coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

सरकारको निर्णयलाई फिल्म हल सञ्चालकको समर्थन

काठमाडौं - संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर फिल्म हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गर्ने निर्णय गरेलगत्तै सम्बन्धित सञ्चालक र कलाकर्मीहरू समर्थन जनाएका छन्।

बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बैठकले निर्णय गरेसँगै फिल्म हल, ग्यालरी र क्ल्ब सञ्चालकहरूले आकस्मिक छलफल गरेर बिहीबार (आज)देखि लागु हुने सम्पूर्ण गतिविधि स्थगित गरेका छन्।

समितिको बैठकले फिल्म हल, सांस्कृतिक केन्द्र, क्लब, म्युजियम र मनोरञ्जन स्थललगायतलाई आगामी वैशाख १८ सम्म बन्द गर्ने निर्णय गरेको थियो। यसको अनुगमन गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने बताइएको छ। समितिले सांस्कृतिक र सामाजिक कार्य बन्द गर्ने निर्णय गरेसँगै सबै गतिविधि प्रभावित हुने भएका छन्।

नेपाल चलचित्र संघले बिहीबारदेखि लागु हुने गरेर देशभरका सम्पूर्ण फिल्म हलहरू बन्द गर्दैछ। नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानका अनुसार सरकारको निर्देशनलाई समर्थन गर्दै देशभरका एक सय ७० भन्दा बढी फिल्म हलहरू बिहीबारदेखि बन्द हुने बताए। ‘संसारभर फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले उच्च सतर्कता अपनाएर फिल्म हलसहित मनोरञ्जनात्मक स्थल बन्द गर्नु भएपछि हामीले निर्देशन पालना गर्नुपर्छ,’ उनले भने, ‘बिहीबारदेखि देशभरका एक सय ७० भन्दा बढी फिल्म हलहरू बन्द हुनेछन्।’

यसअघि फिल्म हल सञ्चालकहरूले फिल्म हेर्न आएका दर्शकलाई कोरोना भाइरसको संक्रमण हुन नदिन सेनिटाइजर लोसन, पाउडर र स्प्रे प्रयोगमा ल्याइरहेका थिए। हालको अवस्थामा व्यापारभन्दा सर्वसाधारणको स्वास्थ्य महत्वपूर्ण भएकाले सरकारको निर्देशनको पालना गर्न निर्देशक अशोक शर्माले आग्रह गरेका छन्। ‘व्यापारभन्दा सर्वसाधारणको स्वास्थ्य महत्वपूर्ण हो। बिहीबारदेखि सम्पूर्ण फिल्म हलहरू बन्द हुनेछन्,’ उनले भने, ‘हालको अवस्थामा सतर्कता अपनाउन आवश्यक रहेको छ।’

सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले सरकारको निर्देशनको पालना गर्दै तत्काल नेपाली कला र संस्कृति झल्कने केन्द्रका रूपमा विकसित हुँदै गएको राष्ट्रिय नाचघर बन्द हुने जानकारी गराए। ‘सरकारको निर्देशनअनुसार तत्काल सम्पूर्ण कार्यक्रम र गतिविधिहरू रद्द भएका छन्। पछिल्लो समय गरिहाल्नु पर्ने प्रकृतिबाहेकका कार्यक्रमहरू रद्द भइरहेका थिए,’ उनले भने, ‘सांस्कृतिक केन्द्रले कार्यक्रमको तयारी गरिरहेको थियो। तत्काल सो कार्यक्रमका तयारीहरू रोकेका छौं।’

निर्माता अर्जुन कुमारले सरकारको निर्देशनसँगै आगामी चैत २८ मा प्रदर्शन हुने भनिएको ‘चपली हाइट ३’ को रिलिज मिति सार्ने भएका छन्। ‘व्यापारभन्दा सर्वसाधारणको स्वास्थ्य महत्वपूर्ण हो। अहिलेको स्थितिमा सावधानी अपनाउनु जरुरी भएको छ। सरकारले गरेको निर्देशनसँगै चपली हाइट ३ को रिलिज मिति सारेका छौं,’ उनले भने, ‘फिल्मको रिलिज मिति सारिएसँगै खर्च र बैकको ब्याज बढेको छ।’

अधिकांश क्ल्ब र मनोरञ्जन स्थलहरू बिहीबारदेखि बन्द हुने भएपनि सञ्चालकहरू कर्मचारीलाई छुट्टी दिने भएका छन्। ठमेलस्थित क्लब लर्ड अफ द ड्रिंक्स (एलओडी) मा कार्यरत कर्मचारीलाई छुट्टी दिएर बेलाबखत बोलाइने जानकारी सञ्चालक रविन श्रेष्ठले गराए। यसअघि एलओडीमा हुने ठूला कार्यक्रमहरू स्थगित गरिएका थिए। ‘सरकारको निर्देशन पालना गर्दै बिहीबारदेखि एलओडी बन्द गर्ने भएका हौं। यसअघि कोरोना भाइरस संक्रमणको त्रासका कारण यहाँ आउने दर्शक र ग्राहकहरूका उपस्थिति घट्ने क्रम जारी थियो ,’ उनले भने, ‘अहिलेको स्थितिमा व्यापार घाटाभन्दा स्वास्थ्य महत्वपूर्ण भएकाले कर्मचारीलाई छुट्टी र नियमित तलब दिने भएका छौं।’

कोरोना भाइरस त्राससँगै कलासम्बन्धी गतिविधि कम हुँदै गएको थियो। सरकारको निर्देशनसँगै सिद्धार्थ आर्ट ग्यालरीका गतिविधिहरू रोकिने जानकारी क्युरेटर संगीता थापाले गराइन्। ‘संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर फिल्म हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गर्ने निर्णय गरेसँगै यहाँका गतिविधि रोक्ने भएका छौं।

अहिलेको अवस्थामा सतर्कता अपनाएर सरकारको समर्थन गर्नु हाम्रो समेत जिम्मेवारी हो,’ उनले भनिन्, ‘ग्यालरी बन्द भइरहेको अवस्थामा अनलाइनमार्फत काम गर्ने सोच बनाइरहेका छौं। पर्ख र हेर भन्ने स्थितिमा कलाहरूको बिक्री प्रभावित भएका छन्।’ उनका अनुसार पछिल्लो समय ग्यालरीले मासिक तीन लाख रुपैयाँ घाटा बेहोर्न बाध्य भएको बताइन्।

प्रकाशित: ६ चैत्र २०७६ ०२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App