८ वैशाख २०८१ शनिबार
समाज

सुनसान बन्यो रसुवागढी नाका

सुनसान अवस्थामा रसुवागढी नाका। तस्बिर: हिमनाथ/नागरिक

रसुवा – नेपाल–चीन जोड्ने मितेरी पुलको ढोका खुलेको छ। रसुवागढी नाकावारि नेपाली सुरक्षाकर्मी र पारि चिनियाँ सुरक्षाकर्मी देखिन्छन्। नाकानजिकै ६/७ वटा कन्टेनर पनि तयारी अवस्थामै राखिएका छन्। नाकामा कतिबेला आवतजावत गर्न पाइएला भनेर ती गाडी त्यहाँ राखिएका हुन्। डेढ महिनाअघिसम्म व्यस्त यो सडक अहिले खुला छ। मानिसको आवतजावत न्यून छ। होटलहरू बन्द छन्। सरकारी कार्यालय, बैंक खुले पनि सेवाग्राही छैनन्।

विश्वव्यापी रूपमा महामारी बनेर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नाका बन्द भएपछि रसुवागढी सुनसान बनेको छ। त्यहाँका व्यवसायी पदम रुम्बाका अनुुसार एक महिनादेखि व्यापार ठप्प छ। ‘अब नाका नखुल्दासम्म व्यापार हुँदैन,’ उनले भने।

रसुवाका प्रजिअ अर्जुन भण्डारीले नाका अझै केही समय नखुल्ने बताए। नाका खोल्ने विषय सामान्य नभएको र त्यसका लागि केन्द्रस्तरबाटै निर्णय हुनुपर्ने उनको भनाइ छ। ‘चिनियाँ पक्ष नाका खोल्न तयार छ,’ उनले भने, ‘चीन कोरोनामुक्त भइनसकेका कारण नाका खोल्दा जोखिम हुने सम्भावना छ।’ तर विभिन्न रणनीति अपनाएर नाका खोल्न सकिने उनले बताए। उनका अनुसार नाका सञ्चालनपछि हुन सक्ने जोखिम, सवारी तथा मानिसको चाप, आएका व्यक्तिको स्वास्थ्य परीक्षणलगायतको विश्लेषण गर्नुपर्छ। चिनियाँ पक्षले नाका कति दिनमा खुल्छ भनेर पत्र पठाएको छ भने जिल्ला प्रशासन कार्यालयले जिल्लाको वस्तुगत अवस्थाबारे गृह मन्त्रालयमा आफ्नो धारणा राखिसकेको छ।

नाका सञ्चालनमा आए केरुङबाट रसुवागढीसम्म र रसुवागढीदेखि काठमाडौंसम्म छुट्टै चालकको व्यवस्था गर्नुपर्ने र नाकानजिकैका तीनवटा होटल भाडामा लिएर आइसोलेसन बनाउनुपर्ने प्रजिअ भण्डारीले बताए। रसुवागढी नाकानजिकै प्रिफ्याम भवन निर्माण भइरहेको छ। वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा उक्त भवन निर्माण भइरहेको हो। अस्पताल विकास समिति रसुवाका अध्यक्ष रामशरण कुइँकेलले अबको १० दिनमा निर्माण सकिनेगरी काम भइरहेको बताए। यो भवन ३९ लाख ५० रुपैयाँको लागतमा बनिरहेको छ।

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायत सामग्री आयात हुने गरेको छ भने बाँसको मुढा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ।

प्रकाशित: ६ चैत्र २०७६ ०२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App