८ वैशाख २०८१ शनिबार
अर्थ

घटेको अटोबजार, कोरोनाले झनै भयावह

कोरोनासँगै व्यवसायसँग लड्नुपर्ने बाध्यता
कृष्ण दुलालः अध्यक्ष, नाडा
कोरोना भाइरसको प्रभावले भन्दा पहिलेदेखि नै नेपालको अटोमोबाइल बजार सिथिल अवस्थामै थियो। अघिल्लो वर्ष पनि करिब १५ प्रतिशत बिक्री कम भएकाले यो वर्ष त्यसलाई सुधार्न युद्वस्तरमै काम भइरहेको थियो। अर्थमन्त्रीलाई भेट्यौं। राष्ट्र बैंकका गभर्नरलाई पनि आफ्ना कुरा राख्यौं। उद्योग मन्त्रालयसहित सबै ठाँउमा गएर आफ्ना कुरा राखेपछि सबैले अटोमोबाइल बजारलाई राहत दिन्छौं भन्ने आश्वासन दिए। राहतमा कुनै छुट अथवा भन्सार घटाउनु पर्ने माग थिएन। हाम्रो माग भनेको केही लगानीमा सहुलियत गरिदिनुपर्छ।

बैंकले लगानी गर्दा डाउन पेमेन्टको सिस्टमलाई कम गरिनुपर्छ भन्ने थियो। यो कुुरा मौद्रिक नीतिबाट सम्बोधन हुन्छ भन्ने थियो। स्वयं अर्थमन्त्री युवराज खतिवडाले अटोक्षेत्रलाई परेको प्रत्यक्ष असर, रोगजारीमा आएको गिरावट, राजस्वमा परेको असरले हामी पनि चल्न सक्दैनौं भन्ने बताएका थिए। तर सबै माग पूरा भएनन्। अहिले कोरोना भाइरसको संक्रमणले झनै भयावह अवस्थामा नपुग्ला भन्न सकिन्न। अहिलेको अवस्थामा सरकारले डर र त्रास देखाउनुभन्दा सचेतनाका कुरामा जोड दिनुपर्छ। अहिले कोरोना भाइरससँग लड्नुपर्ने अवस्थामा आफ्नै व्यवसायसँग लड्नुपर्ने अवस्था आएको छ। पहिला व्यवसाय बच्यो भने हामी पनि बच्न सक्छौं। रोगसँगै आर्थिक कारोबारलाई पनि बचाएर लैजानुपर्छ। अहिले कोरोना भाइरसको संक्रमण सानो–सानो व्यापारबाट सुरु भइसकेको छ।

अहिले आयात घट्ने क्रममा छ। अहिले कोरोना भाइरस आए पनि अटो बजार ०७३/७४ देखि नै घट्दै आएको छ। गत वर्षदेखि अहिलेसम्मको तथ्यांक हेर्दा झन्डै १६.८ प्रतिशत घट्दो क्रममा छ। आव ०७३/७४ मा चार लाख ४४ हजार दुई सय ५९ यातायातका साधन दर्ता भएका छन्। आव ०७४/७५ मा चार लाख ३७ हजार नौ सय १४ सवारीसाधन यातायात कार्यालयमा दर्ता भएको देखिन्छ। गत वर्ष तीन लाख ७० हजार दुई सय ३८ मोटरसाइकलसहित यातायातका साधन दर्ता भएका छन्। अहिले ०७६/७७ को फागुन मसान्तसम्म दुई लाख ३१ हजार आठ सय २८ दर्ता भएको देखिन्छ। यो तथ्यांकअनुसार सवारीसाधन आयात घट्दो क्रममा देखिएको छ। अब कोरोनाले प्रभाव देखाउन थाल्यो भने पर्यटन, उद्योग अथवा होटल बन्द हुनु भनेको अटोमोबाइल क्षेत्रमा असर पर्ने हो।

काम गर्ने यातायातका साधनले नै हो। उद्योग व्यवसाय सँगसँगै पूर्वाधार विकासका काम हुन सकेन भने पनि यातायातका साधन खरिद कम हुँदै जाने हो। पहिला १५.२ प्रतिशत आयातमा वृद्वि थियो भने अहिले आयात उल्टै चार प्रतिशतले घटेको देखिन्छ। व्यवसाय पहिलेदेखि घट्दो क्रममा रहे पनि अहिले कोरोनाको त्रासले ठूलो समस्यामा परेका छौं। अहिलेको अवस्थामा हामीले सरकारलाई सहयोग गर्नुपर्ने बेला पनि भएकाले राहत देउ भन्न गाह्रो त छ नै। तर केही ब्याजदर घटाउने कुरा र पुनर्कर्जा सुविधाका कुराहरु छन्, भ्याट र ब्याजको सीमालाई चैत मसान्तबाट असार मसान्तसम्म सार्न आग्रह गरेका छौं। उद्योगको हकमा भने प्रभावित उद्योगलाई केही किस्ता सारिदिन तथा सहुलियत दिनसमेत अनुरोध गरेका छौं। कोरोनाकै कारण कुनै व्यावसायिक फर्म बन्द भयो हामी राहत दिन्छौं भनेर सरकाले बोलिसकेको छ तर के दिन्छ थाहा छैन। अहिले तुरुन्त राहतका रुपमा राष्ट्र बैंकले डाउन पेमेन्टमा १० देखि २० प्रतिशतसम्म पुर्‍यायो भने व्यवसायीलाई राहत हुनेथियो।

हामी आर्थिक क्वारेन्टाइनमा
शम्भु दाहालः निर्वतमान अध्यक्ष, नाडा
अहिले हामी कोरोनाको क्वारेन्टाइन भन्दा पनि आर्थिक क्वारेन्टाइनमा छौं। अन्य देशहरुमा सरकारले विभिन्न सहुलियत दिएका छन् तर नेपालमा हाम्रो नीति नै फरक छ। बजेटसँगै आउने करका कुरा मात्रै बुझ्न हामीलाई ६ महिना लाग्यो। पहिला ६० प्रतिशत डाउन पेमेन्ट थियो त्यसलाई घटाएर ५० मा ल्याइयो। त्यति हुँदा पनि व्यापार माथि उठ्न नसके पछि अहिलेको मौद्रिक नीतिमा दुई करोडसम्मको कर्जामा कर चुक्ता नचाहिने भनेर बल्ल आयो। यो नीतिले समग्र रुपमा हाम्रो हित भन्दा अर्थतन्त्र चलायमान हुने थियो। अर्थ चलायमान नहुँदा सबै क्षेत्रमा असर परेको छ। मानिसले खर्च नै गर्दैनन् भने पैसा कमाउनु पनि परेन, व्यापार गर्नु पनि परेन र जागिर पनि खानु परेन। यो त ‘इकनोमिक क्वारेन्टाइन’ भयो। हामीलाई रोग लागेको बर्र्षौ भैसकेको छ। जरुरत नभएको ठाँउमा क्वारेन्टाइन भयो। पहिले नै दुई करोड रुपैयाँ सम्मको कर चुक्ता नचाहिने भनेको भए मानिस खुम्चिएर बस्ने थिएनन्। अहिले बैंकसंग पैसा छ तर लगानीको क्षेत्र छैन। पहिले बैंकलाई तरलताको अभाव थियो अहिले आर्थिक क्वारेन्टाइन लागेको छ।

विद्युतीय सवारीको आयात राम्रो
करण चौधरीः उपाध्यक्ष, नाडा
अहिले विद्युतिय सवारी साधन संसारभर जल्दो बल्दो साधनको रुपमा आएको छ। गत आर्थिक बर्षमा हामीले १८ हजार पाँच सय ६५ गाडी आयात गरेका छौं। त्यसमध्ये दुई सय ५९ विद्युतिय गाडी रहेका छन्। उक्त संख्या भनको १.४ प्रतिशत हो जनु संसारको उत्कृष्ट १० भित्र पर्छ। अहिले नेपाल अटो बजारका लागि सानो बजार भए पनि विश्वको उत्कृष्ट १० भित्र छिरिसकेको छ। यो बर्ष फागुनसम्म आयात भएका १० हजार आठ सय ५६ सवारी साधनमा चार सय ६५ विद्युतिय सवारी आयात भएका छन्। त्यो भनेकोे ३.९ प्रतिशत हुन आउँछ। त्यसलाई औसतमा हेर्ने हो भने एक सय ४८ प्रतिशत बृद्वि हो। गत बर्षसम्म मासिक २२ वटासम्म इलेक्ट्रिक गाडी आयात हुन्थ्यो भने यो बर्ष मासिक ५३ वटा गाडी आयात भएका छन्।

सरकारको नीतिले कुनैपनि क्षेत्रलाई कतिसम्म असर र प्रभावकारी बनाउन्छ भन्ने यो तथ्यांकले देखाउँछ। आज विद्युतीय गाडीमा सामान्य गाडी जस्तै कर लाग्थ्यो भने विद्युतिय गाडी पनि महंगो हुँदै जान्थे र किन्न पनि गाह्रो हुन्थ्यो। सरकारको विद्युतिय गाडीमाथिको नीतिले ठुलो भुमिका खेलेको छ। यो मात्र एउटा क्षेत्र हो जहाँ व्यवसाय बढेको छ। पहिलेदेखि नै ह्रास आउँदै गरेको अटोमोबाइल क्षेत्रमा कतिसम्म गिरावट आउनुपर्ने हो ? अहिले नयाँ शहरमा नयाँ सोरुम खुलिरहेका छन्। नयाँ रोजगारीका अवसर सिर्जना भइरहका छन् भने त्यसलाई प्रर्वद्वन गर्ने कि बन्द गर्ने? अहिले सरकारले अभिभावकत्व दिनुपर्ने हो। नाडाले अहिलेसम्म मनोबल हारेको छैन । हामी छिट्टै मनोबल हार्ने ग्रुपमध्ये पनि होइनौ। तर, यस्तै अवस्था रह्यो भने छिट्टै मनोबल टुट्ने छ। सरकारले बनाएको नीति र हामीले भनेको कुरालाई ‘इनलाईन’ बनाएर अगाडी बढ्न आवश्यक छ। हामीलाई अर्ध–बार्षिक मौद्रिक नीतिमा केहि परिवर्तन हुन्छ भन्ने थियो तर अटोक्षेत्रलाई त्यति प्रभावकारी भएन।

कोरोना भाइरस छिटो र थाहा नभएर बढिरहेको देखिन्छ। नेपालमा अहिले सम्म संक्रमण नदेखिनु भाग्यको खेल हो जस्तो लाग्न थालिसक्यो। दुई ठूला देशहरु जहाँ कोरोनाको सृजना भयो र अर्काे ठुलो देश जहाँ धेरै तरिकाले फैलिरहेको छ। त्यसको बिचमा छौ हामी। नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएकोमा एक हिसावले खुसि लाग्छ भने अर्काेतिर डर पनि लाग्छ। कोरोनाकै कारण अटोमोबाइल क्षेत्रको व्यवसाय कम हुने सम्भावना भएपछि कर्मचारीसमेत प्रभावित हुने देखिन्छन्। अहिलेको अवस्था अटोमोबाईल भन्दा घरमा चाहिने चामल, दाल, ग्याँस आदि वस्तुको मौज्दातमा आम मानिसको ध्यान गएको छ। गाडी खरिदको बारेमा सोच्ने समय नहुँदा ठुलो कम्पनी भन्दा पनि डिलर्सहरुलाई अझ ठुलो असर पर्ने देखिन्छ। उनीहरुको स्थिरता माथी प्रश्न उठ्छ। ठुला कम्पनीहरुले कोरोनाको तरंगबाट पार लाग्न सके पनि साना कम्पनी भने मारमा पर्न सक्छन्। त्यो समयमा सरकारले त्यस्ता प्रभावित साना कम्पनीलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने नीति बनाउनु पर्छ। प्रत्यक्ष रुपमा गाडीलाई कोरोना नलागे पनि त्यसको प्रभावले पार्ने मानवीय तथा आर्थिक क्षतिको बारेमा सरकारले मूल्यांकन गर्दै नीति बनाउन आवश्यक देखिन्छ।

कोरोना प्रभाव दुई विश्वयुद्वभन्दा कम छैन
आकास गोल्छाः उपाध्यक्ष, नाडा
पहिलेदेखि नै यो व्यवसायले समस्या भोग्दै आएको छ। कोरोनाको असरले थप पारेको छ। पर्यटनको क्षेत्रमा समस्या देखिइसकेको छ। होटलका बुकिङ रद्द हुनेक्रम बढ्दै गएको छ। आम मानिसमा कोरोनाको भय छ। भोली भारतसंगको नाका बन्द भयो भने खाद्यान्न, ग्याँस, तेल लगायत आयात बन्द होला भन्ने त्रास भएको छ। अहिले पर्यटनलाई परेको असरले अटो क्षेत्रलाई पनि असर परिसकेको छ। कतिपय व्यवसायीलाई पर्यटन क्षेत्रमा गाडी, ट्याक्सीलगायतका सवारी विक्रि गर्न नसक्दा दुवै क्षेत्रका व्यवसायी धरासयी हुनेक्रममा छन्। गाडी कम चलको छ भने टायर पनि कम चल्छ। पार्टपुर्जाको प्रयोग कम हुँदै जाँदा उक्त कम्पनीमा कार्यरत कर्मचारीसमेत प्रभावित बन्दै जान्छन्। डिलरहरुले कार्यरत कर्मचारीलाई विदा दिन पनि सक्दैनन्। संसारभर संक्रमणको अवस्थामा रहेको कोरोना प्रभाव प्रथम तथा दोस्रो विश्वयुद्व भन्दा कम छैन्। धरै अन्र्तराष्ट्रिय उडानहरु समेत बन्द भइसक्दा, चेन होटलहरु बन्द हुनेक्रममा छन्। अहिले नेपालमा संक्रमण भएर पनि बाहिर नआएको वा संक्रमण नै नदेखिए पनि कसरी तयार रहने भन्नेकुरामा जोड दिन आवश्यक छ।

स्पेयर पार्टस् बिक्री ८०% घटिसकेको छ
सुनिल रिजाल महासचिव, नाडा

पहिले व्यवसायमा आन्तरिक समस्या रहने गर्थे। त्यो समयमा हामीले सरकारसँग आफ्ना समस्या सामाधानका लागि माग गर्ने गरेका थियौं। त्यो बाहेक बाह्य समस्या पनि धेरै हुने गरेका थिए। ति सबै समस्यालाई भोग्दै आएका हामीलाई सबै समस्यालाई ओझेलमा पार्दै अहिले नयाँ प्रकारको समस्यामा आइपुगेका छौं, जहाँ सरकारलाई भन्ने ठाउँ नै रहेन। कोरोनाले अब आउने दिनमा पार्नसक्ने समस्यालाई मूल्यांकन गर्दै सरकारले त्यही आधारमा तयारी गर्न आवश्यक देखिन्छ। सबैभन्दा पहिले विमानस्थललाई बन्द गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो। रोग बाहिरबाट नै आएको छ। त्यो बाहेक आन्तरिक अर्थतन्त्र चलायमान गर्नुपर्ने कामलाई सरकारले रोक्नु हुँदैन र आर्थिक क्रियाकलापलाई सेल्फ आइसोलेसन तथा क्वारेन्टाइनको नाममा बन्द गरिन हुँदैन भन्नेसमेत हाम्रो भनाइ छ।

अहिले व्यवसायको कुरा गर्ने हो भने स्पेयर पार्टस्को बिक्री ८० प्रतिशत घटिसकेको छ। स्पेयर पार्टस्को स्टकमा कुनै पनि समस्या छैन। त्यस्ता पार्टपुर्जामा कुनै कालोबजारी पनि हुन दिँदैनौ। कोरोनाको असर देखिन तीन महिना लाग्ने समयमा हामी आजैदेखि आइसोलेसनमा बस्ने ? सबै कुरा बन्द गरेर अर्थतन्त्र चलायमान हँुदैन। सरकारले विकास निर्माणका कार्यलाई रोक्नु हुँदैन। अहिले पेट्रोल डिजेलको अभाव हुन नदिनसमेत ध्यान दिनुपर्छ। ऋणको किस्ता बुझाउन छुटभन्दा समय सारिदिए पुग्छ।

सुरेन्द्र कुमार उप्रेती, कोषाध्यक्ष, नाडा
लुब्रिकेन्ट नेपालमा यस्तो व्यवसाय हो जहाँ नेपाली कम्पनी पनि राम्रो स्थानमा पुगेका छन्। अटोमोबाइल क्षेत्रमा हरेकले प्रयोग गरिरहेको वस्तु नै लुब्र्रिकेन्ट हो। अहिले नेपाली कम्पनीले नै ४० प्रतिशत बजार ओगटेको छ। नेपालमा लुब्रिकेन्टको ७५ ब्रान्डभन्दा बढी छन् भने तीन हजारभन्दा बढी मानिस प्रत्यक्ष रोजगारीमा जोडिएका छन्। १२ सय मानिस प्रत्यक्ष रुपमा कम्पनीसँग नै आवद्ध रहेका छन्। चैत महिनाभित्र बैंक र कर कार्यालयले किस्ता बुझाउन दुईतर्फबाट दवाव आउने समय भएकाले सरकारले केही समय उपलब्ध गराउन समेत आवश्यक छ। छुटभन्दा पनि एक दुई महिनासम्म पछि सारिदिए सबैले राहत महशुस गर्न सक्छन्। नेपालमा लुब्रिकेन्टको आयात जथाभावी रुपमा पहिलेदेखि नै हुँदै आएको छ। त्यो प्रक्रिया रोकिनु पर्छ। लुब्रिकेन्टको गुणस्तरमा ध्यान दिनुपर्छ। अहिले सरकारले किस्ता र ब्याजलाई केही समय सहुलियत राहत दिँदा नेपाली कम्पनीको बचाउ र रोगजारी पनि नगुम्ने अवस्था रहन्छ।

यस्तै अवस्था रहे सबै डिलर एकै पटक बन्द हुन्छन्
अनुप बराल, सचिव, नाडा

अटोमोबाइल उद्योग गएको चार वर्षदेखि खस्किएर डरलाग्दो अवस्थामा आइपुगेको छ। यो सबैलाई थाहा छ तर मेरो यसमा फरक मत पनि छ सरकारको अटोमोबाइललाई हेर्ने दृष्टिकोण र लगानी गर्ने वातावरण बनाइदिने राष्ट्र बैंकको व्यवहार कहिलेबाट सकारात्मक बन्छ भन्ने कुरा हो। जहिले पनि गाडी धेरै आयो, पैसा बाहिर गयो, गाडी धेरै भएर भीड भयो भन्ने आरोप छ। अर्को कुरा पुरानो पुस्ताले गाडी चढ्दा ८० प्रतिशतसम्मको कर्जा सुविधा दिइएकामा नयाँ पुस्ताले गाडी किन्दा ५० प्रतिशतभन्दा बढी नदिने नियम छ। हामी दुई सयभन्दा बढी डिलर छौं जहाँ दुई दर्जन ब्रान्डका गाडी आउँछन्। यस्तै परिस्थिति रहे सबै डिलर एकै पटक बन्द हुन्छन्। बाहिरबाट सम्मानजनक देखिने यो व्यवसायमा लगानी पर्याप्त छ तर लगानीको वातावरण पटक्कै भएन। कसैले पैसा तिरेर गाडी चढ्छु भन्दा त्यो वातावरण बनाइ दिनुपर्‍यो।

राजस्व उठेन ६५ प्रतिशत बनाइदेउ, राजस्व उठ्यो घटाइदेउ यस्तो नीति राम्रो भएन। गाडी किन्दा कर्जा दिन जाँदा कर तिरेको कागज र आम्दानीको ५० प्रतिशत खोज्न थालेपछि त्यसबाट डराएर किन्ने आँटै गर्दैनन्। बैंकसँग १० लाख रुपैयाँ तिर्ने पैसा नहुँदा हामी करोडौं रुपैया ब्याज बुझाउँथ्यौ, त्यस्तो अवस्थामा पनि हामी व्यवसाय जोगाउँदै सरकारलाई कर तिर्दैै आयौं। २० लाखभन्दा बढीलाई रोजगार दिएका छौं, सरकारको राजस्वमा लगभग २० प्रतिशत योगदान गर्छौं, र पनि हाम्रो समस्यामा यतिसम्म बेवास्ता भइरहेको छ। अहिले ५० प्रतिशत आम्दानीको दायरामा पुनर्विचार गरेर दुई करोडसम्म निःशुल्क भन्ने कुरा पनि आएको छ। तर पनि राष्ट्र बैंकका अन्य नीतिका कारण ग्राहक आकर्षित हुने क्रम रोकिएकै छ। राष्ट्र बैंकले नीति बनाउँदा काठमाडौंको जाम हुने भनेर आधार बनाउनु भएन। देश प्रादेशिक संरचनामा गएर बाटोको विकासले पनि तीव्रता पाएको छ तर यहाँ अझै पनि विकासकै सम्वाहक यातयात र अटोमोबाइल्सलाई रोक्ने प्रयत्न भएको छ।

असर राज्यसम्म पुग्ने हो सरकार समयमै सचेत हुनुपर्छ
विक्रम सिंहानिया,सह–कोषाध्यक्ष, नाडा

अटोेमोबाइलको मोबिलिटी एकदमै कम हुँदै गएको छ। गाडी गुड्ने भनेकै टायरबाट हो। गाडी नै नचलेपछि टायर फेर्ने र नयाँ किन्ने कुरा भएन। नयाँ गाडी बिक्री भएका छैनन्। भएकै गाडी पनि नचल्दा टायरजस्ता पार्टस्को व्यापारसमेत खस्किएको छ। कोरोना भाइरसका कारण हाम्रो बजारमा रहेको पैसा उठ्न सकेको छैन। चेक बाउन्स हुने समस्या बढ्दै गएको छ। अहिले सामान्य टायर व्यापारीदेखि ठूला व्यवसायीसमेत मर्कामा परेका छन्। यसले डिस्ट्रिब्युटर्स, त्यसबाट डिलर र रिटेलरसम्मको संरचनामै धक्का पुगिरहेकोे छ। अन्तिममा यसको असर राज्यसम्ममा पुग्ने हो। यस तर्फ सरकार समय मै सचेत हुनुपर्छ।

राष्ट्र बैंक सरकारसँग समन्वय गरेर सहयोग गर्न तयार
गुणाकर भट्ट
प्रवक्ता, राष्ट्र बैंक

अर्थतन्त्र कसरी चल्छ र आर्थिक संरचना के हो भन्ने कुरालाई पहिला बुझ्न जरुरी छ। हाम्रो आयको स्रोत उपभोग, उत्पादन, विनिमय र वितरण हो। यसमा यातयात क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। उच्च आर्थिक वृद्धिको मार्गमा जान हामीलाई पुँजी, श्रम र प्रविधि चाहिन्छ। यातायात क्षेत्र आफैंमा प्रविधि हो। अर्थतन्त्रमा हेर्दा यातयातको मात्र पनि चार प्रतिशत भूमिका छ। यसको वृद्धिदर हेर्दा पछिल्ला चार वर्षमा ६ प्रतिशत पुगेको छ। तसर्थ यो क्षेत्रलाई सक्रिय बनाउनुपर्छ भन्ने कुरामा कुनै द्विविधा छैन। हामी तीन वर्ष लगातार उच्च आर्थिक वृद्धिको बाटोमा हिड्यौं, यो समयमा हायरपर्चेजको कर्जामा पनि उल्लेख्य वृद्धि भएको छ, आयात संख्यात्मक रुपमा घटे पनि आयात भएकै छ। गएको वर्ष सात प्रतिशत घटेको देखिए पनि पछिल्लो चार वर्षको अरु समयमा आयात बढेकै छ। यसले के भन्छ भने अर्थतन्त्र पनि चलायमान छ। चार प्रतिशतबाट सात प्रतिशतमा पुग्नु भनेकै सबै क्षेत्रको योगदान हुनु हो।

अहिले कोरोना प्रभावको अर्थतन्त्रलाई हेर्दा मुख्य गरी पर्यटन क्षेत्र बढि प्रभावित भएको छ। यससँगै यातायात क्षेत्र पनि जोडिएको छ। यसमा हामीले प्रभाव अध्ययन गरिरहेका छौं। यसले प्रत्यक्ष रुपमा यातयात क्षेत्र, व्यापार क्षेत्रमा असर देखिएको छ र यसको सम्बन्ध हेर्ने हो भने धेरै क्षेत्रमा प्रभाव देखिएको छ। यो अवस्थामा यसलाई कसरी अगाडि बढाउने भन्ने कुरामा छलफल भइरहेको छ।   अहिले अर्थतन्त्र कतातिर गैरहेको छ भन्ने कुरा सबैको चासोको विषय हो। यसलाई हेर्दा हामी के भन्न सक्छौं भने अहिले हामी ठूलो जोखिमको अवस्थामा छौं। ग्लोबल अर्थतन्त्रमा जसरी असर पुगेको छ, त्यसको प्रभाव हाम्रोमा पनि निश्चित रुपमा पर्छ। विशेषगरी रेमिट्यान्स आउन लगभग बन्द जस्तै छ। तीन चार महिनालाई रेमिट्यान्स नआउन पनि सक्छ। यसले विदेशी विनिमय सञ्चितीमा प्रभाव पार्छ। यो पनि घट्यो भने तेलको मूल्य प्रतिब्यारेल २५ डलर भए पनि हामीले किन्न सक्ने छैनौं।

यो अवस्थामा भने हामीलाई ठूलो चुनौती सिर्जना हुनेछ। राष्ट्र बैंकको उद्देश्य पनि आर्थिक वृद्धिलाई सहयोग पुराउने क्रममा वित्तीय क्षेत्रमा स्थायित्व कायम गर्ने, बाह्यय क्षेत्रमा स्थायित्व कायम गर्ने हो। हामी केही तनाव र गम्भीर अवस्थामा छौं तर अटोमोबाइल्स व्यवसायीको समस्यालाई समाधान गर्न सकारात्मक छौं। हामीले मौद्रिक नीतिको अद्र्ध वार्षिक समीक्षामा पनि अटोमोबाइल्स व्यवसायीका समस्यालाई समेट्ने संकेत गरेका छौं। राष्ट्र बैंक सरकारसँग समन्वय गरेर आवश्यक पुनर्संरचना गर्न सधैं तयार छ।

प्रकाशित: ६ चैत्र २०७६ ०१:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App