरीर बाहिर जान्छन् । जसले छालामा सहजरुपमा रक्तप्रवाह हुनाले पोषण तत्व पुग्न सहयोग गर्छ । छालामा सहजरुपमा आवश्यक पोषणतत्व पुग्नाले छालामा भएका विकारतत्व बाहिर गई छाला स्वस्थ भई छालाजन्य विभिन्न रोगबाट बच्न सकिन्छ ।

छाला स्वस्थ हुँदा व्यक्ति सुन्दर पनि हुन्छ । शरीरको कुम भन्दा तलको भाग ज्याकुजीको पानीमा डुबाउनाले कुमभन्दा तलको भाग मात्रै हैन । अनुहारको छालासमेत स्वस्थ हुन्छ । अनुहारको छाला स्वस्थ हुँदा विभिन्न घाउखटिरा आउने, डण्डिफोर आउने समस्याबाट बच्न सकिन्छ । शरीर स्वस्थ भएको अवस्थामा अनुहारको भागमा पनि रक्तसञ्चार सहज हुन्छ । रक्तसञ्चार सहज हुँदा अनुहारमा पोषण तत्व पुग्छ । जसले अनुहारको चमकतामा सहयोग मिल्छ ।

गर्ने तरिका र सावधानी
ज्याकुजी बाथ गर्दा केही विधि अपनाउन आवश्यक हुन्छ । ज्याकुजी गर्नुपूर्व राम्रोसँग नुहाउनु पर्छ । नुहाइसकेपछि ज्याकुजी गर्दा प्रयोग गरिने भित्री कपडा लगाउनुपर्छ । टाउकोमा चिसो टावेल लगाउनु उचित हुन्छ । त्यसपछि बिस्तारै ‘ज्याकुजी बाथटव’मा प्रवेश गरिन्छ । ‘ज्याकुजी बाथटव’ मा प्रवेश गरिसकेपछि करिब ४५ मिनेट ज्याकुजी गरिन्छ । दस–दस मिनेटको अन्तरालमा ज्याकुजीभित्र बस्दैै बाहिर निस्कनुपर्छ । ज्याकुजीमा बसेको अवस्थामा शरीरका मांशपेशी फुल्छन् र बाहिर चिसो पानीले नुहाउँदा खुम्चन्छन् । जसले शरीका विकारतत्व बाहिर जान सहयोग मिल्छ । त्यसैले ४५ मिनेट ज्याकुजीको प्रक्रिया सकेपछि अन्त्यमा चिसो पानीले नुहाउनु पर्छ ।

व्यक्ति स्वस्थ तथा फिट रहनका लागि महिनामा दुईपटक ज्याकुजी गर्नु उपयुक्त हुन्छ । ज्याकुजी गर्नेक्रममा शरीरमा व्याम पुग्ने हुनाले शरीरमा पानीको मात्रा कम हुन सक्छ । पानीको मात्रा कम हुन नदिन ज्याकुजी गर्ने क्रममै पानीमा कागती र नुन हालेर पिउनुपर्छ ।

सुरुमा ज्याकुजी गर्ने व्यक्तिले प्राकृतिक चिकित्सक तथा थेरापिस्टको सुझाव लिन आवश्यक हुन्छ । ज्याकुजी वयस्क तथा पाको उमेरका व्यक्तिले स्वस्थ, फिट तथा सुन्दर रहनका लागि सन्तुलितरुपमा गर्न सकिन्छ । बालबालिकाले ज्याकुजी नगरेकै उचित । त्यसैगरी कुनै रोगको समस्या भएका व्यक्ति तथा दीर्घ रोगको समस्या भएका व्यक्तिले चिकित्सकको सल्लाहविना ज्याकुजी गर्नु हुन्न ।


 

प्रकाशित: ७ चैत्र २०७६ ०७:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App