७ वैशाख २०८१ शुक्रबार
विचार

कोरोनालाई हामी जित्नेछौं

गएको ३ महिनाभित्रमा संसारभरि सवा २ लाखभन्दा बढी व्यक्तिमा नयाँ कोरोना भाइरसको संक्रमण भइसकेको र  कोभिड–१९ कै कारण ९ हजार मानिसको मृत्यु हुनु साँच्चै विश्वव्यापी महाव्याधिकै स्थिति हो। तीमध्ये ८५ हजारभन्दा बढी मानिस पूरै निको भइसकेको भए तापनि अहिले पनि सवा लाखजति मानिसमा भाइरस सक्रिय नै छ र तीमध्ये ७ हजार जनाजति त गम्भीर स्थितिमै छन्। अनि संक्रमितको संख्या अझै बढ्दो क्रममै छ।

यो आतंक सुरु भएको ३ महिना भइसक्दा पनि नेपालमा भने एक जनामा मात्र संक्रमण फेला परेको छ। ती व्यक्तिले पनि उहिल्यै स्वास्थ्यलाभ गरिसकेका छन्। तर यसमा हामी खुसी नै हुन भने सकिरहेका छैनौं। बरु धेरै मानिस आश्चर्यमा परेका छन्। कतिले यो आँकडालाई पत्याएका छैनन्, अब तत्कालै कति बेला संक्रमणको विस्फोट हुने हो भन्ने भय धेरैमा छ, जुन स्वाभाविक पनि हो। एक अर्थमा यसलाई नागरिकमा स्वास्थ्यसम्बन्धी चेत र चासो बढेको प्रमाण मान्दा पनि हुन्छ। तर यो चेत र चासोलाई सन्त्रासमा होइन, सुसूचित सचेतनामा कसरी अनुदित गर्ने भन्ने कुरा अहिलेको एउटा प्रमुख चुनौती हो।

यति ठूलो विश्वव्यापी महाव्याधि जहाँबाट पनि सुरु हुन सक्थ्यो, हाम्रो छिमेकी देशबाट सुरु हुनु संयोग मान्न सकिन्छ। चीनसँग सीमा जोडिएको र प्रशस्त आउजाउ भएको हुँदाहँुदै पनि हाम्रोजस्तो सानो मुलुकमा तीन/तीन महिनासम्म अत्याइहाल्ने स्थिति भएन। प्रकोपले विश्वव्यापी महाव्याधिको रूप लिउन्जेलसम्ममा हामीले यतिको समय पाउनु पनि एक किसिमले सौभाग्य हो भन्दा हुन्छ। संसारमा हरेक कालखण्डमा विभिन्न महाव्याधि देखापर्नेगरेका छन्। हामी बाँचेको यो कालखण्डमा विश्वका जुनसुकै एक कुनाबाट अर्को जुनसुकै कुनासम्म सजिलै र अत्यन्त छोटो समयमा आवागमन गर्न सम्भव भएकाले रोगव्याधिले पनि सजिलै विश्वव्यापी रूप धारण गर्न सक्ने सम्भावना बढेको छ।

आशा गरौं– केही दिनभित्रै हामी ‘सर्भिलेन्स सिस्टम’ उपयोग गर्ने स्थितिमा पुग्नेछौं र नागरिक तहबाट समेत अरू अझै प्रभावकारी उपाय सिर्जना हुनेछन्।

तर अर्कातिर शताब्दीऔं पहिलेजस्तो कुनै उपाय नै नदेखिने स्थिति भने छैन आज।  मानिसले अहिलेको यो महाव्याधिविरुद्धको लडाइँमा केही हदसम्म विजय पनि प्राप्त गरिसकेको छ। एकैचोटि नयाँ रूपमा देखापरेको र नयाँ चरित्र भएको कोरोना भाइरससँग जुझ्ने क्रममा चिनियाँले भने ठूलो मेहनत गर्नुप¥यो। सुरुका दिनमा बेलैमा रोगको गम्भीरता बुझ्ने कुरामा केही कमजोरी पनि रहे। तर पछि उनीहरूले गरेका सक्रिय प्रयत्नका कारण आफू मात्र जोगिएनन्, संसारकै निम्ति उपयोगी हुने महŒवपूर्ण अनुभव पनि हासिल गरे। यी प्रयत्नलाई पश्चिमाले गर्नुसम्म गाली गरे, उडाउनसम्म उडाए। हुँदाहुँदा त्यही लहैलहैमा लागेर हामीकहाँ समेत धेरैले चीनका प्रयत्नलाई अप्रजातान्त्रिक र मानव अधिकारविरोधी भन्न बाँकी राखेनन्।

अझै पनि सामाजिक सञ्जाल हेर्ने हो भने चीनद्वेषी अभिव्यक्तिको कमी छैन। तर उनीहरूकै यत्नका कारण पनि संसारलाई व्याधि रोकथामका लागि महत्वपूर्ण अनुभव प्राप्त भएको छ। सुरुको अवधिमा उनीहरूले गरेका ढिलाइबाट पनि शिक्षा प्राप्त भएको छ। ढिला गर्दा कति नोक्सान हुने रहेछ भन्ने शिक्षा त अहिले पश्चिमा देशकै अनुभवबाट पनि प्राप्त भइरहेकै छन्। उनीहरूका कुरा छोडेर आफ्नै कुरा गर्ने हो भने हाम्रा निम्ति यतिबेला संक्रमित मानिस कसरी पत्ता लगाउने, पत्ता लागेपछि कसरी अरूसँगको लसपस रोक्ने, हरेक व्यक्ति आफैं कसरी जोगिने, बेस्सरी नै थलापरेका बिरामीलाई कसरी उपचार गर्ने आदि विषय महŒवपूर्ण बनेका छन्। यी विषयबारे हामीलाई कम्तीमा सैद्धान्तिक तहमा धेरै थाहा भइसकेको छ। राम्रा उदाहरणबाट सिक्ने र भएका गल्तीबाट जोगिने सुविधा पनि हामीले पाएका छौं। यति त राम्रै कुरा हो।

तर नेपाली जनतामा चिन्ता पनि बढेको छ र यो चिन्ताले सन्त्रासकै रूप लिन थालेको छ। यसका पनि जायज कारण छन्। कुनै पनि अन्तर्राष्ट्रिय ‘प्रगतिशील’ निर्णय, सन्धि, सम्झौतामा हस्ताक्षर गर्ने काममा नेपाल दशकौंदेखि अग्रपंक्तिमै रहने गरेको छ। तर विभिन्न विषयमा सैद्धान्तिक स्पष्टता जति भए तापनि व्यावहारिक कार्यान्वयन भने चाहेजस्तो प्रायः हुने गरेका छैनन्। अहिले पनि सरकारी संयन्त्रमा कोभिड–१९ बारे देखापरेको जागरुकता बेसै छ। तर यो सैद्धान्तिक बढी र व्यावहारिक कम नै देखिन्छ। विमानस्थललगायत नाकामा गर्नपर्ने निगरानीकाबारे सैद्धान्तिक हिसाबले सरकार एकदम सचेत छ, तर बाहिरबाट आउने यात्रुको व्यावहारिक निगरानीमा भने कमजोरी रहेको कुरा विभिन्न किसिमले देखापरिरहेकै छन्। राज्यइतर कर्तासँग सहकार्य, सहयोग लिएर मात्र कोरोनाविरुद्धको लडाइँमा विजय प्राप्त गर्न सकिन्छ भन्ने कुरामा सरकार स्पष्ट नै देखिन्छ, सैद्धान्तिक रूपमा। तर व्यवहारमा यस्तो सहकार्य र सहयोग कसरी गर्ने त भन्नेबारे स्पष्टता अभाव भने निकै देखिन्छ। यो लडाइँमा अग्रपंक्तिमा रहने त चिकित्सकलगायत स्वास्थ्यकर्मी नै हुन्छन्। सीमित संशाधन, संरचना, अप्ठेरो परिस्थितिबीच पनि रातदिन खटिरहेका उनीहरूका सुरक्षालगायत समस्याबारे हुनुपर्ने जति संवेदशीलता राज्यका उच्च तहमा अझै देखिएको छैन।

अहिलेसम्म देशमा जम्मा एक जना मात्रै संक्रमित देखापर्नु र उनले पनि स्वास्थ्यलाभ गरिसकेको सूचना सुखद नै भए तापनि कतै भुसको आगोझैं भित्रभित्रै संक्रमण फैलिँदै छ र विस्फोट हुन मात्र बाँकी भएको स्थिति त होइन भन्ने कुरा अहिलेको प्रमुख चिन्ता हो।

यी यावत् विषयमा राज्यलाई अझै सचेत गराइरहनुपर्ने स्थिति पटक्कै नभएको होइन। तर नागरिक समाजमा महŒवपूर्ण भूमिका खेल्नुपर्ने, खेल्न सक्ने नागरिकले सरकारलाई गाली मात्रै गर्नुको भने कुनै अर्थ छैन। बरु प्रतिपक्षी दलमा यो संकटको घडीमा पनि सरकारसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ र साझा शत्रुका रूपमा देखापरेको महाव्याधिसँगको लडाइँमा एकताबद्ध भएर सँगसँगै हिँड्नुपर्छ भन्ने जुन संकल्प देखिएको छ, त्यसमा हामी खुसी हुनुपर्छ।

अहिलेसम्म देशमा जम्मा एक जना मात्रै संक्रमित देखापर्नु र उनले पनि स्वास्थ्यलाभ गरिसकेको सूचना सुखद नै भए तापनि कतै भुसको आगोझैं भित्रभित्रै संक्रमण फैलिँदै छ र विस्फोट हुन मात्र बाँकी भएको स्थिति त होइन भन्ने कुरा अहिलेको प्रमुख चिन्ता हो। तर यो चिन्तामै डुबेर बस्नुको त कुनै कामै  छैन। आआफ्ना तर्फबाट क–कसले के गर्ने यस्तो स्थितिमा भन्ने प्रमुख कुरा हो। अहिले सबभन्दा महत्वपूर्ण कुरा भनेकै कुनै पनि व्यक्तिमा यो व्याधिका प्रमुख लक्षणमध्ये केही मात्र देखापरे पनि अथवा कोही संक्रमित हुने उच्च जोखिममा छन् भने उनीहरूको उचित निगरानी थाल्नु हो। देशमै सम्भव भएका प्रविधिलाई मात्र तत्काल उपयोग गर्न थाले पनि हजारौंको ज्यान जोगाउन सकिन्छ। केही राम्रा प्रयत्न भैरहेकै पनि छन्, जस्तै ः सूचना–प्रविधिमा काम गर्ने केही मित्र र वर्तमान महाव्याधि रोकथाम गर्न लागिपरेका चिकित्सक आपसमा सहकार्य गर्दै यस्ता ‘सर्भिलेन्स’ प्रणाली विकास गर्न लागिसकेका छन्। सोचेजस्तै गरी काम बढेमा केही दिनमै यस्तो प्रणालीले काम गर्न सक्ने आशा गर्न सकिन्छ। सम्भवतः असल मानिसका अन्य समूहले पनि कोरोनाविरुद्धको लडाइँको तयारीका रूपमा यस्तै अन्य काम गरिरहेका होलान्।

अहिल देशका नागरिकको ठूलो समूहसँग स्मार्ट फोन छ। जोसँग छैन, उनीहरू पनि आवश्यक पर्दा सजिलै अरूको मद्दत लिन सक्छन्। ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिनाइ, अति थकावट, आदिमध्ये एक वा बढी लक्षण देखापर्नेबित्तिकै स्मार्ट फोनबाट निश्चित कल सेन्टरमा खबर गर्ने बन्दोबस्त मिलाउने हो भने कुन ठाउँबाट खबर आएको हो भन्ने तत्काल पत्ता लाग्न सक्छ। अहिलेको यो विशिष्ट परिस्थितिमा त्यस ठाउँको वडा कार्यालयमा सजिलै खबर गर्न सकिन्छ। वडाभरि कहाँ कहाँ कुन कुन लक्षण भएका बिरामी छन् भन्ने थाहा पाउन सकिन्छ। ती बिरामीलाई बाहिर आवतजावत गर्ने क्रमबाट रोक्न सकिन्छ। लक्षण थपिँदै गएको कुरा निगरानी केन्द्रमा पुगिरहेकै हुन्छ र त्यहाँको ‘ड्यासबोर्ड’मा रहेका तथ्यांकका आधारमा सबैको स्थिति अनुगमन गर्न मिल्छ। परिस्थिति बिग्रिँदै गएका बिरामीलाई निर्दिष्ट स्वास्थ्य केन्द्रमा लगेर विशेष स्वास्थ्य सेवा दिने र अरू सामान्य स्थितिमा रहेकालाई अलग्ग (आइसोलेसन) मा मात्रै राखेर उपचार गर्दा पनि हुन्छ। कोरिया वा सिंगापुरमा जस्तो तत्काल ठूलो मात्रामा परीक्षण गर्न आवश्यक संख्यामा ‘किट’ नभएकै स्थितमा समेत यति मात्र गर्न सकियो भने पनि बेलैमा संक्रमण पत्ता लाग्ने, शंका धेरै भएकामा सीमित परीक्षण सुविधाको समुचित प्रयोग हुने र साँच्चै सघन उपचार चाहिने बिरामीलाई उपचार दिने काम हुन सक्छ।

यसो गर्न सकियो भने अहिलेको यो व्याधि कसरी रोकथाम गर्ने भन्ने मात्र होइन, पछिका लागि पनि सिंगै देशलाई काम लाग्ने जनस्वास्थ्यका प्रभावकारी नमुना विकास गर्न सकिनेछ। यसो भयो भने साँच्चै समाजवाद–उन्मुख लोकतान्त्रिक संघीय गणतन्त्र पाएको अनुभूति नेपाली जनताले गर्न सक्नेछन्। स्वास्थ्य मन्त्रालयले यो परिकल्पनामा नागरिक समाजसँग सहयोग गर्न पक्कै आनाकानी नगर्ला। कथम् कदाचित् त्यस्तो भइहालेछ भने पनि नागरिक समाजबाटै समेत यस्तो प्रविधि उपयोग गर्ने निगरानी केन्द्र खडा गर्न सकिन्छ। विभिन्न कार्यालय, कम्पनी आदि संस्थाले आफ्ना कर्मचारी र तिनका परिवारका निम्ति मात्रै यस्तो निगरानी केन्द्र स्थापना गरे पनि धेरै संक्रमित बेलामै फेला पर्ने सक्छन् र थप संक्रमण नियन्त्रण हुन सक्छ।

आशा गरौं– केही दिनभित्रै हामी यस्तो ‘सर्भिलेन्स सिस्टम’ उपयोग गर्ने स्थितिमा पुग्नेछौं र नागरिक तहबाट समेत अरू अझै प्रभावकारी उपाय सिर्जना हुनेछन्। यो नयाँ कोरोना भाइरसविरुद्ध एक भएर लड्नुको विकल्प छैन। हातेमालो गरौं, एक भएर लडौं र विश्वास गरौं– हामी जित्नेछौं।

प्रकाशित: ७ चैत्र २०७६ ०३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App