coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरी परिसरमै थन्कियो बरामद मास्क

महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएका मास्कका बोरा, जुन कालोबजारी गर्नेहरूबाट बरामद गरिएको थियो। तस्बिर: नागरिक

काठमाडौं – बजारमा मास्कको चर्को अभाव छ। कालोबजारी गर्नेहरूबाट प्रहरीले ठूलो परिमाणमा मास्क बरामद गरेको छ। तर जिल्ला प्रशासन र राजस्व विभागले ठोस निर्णय गर्न नसक्दा २१ लाख ८ हजार मास्क महानगरीय प्रहरी परिसरमै थन्किएको छ।

प्रहरीले जिल्ला प्रशासन, महान्यायाधिवक्ताको कार्यालय, राजस्व विभागलगायतलाई बरामद मास्कबारे लिखित रूपमै जानकारी गराएको छ। महान्यायाधिवक्ताको कार्यालयले छिटोछरितो र पारदर्शी ढंगले मास्क वितरण गर्न जिल्ला प्रशासनलाई लिखित आग्रह गरिसकेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले बरामद मास्क आफैंले वितरण नगरी जिल्ला प्रशासन, राजस्व र महान्यायाधिवक्ताको निर्णयअनुसार सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने जानकारी दिए। ‘साझा स्वास्थ्य सेवालाई मास्क दिनेबारे छलफल भइरहेको छ,’ उनले भने, ‘माथिल्ला निकायले निर्णय गरेपछि हामीले मास्क हस्तान्तरण गर्छौं।’

प्रहरीले आइतबार १० लाख ८ हजार मास्कसहित इमाडोल बस्ने टेकराज श्रेष्ठ, कपन बस्ने सञ्जय रेग्मी, स्वयम्भू बस्ने अजिम बक्स मियाँ, महानगरपालिका–१३ वडा बस्ने सुरज गोयल र बागबजार बस्ने सुवास महेश्वरीलाई पक्राउ गरेको थियो। उनीहरूलाई अहिले परिसरको हिरासतमा राखिएको छ। प्रहरीका अनुसार उनीहरू तीन रुपैयाँ पर्ने मास्क ३१ रुपैयाँमा बेच्ने तयारमा थिए। महानगरीय अपराध महाशाखाको टोलीले त्यसअघि १० लाख थान मास्कसहित गोरखाका विनोद न्यौपानेलाई पक्राउ गरेको थियो। महाशाखाका प्रवक्ता एसपी मुकेश सिंहले बजार मूल्यभन्दा चर्को मूल्यमा बिक्री गर्न तयारी अवस्थामा राखेको मास्क बरामद गरिएको जानकारी दिए। मंगलबार मात्रै बढी मूल्यमा बेच्न खोजिएको १६ कार्टुन स्यानिटाइजर पनि बरामद गरिएको उनको भनाइ छ। स्यानिटाइजरमा कालोबजारी गरेको भन्दै प्रहरीले इन्द्रचोकको सुरज आर्केडमा छापा हानेर स्यानिटाइजर र त्यसका मालिक रूपेश रौनियारलाई नियन्त्रणमा लिएको थियो। दुईपटकमा बरामद मास्क साझालाई नै दिने निर्णय जिल्ला प्रशासनले गरेको छ।

आइतबार र त्यसअघि बरामद मास्क वितरण गर्न मंगलबार पनि छलफल गरिएको थियो। छलफलका क्रममा कानुनी प्रक्रिया पूरा गर्दा समय लाग्ने देखिएकाले छिटो हुने प्रक्रिया अपनाउनेबारे छलफल भएको सहायक प्रजिअ जीवन आचार्यले जानकारी दिए। उनका अनुसार बरामद मास्क बजारमा पठाउन सम्बद्ध निकायसँग छलफल चलिरहेको छ। मंगलबार जिल्ला प्रशासन, प्रहरी, राजस्व, महान्यायाधिवक्तालगायत कार्यालयसँग भएको छलफलअनुसार बरामद सबै मास्कको बजार मूल्य तीन रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ। सोहीअनुसार अर्धसरकारी संस्था साझा स्वास्थ्य सेवा प्रालीलाई मास्क हस्तान्तरण गरिनेछ। निर्धारित मूल्यमा साझाले २० प्रतिशत ढुवानी र भ्याट जोडेर बिक्री गर्नेछ। ‘सकेसम्म छिटो साझालाई मास्क हस्तान्तरण हुन्छ,’ सहायक प्रजिअ आचार्यले भने, ‘त्यसका लागि प्रहरीसँग छलफल भइरहेको छ।’

साझाले मास्क वितरण गर्दा सरकारी अस्पताललाई प्राथमिकता दिनेछ। बरामदमध्येको झन्डै ३० प्रतिशत मास्क वीर, टिचिङ, सिभिललगायत अस्पताललाई निर्धारित मूल्यमा उपलब्ध गराइनेछ। सरकारी अस्पतालभित्रकै केही फार्मेसीलाई पनि मास्क बेचिनेछ। अर्धसरकारी संस्था साझाका उपत्यकामा चार शाखा छन्। तीमध्ये कपनस्थित कार्यालयको बाहिरपट्टि हेल्प डेक्स राखेर व्यक्तिलाई मास्क वितरण गर्ने जनाइएको छ। एकजनालाई चारवटाभन्दा बढी मास्क दिइनेछैन। मास्क वितरणका लागि साझाले आफ्ना कर्मचारी परिचालन गर्नेछ। साझाका अध्यक्ष भरत ढकालले मास्क वितरणका लागि सम्झौता भइसके पनि कहिले वितरण गर्ने भन्ने टुंगो नभएको बताए। उनले प्रहरी कार्यालयबाट सोझै साझाको कार्यालय ल्याएर वितरण गरिने बताए। पक्राउ परेकालाई कालोबजारी तथा सामाजिक अपराध ऐन, २०३२ अनुसार कारबाही हुनेछ।

प्रकाशित: ६ चैत्र २०७६ ०१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App