coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

'लोकल रक्सी' नष्ट गर्दा सांसदकै बिरोध

खोटाङ– खोटाङमा घरेलु रक्सी जफत गरेर नष्ट गरिएकोमा आदिवासी जनजाती समुदायले चौतर्फी बिरोध सुरु गरेका छन्। विशेषगरी धनुषामा रक्सी सेवनका कारण कतिपय सर्वसाधारणले ज्यान गुमाउनु परेको भन्दै बिहिबार जिल्ला प्रशासन कार्यालय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, करदाता सेवा कार्यालय, घरेलु तथा साना उद्योग र उद्योग बाणिज्य संघले दिक्तेलबजारका विभिन्न होटलबाट लोकल रक्सी जफत गरेर नष्ट गरेपछि जनजाती समुदायबाट बिरोध आएको हो।

गाउँघरका महिलाले सामान्य आम्दानीका लागि उत्पादन गरेको रक्सीलाई स्थानीय प्रशासनले नष्ट गरेर बिदेसी बहुराष्ट्रिय कम्पनीको ह्विस्की, ब्राण्डी र बियरलाई ‘प्रमोसन’ गरेको भन्दै आदिवासी जनजाती समुदायका अगुवाले सामाजिक सञ्जालबाट बिरोध गरिरहेका छन्। लोकल रक्सीलाई बर्जित गर्ने हो भने बिदेसी ब्राण्डका रक्सीको आयत रोक्नुपर्ने उनीहरुको माग छ।

नेकपाकी नेतृ एबं प्रदेशसभा सांसद उषाकला राईले लोकल उत्पादनलाई नष्ट गरेर विदेसी ब्राण्डका रक्सीका लागि एकलौटी बजार सिर्जना गर्ने र स्वदेसी पैसा बिदेसी पुँजीपतिको हातमा पु¥याउने कामलाई प्रश्रय दिइएको सामाजिक सञ्जालमा लेखेकी छन्। ‘हाम्रो गाउँमा आमा दिदि बहिनीहरुले पकाएको कोदोको लोकल रक्सी माटोमा खनाएर बहादुरी रु बिदेशी बहुराष्ट्रिय कम्पनीबाट निर्मित बिदेशी ब्राण्डको ह्विस्की  बियर त सुरक्षित नै छ हैन साथी हो,’ प्रदेशसभा सांसद राईले व्यंग्या गर्दै सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यसरी नै हाम्रो आफ्नो स्थानीय लोकल उत्पादन माटोमा मिसाइदिउँ र बिदेशी ब्राण्डका ह्विस्की, रक्सी र बियर खाएर हाम्रै कलेजो बिगार्दै पैसा जति बिदेशमा पठाएर बिदेशी दलाल पुंजिपतिको सेवा गरौं !’
जन्मदेखि मृत्युसम्मका सामाजिक परम्पराका कार्यमा रक्सीको उपयोग हुने भएकाले रक्सी नष्ट गर्दा आदिबासी जनजाती समुदाय असन्तुष्ट बनेका हुन्।

साना उद्योगकारुपमा रहेको रक्सी उत्पादनका कामलाई कानुनीरुपमा बैधता दिने प्रवन्ध मिलाउनुको सट्टा नष्ट गरेर आदिबासी जनजातिको परम्परा र संस्कारमाथि आक्रमण गर्ने काम गरिएको नेकपाका नेता देबबिक्रम राईले लेखेका छन्। ‘मेरो घरमा पनि सात घ्याम्पा जाँड र तीन पाथी रक्सी छ,’ राईले लेखेका छन्, ‘परम्परा, संस्कृति र आवश्यकतासँग जोडिएको घरेलु मदिरालाई अवैध भन्ने छुट कसैलाई छैन।’

समाजवादीका नेतृ अञ्जना राईले पनि अवैध भन्दै घरेलु रक्सी बन्द गर्नुअघि बाहिरबाट भित्रिने महंगो मदिरा रोक्न स्थानीय सरकारलाई भनेकी छन्। नेकपाका दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटिका अध्यक्ष बिसन राईले पनि रक्सी नष्ट गरिएकामा बिरोध जनाएका छन्। दिक्तेल बजारका विभिन्न होटलबाट ९ हजार मूल्या बराबरको करिब ६० लिटर रक्सी जफत गरेर नष्ट गरिएको थियो। अवैध तरिकाले रक्सी बिक्री वितरण गर्दा राजस्व चुहावट भइरहेकाले जफत गर्नु परेको अनुगमन टोलीको भनाई थियो।

प्रकाशित: ७ चैत्र २०७६ ०३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App