coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

प्रभाव र राहतमा अध्ययन गर्दै सरकार

काठमाडौं, – कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुकको अर्थतन्त्रमा परेको असरबारे सरकारले अध्ययन सुरु गरेको छ। प्रभावित क्षेत्रलाई कसरी राहत दिने भन्ने योजना बनाउन पनि अर्थ मन्त्रालयले अध्ययन सुरु गरेको हो।‘कोरोनाका कारण अर्थतन्त्रमा कस्तो असर परेको छ ? कुनकुन क्षेत्र बढी प्रभावित भएका छन् ? गहन अध्ययन गरी सुझावसमेत दिन अनुसन्धान सुरु गरिएको छ,’ अर्थसचिव शिशिरकुमार ढुंगानाले बिहीबार नागरिकसँग भने, ‘अध्ययनले जस्तो नतिजा देखाउँछ त्यसैअनुसार सरकारले राहतका लागि कदम चाल्नेछ।’

उनका अनुसार कोरोना प्रभावको अनुसन्धान अर्थतन्त्रका सबै पाटोमा गरिनेछ।अर्थसचिव ढुंगानाले राहतका लागि यति रकम भनेर घोषणा गर्नेभन्दा पनि जुन क्षेत्र बढी प्रभावित छ, त्यसका लागि विभिन्न सहुलियत प्याकेज कार्यक्रम सरकारले ल्याउन सक्ने बताए। उनले प्याकेजको ढाँचा पनि अनुसन्धानपछि तय हुने जानकारी दिए। ‘उद्यमी व्यवसायीलाई कर्जाको साँवा, ब्याज र सरकारलाई तिर्ने राजस्वको समय केही पर सारेर पनि राहत दिन सकिन्छ,’ सचिव ढुंगानाले भने, ‘अन्य आर्थिक राहतको विषय भने अनुसन्धानले देखाउने नतिजामा भरपर्नेछ।’अर्थमन्त्री युवराज खतिवडाले सरकारको बिहीबारे नियमित पत्रकार सम्मेलनमा कोरोनाका कारण अहिले सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएको बताएका थिए। उनले मुलुकको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा पर्यटन क्षेत्रको अंश ३ प्रतिशतमात्र भएको भन्दै यसले अर्थतन्त्रमा धेरै असर नगर्ने बताएका थिए।कोरोना पुगेका विश्वका धेरै मुलुकले यसविरुद्ध लड्न, उद्योगी व्यवसायी एवं सर्वसाधारणलाई राहत दिन अर्बौं रुपैयाँ घोषणा गरेका छन्।

यस्तै विश्व स्वास्थ्य संगठन, विश्व बैंकजस्ता विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाले पनि कोरोनाविरुद्ध खर्बौं रुपैयाँ सहयोग गरेको बताएका छन्।अर्थतन्त्रबारे अध्ययन अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय निकायले यो भाइरसका कारण यो वर्ष विश्व अर्थतन्त्रमा १.५ प्रतिशत विन्दुले कमी आउने अनुमान गरेका छन्। नेपालमा भने यसको असरबारे अझै अध्ययन भएको छैन। कोरोनाबाट अति प्रभावित चीनलगायत अन्य मुलुकसँगको व्यापारिक, आर्थिक र सामाजिक सम्बन्धका कारण नेपालको आर्थिक वृद्धिदरमा पनि असर पर्ने निश्चित छ। सरकारले चालु आर्थिक वर्षको बजेटमा साढे आठ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने तय गरेको थियो।

प्रकाशित: ७ चैत्र २०७६ ०२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App