७ वैशाख २०८१ शुक्रबार
खेल

एपिएफका वर्ष खेलाडी पुरस्कृत

काठमाडौं- सशस्त्र प्रहरी बलले वर्षभर उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई आइतबार पुरस्कृत गरेको छ। सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले एपिएफ वर्ष खेलाडी पुरस्कारबाट विभिन्न खेलका ३१ जनालाई पुरस्कृत गरेका छन्। पुरस्कार कार्यक्रममा विभिन्न खेलका ६ खेलाडीलाई मोस्ट भ्यालुएबल प्लेयर र कराते प्रशिक्षकलाई वर्षको उत्कृष्ट प्रशिक्षकको पुरस्कार प्रदान गरियो।

करातेका सुनील लामा, बक्सिङका सरस्वती राना र पूर्णबहादुर लामा, भलिबलकी सरस्वती चौधरी, फुटबलका रञ्जन विष्ट र अञ्जन विष्टले मोस्ट भ्यालुएबल प्लेयर पुरस्कार पाए। गत वर्ष घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडी सम्मानित गरिएको सशस्त्र प्रहरीको एपिएफ क्लबले जनाएको छ।

कार्यक्रममा राईले स्पेनमा व्यावसायिक फुटबल खेल्न जान लागेका अञ्जन विष्टलाई प्रोत्साहनस्वरुप ७५ हजार रुपैयाँ प्रदान गरेका थिए। सशस्त्रले तेस्रो पटक एपिएफ वर्ष खेलाडी कार्यक्रम गरेको हो।

एपिएफ वर्ष खेलाडी हुँदै पुरस्कृत हुनेमा फुटबलका मिलन राई र अनिता बस्नेत,  भलिबलका महेन्द्र श्रेष्ठ र विनिता बुढाथोकी, क्रिकेटका वसन्त रेग्मी र करुणा भण्डारी, ब्याडमिन्टनका विशाल प्रधान र शिक्षा श्रेष्ठ, ह्यान्डबलका मनोज ठगुन्ना र उमा राई, बक्सिङका पुरन राई र माला राई छन्।

राजधानीको हल्चोकस्थित सशस्त्रको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा वर्ष खेलाडी पुरस्कार पाउनेमा करातेका विजय लामा र अनु अधिकारी, तेक्वान्दोका भरत बोहरा र अप्सरा कार्की, उसुका मंगलप्रसाद थारु र सुस्मिता तामाङ, एथलेटिक्सका गोपिचन्द्र पार्की र कान्छीमाया कोजु, टेबल टेनिसका शिवसुन्दर गोथे र सेलिसा खड्गी रहे। आइटिएफ तेक्वान्दोका श्यामकृष्ण श्रेष्ठ र जुडोकी देविका खड्काले पनि वर्ष खेलाडी पुरस्कार पाए।

महानिरीक्षक राईले खेलाडीको उच्च प्रदर्शनबाट विभागको प्रतिष्ठा बढेको बताए। उनले भने, …खेलाडीले मेहनतपूर्वक खेलेका छन्। कान्छो विभागीय टोली भए पनि एपिएफले खेलकुदमा आफ्नो नाम स्थापित गरेकोमा सशस्त्र प्रहरी गौरवान्वित छ। क्लबमा उत्कृष्ट खेलाडी रहेको एपिएफको खेलकुद नतिजाले देखाएको छ।'

कार्यक्रममा एपिएफको खेल विकासमा सहयोग गरेको अग्नी ग्रुप काठमाडौंका निर्देशक अर्जुन शर्मा, अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव धिरेन्द्र प्रधान, चौधरी ट्रेडर्सका प्रमोदप्रसाद चौधरी र आरजे स्पोटर््सका रमेश रुपाखेतीलाई कदरपत्र प्रदान गरिएको थियो।

प्रकाशित: २५ पुस २०७३ ०३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App