coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भौतिक मन्त्रालयको वित्तीय प्रगति २५ प्रतिशत

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङले आर्थिक वर्षको दोस्रो चौमासिकसम्म मन्त्रालयको भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति २५ प्रतिशत पुग्ने प्रक्षेपण गरेका छन्। मन्त्री नेम्बाङले दोस्रो चौमासिकको समीक्षाको पूर्वसन्ध्यामा मन्त्रालयले दोस्रो चौमासिकसम्म अपेक्षित ढंगले मन्त्रालयको विकास खर्च गर्न नसकेको स्वीकारेका छन्।

‘चालु आर्थिक वर्षको दोसो चौमासिकसम्म ३० प्रतिशत जति भौतिक प्रगति हुने देखिएको छ,’ मन्त्री नेम्बाङले नागरिकसँग भने, ‘वित्तीय प्रगति २५ प्रतिशत पुग्ला जस्तो छ।’ मन्त्री नेम्बाङले दोस्रो चौमासिकसम्म आउँदा पनि मन्त्रालयले सन्तोषजनक रूपमा विकास खर्च गर्न नसकेको स्वीकारे। मन्त्रालयले पटक–पटक सार्वजनिक खरिद नियमावलीको संशोधन, जाडो मौसम, रुग्ण आयोजनाको म्याद थप, निर्माण व्यवसायीको आन्दोलन लगायत कारणले लक्ष्यअनुसार कार्यसम्पादन हुन नसकेको जनायो।

भौतिक पूर्वाधार मन्त्रालयले मात्रै नभएर समग्र रूपमा सरकारले चालु आर्थिक वर्षको आठ महिना सकिँदा पुँजीगत बजेट २३.६४ प्रतिशत मात्रै खर्च गरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले यो वर्षको फागुन (आठ महिना) चालु बजेट ४७.१० र कुल बजेट ३९.८१ प्रतिशत खर्च गरेको छ। महालेखाका अनुसार फागुनसम्म सरकारले ९६ अर्ब ४७ करोड रूपैयाँ पुँजीगत बजेट खर्च गरेको छ। चालु वर्ष सरकारले चार खर्ब आठ अर्ब रूपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो। मन्त्री नेम्बाङले भौतिक पूर्वाधार निर्माणको लगि चैतदेखि असारसम्म उपयुक्त सिजन भएकाले विकास निर्माण कार्यले गति लिने दाबी गरे।

‘अब बल्ल निर्माणको उपयुक्त सिजन सुरु भएको छ,’ उनले भने, ‘अब विकास निर्माण कार्यले द्रुत गति लिनेछ।’ संघीय सरकारले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा तीन सय ६२ किलोमिटर अर्थात ३० प्रतिशत मात्रै सडक कालोपत्रे गरेको थियो। मन्त्री नेम्बाङले दोसो चौमासिकको प्रतिवेदनको विषयमा सम्भवतः बिहीबार मन्त्रालयमा छलफल भएपछि आधिकारिक तथ्यांक सार्वजनिक गर्ने बताए। अहिले लगभग सरकारले चालु आर्थिक वर्षमा १२ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको छ।

प्रकाशित: ७ चैत्र २०७६ ०३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App