७ वैशाख २०८१ शुक्रबार
राजनीति

अनुदान रकम वास्तविक किसान कहाँ पुर्याउन उपराष्ट्रपतिकाे निर्देशन

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायिकरण र यान्त्रिकीकरणले मात्र दिगो कृषि विकास हासिल हुन सक्नेमा जोड दिएका छन्। प्रथम युवा कृषि उद्यम सम्मेलनको साेमबार ललितपुरमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपालीको समृद्धिको आधार कृषि क्षेत्र भएकाले कृषिको विविधिकरण आजको प्रमुख आवश्यकता भएको बताए।

दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले जमिनको खण्डीकरण रोक्न, बाँझो जमिनको उपयोगिता, कृषिमैत्री वातावरण, कृषिमा सहुलियत ऋण र युवालाई कृषिमा आकर्षित गर्न सरकारलाई निर्देशन दिनुभयो । उहाँले कृषि क्षेत्रको नेतृत्व युवा वर्गले लिनुपर्ने बताउँदै कृषि लगानीमा वृद्धि गर्नुपर्ने, उन्नत जातको मल बीउबिजन र अनुदान रकम वास्तविक किसानको हातमा पुर्याउनुपर्ने बताए।

युवालाई कृषिमा आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न ५० जिल्लाका १६० युवाको सहभागिता छ। कार्यक्रममा कृषि विज्ञले आ–आफ्नो क्षेत्रको कार्यपत्र पेस गर्नुहुने आयोजकको भनाइ छ। कार्यक्रममा कृषि विकासमन्त्री हरिबोलप्रसाद गजुरेलले कृषिमा आश्वासन नभई प्रतिबद्धताको खाँचो आैंल्याउँदै युवाको आकर्षणबिना कृषिको दिगो विकास असम्भव प्रायःरहेको बताए।

उनले दिगो कृषि विकास हासिल गर्न सरकारले किसानलाई निवृत्तिभरण, बाँझो जमिनको उपयोगिता र कृषिलाई पकेट क्षेत्रका रुपमा विकास गर्ने नीति लिएको जानकारी दिए। कृषिमन्त्री गजुरेलले छिट्टै फलफूल दशक घोषण गर्ने नीति सरकारको भएको बताउँदै जमिन बाँझो राख्नेलाई बाँझो नराख्न र अरुलाई खेती गर्न दिन आग्रह गर्ने, त्यसपछि पनि नमाने सरकारले उत्पादनको १० प्रतिशत नाफा दिई जग्गा सरकारले टेन्डरमार्फत खेती गर्न इच्छुक व्यक्तिलाई दिने बताए।

कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३४ प्रतिशत योगदान छ। राष्ट्रिय कृषि गणना–२०६८ ले १० वर्षमा १ लाख २९ हजार हेक्टर उर्वर जमिन बाँझो भएको तथ्याङ्कमा उल्लेख छ भने एक लाख १६ हजारले आफ्नै जमिन नभएका कारण कृषि पेसा गर्न नपाएको उल्लेख छ ।

कार्यक्रममा नेपालका लागि इजरायली राजदूत यार्क मायोरले नेपालको कृषि क्षेत्रमा प्रचुर सम्भावना रहेको बताउँदै कामप्रतिको प्रतिबद्धता हासिल गर्न युवा वर्गमा सीप र जाँगरको आवश्यकता रहेको बताए। उनले नेपालको कृषि क्षेत्रको विकासका लागि इजरायली सरकारले सक्दो सहयोग गर्ने बताउँदै इजरायलबाट फर्किआएका युवाले नेपाली कृषिमा गोलबद्ध हुनुपर्ने बताए।

फोरएच नामको गैरसरकारी संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष लोकराज अवस्थीले कृषि क्षेत्रमा किसानको आकर्षणलाई प्रविधिमार्फत फैलाउने उद्देश्यबाट कार्यक्रमको आयोजना गरिएको बताए। गाउँघरमा अझै पनि छोराछोरीले पढेनन् भने हलो जोत्नुपर्ला है भन्ने उखान कायम छ। सो उखानलाई अवास्तविक पार्न कार्यक्रम सफल हुने आयोजकले विश्वास गरेका छन्। रासस

प्रकाशित: २० असार २०७३ १२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App