७ वैशाख २०८१ शुक्रबार
समाज

६ महिनामा १० नवजात शिशुको मृत्यु

खोटाङ – जिल्लामा विगत ६ महिनामा १० नवजात शिशुको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ। मातृ तथा नवजात शिशुको स्वास्थ्य सुदृढिकरणका क्षेत्रमा काम गरिरहेको वनहर्ट वल्डवाइडले चालु आर्थिक वर्षको कात्तिकदेखि हालसम्मको अवधिमा एक जना मातृ मृत्यु र १० नवजात शिशुको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको हो। 

जिल्ला समन्वय समितिको सभाहलमा बुधबार आयोजित जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा वनहर्ट वल्डवाइडका जिल्ला संयोजक सुर्य उप्रेतीले जनचेतनामुलक कार्यक्रमका वावजुद दुरदराजका आमा र नवजात शिशुले अहिले पनि अकालमा ज्यान गुमाइरहेको जानकारी दिए। चालु आर्थिक वर्ष २०७६/०७७ मा कुल २९ नवजात शिशुको मृत्यु भएको जनाइएको छ। वनहर्टका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ३ मातृ तथा ३४ नवजात शिशुको मृत्यु भएको थियो। 

दुई स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर 

विगत ६ महिनाको अवधिमा वनहर्ट वल्डवाइडले दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरी र बराहपोखरी गाउँपालिका–१ बराहपोखरी स्वास्थ्य चौकीको वर्थिङ सेन्टर मर्मत सम्भार तथा निमार्णमा सहयोग गरेको जनाएको छ। कुल १४ लाख ८२ हजार ९९८ रुपैयाँको लागतमा सप्तेश्वर छितापोखरी बर्थिङ सेन्टर मर्मत तथा निर्माण गरिएकामा गाउँपालिकाको ३६.५४ प्रतिशत र वनहर्ट वल्डवाइडको ६३.४६ प्रतिशत खर्च भएको जानकारी दिइएको छ। यस्तै, बराहपोखरीमा २७ लाख १७ हजारमा निर्माण गरिएको बर्थिङ सेन्टरका लागि गाउँपालिकाको ४७.३१ प्रतिशत (१२ लाख ८५ हजार ८ सय) र वडहर्ट वल्डवाईडको ५२.६९ प्रतिशत (१४ लाख ३१ हजार ६३३) खर्च भएको छ। सप्तेश्वर छितापोखरी र बराहपोखरीमा गर्भजाँच, सुत्केरी गराउने, सुत्केरी स्याहार कक्ष, सालनाल व्यवस्थापन गर्ने खाल्डो, शौचालय, वाथरुम, प्रतिक्षालय लगायतका संरचना सहितको बर्थिङ सेन्टर निर्माण गरिएको हो। 

बर्थिङ सेन्टर र गाउँघर क्लिनिकलाई उपकरण 

मातृ तथा नवजात शिशुको जीवन रक्षाका लागि वनहर्ट वल्डवाइडले जिल्लाका १६ वटा बर्थिङ सेन्टर र ८ वटा गाउँघर क्लिनिकलाई आवश्यक उपकरण प्रदान गरेको छ। वनहर्टले पाँच वर्थिङ सेन्टरलाई उपकरण तथा ११ वर्थिङ सेन्टरलाई सोलार सुटकेश सहयोग गरेको हो। दिप्रुङ चुईचुम्मा गाउँपालिकाको छोरम्बु, टेम्मा र याम्खा, हलेसी तुवाचुङ नगरपालिकाको सल्ले र केपीलासगढी गाउँपालिकाको सुंदेलस्थित बर्थिङ सेन्टरलाई आवश्यक उपकरण सहयोग गरेको वनहर्टले जनाएको छ।

यस्तै, बुईपा, चिउरीडाँडा, धितुङ, मात्तिम, इन्द्रेणीपोखरी, साँवाकटहरे, वराहपोखरी, सुन्तले, खार्पा, फेदी र सुङदेलस्थित बर्थिङ सेन्टरलाई सोलार सुटकेस प्रदान गरिएको उप्रेतीले बताए। वन हर्टले सावाकटहरे, बराहपोखरी, राखाबांदेल, टेम्मा, बडहरे, कुभिण्डे, खिदिमा र निर्मलीडाँडास्थित गाउँघर क्लिनिकलाई पनि आवश्यक औजार समेत प्रदान गरेको जनाएको छ।

यस अवधिमा एक नर्सिङ स्वास्थ्यकर्मीलाई २ महिने दक्ष प्रसूती तालिम र ७ जनालाई २१ दिने ग्रामीण अन्ट्रासाउण्ड सम्बन्धी तालिम दिएर पोर्टेवल ग्रामीण अल्ट्रासाउण्ड मेसिन प्रदान गर्ने तयारी भइरहेको उप्रेती जानकारी दिए। 

प्रकाशित: ६ चैत्र २०७६ १२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App