काठमाडौं- ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसिए)ले बंगलादेशको दिनजपुरमा हुने शेख रूसेल श्रीती क्रिकेट प्रतियोगिता खेल्ने भएको छ। बिहीबारदेखि ८ दिन चल्ने प्रतियोगितामा १० क्लब सहभागी छन्। तीमध्ये बंगलादेशका ८ क्लब तथा नेपाल र भारतका १/१ क्लबले खेल्ने जिएचसिएले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ। सबै टोलीले एकअर्काविरुद्ध १ खेल खेल्नेछन्। शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
इशान पाण्डेको कप्तानीमा सोमबार बंगलादेश जाने जिएचसिए टोलीमा प्रदीप टन्डन, रमन पोखरेल, सुशन श्रेष्ठ, सन्दीप गोइत, रविकुमार शाह, मोहम्मद अलज मन्सुरी, अनुप श्रेष्ठ, प्रशान्त खत्री, विपिन उपाध्याय, सुमन हुमागाइँ, विशांक सुवेदी, शाश्वत पौडेल, रोसेश पाण्डे, दीपक बोहरा, दिपेश पौडेल, सुनिल महर्जन, प्रितम केसी, आशुतोष घिरिया, सागर ढकाल छन्। प्रशिक्षकमा सुदीप शर्मा र व्यवस्थापकमा सुमनराज कार्की छन्।
टोलीमा १४ सिनियर र ६ जुनियर खेलाडी छन्। प्रतियोगितामा खेल नभएका दिन ६ जुनियर र ५ सिनियर खेलाडी सम्मिलित टोलीले ४ अभ्यास खेल खेल्ने प्रशिक्षक शर्माले जानकारी दिए। शर्माले त्यसबीच जुनियर खेलाडीलाई बंगलादेशको राष्ट्रिय स्तरका प्रशिक्षकले प्रशिक्षण दिने बताए।
‘हाम्रा युवा खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजर दिन बंगलादेश जान लागेका हौं। यस भ्रमणबाट टेस्ट राष्ट्रले कसरी क्रिकेट खेल्छन् हाम्रा खेलाडीले बुझ्ने अवसर पाउने विश्वास लिएका छौं,’ प्रशिक्षक शर्माले भने, ‘यसले खेलाडीलाई भविष्यमा उच्च स्तरीय क्रिकेट खेल्न सघाउनेछ।’
प्रकाशित: २५ पुस २०७३ ०३:२२ सोमबार