coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ हजार नाै सय नाघ्यो, ८५ करोड विद्यार्थीको पढाई प्रभावित

वासिंटन – कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ज्यान गुमाउनेको संख्या आठ हजार नाै सय नाघेको छ।  वल्र्डओमिटरडटइन्फोका अनुसार कोरोना संक्रमणबाट बिहीबार बिहानसम्म विश्वभर आठ हजार नाैं सय ५२ जनाले ज्यान गुमाएका छन्। दुई लाख १८ हजार नाै सय ५२ जनामा संक्रमण पुष्टि भएको छ भने ८४ हजार सात सय उपचारपछि सन्चो भएर घर फर्किएका छन्।

कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमित र ज्यान गुमाउनेको संख्या चीनमा बढी छ। त्यहाँ ८० हजार आठ सय ९४ जनामा संक्रमण देखिएको छ भने तीन हजार दुई सय ३७ जनाको मृत्यु भइसकेको छ। चीनपछि इटालीमा संक्रमित र ज्यान गुमाउने बढी छन्। त्यहाँ ३१ हजार पाँच सय ६ जना संक्रमित हुँदा दुई हजार पाँच सय तीन जनाले ज्यान गुमाएका छन्।

त्यस्तै इरानमा मृत्यु हुनेको संख्या एक हजार एक सय ३५ पुगेको छ। त्यहाँ १७ हजार ३६१ जनालाई संक्रमण पुष्टि भएको छ। त्यस्तै स्पेनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय २३ पुगेको छ। त्यहाँ संक्रमितको संख्या साढे १३ हजारभन्दा बढी छ। जर्मनीमा झण्डै १० हजार मानिसमा संक्रमण फैलिएको छ।

मलेसियामा तीव्र गतिमा फैलिँदै
मलेसियामा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको छ। बुधबार मात्रै त्यहाँ थप १ सय १७ जनामा संक्रमण भेटिएको जनाइएको छ। योसहित मलेसियामा संक्रमित हुनेको संख्या ७ सय ९० पुगेको छ।

स्वास्थ्य अधिकारीहरूका अनुसार त्यहाँ ६० जना उपचारपछि सन्चो भएर घर फर्किएको वल्र्डओमिटरडटइन्फोले जनाएको छ। बुधबार भेटिएका ११७ जनामध्ये ८० जना एउटा मस्जिदको कार्यक्रममा सहभागी भएका व्यक्तिहरू हुन्। उक्त कार्यक्रममा सहभागी भएका ५ सय १३ जनामा कोरोना पुष्टि भइसकेको छ।

बंगलादेशमा पहिलो व्यक्तिको मृत्यु, भारतमा ९ संक्रमित थपिए
 कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बंगलादेशमा पहिलो व्यक्तिको ज्यान गएको छ। वल्र्डओमिटरडटइन्फोका अनुसार बुधबार बंगलादेशमा पहिलो व्यक्तिको ज्यान गएको हो। त्यहाँ १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भारतमा बुधबार थप ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। वल्र्डओमिटरडटइन्फोका अनुसार भारतमा कूल १५२ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ कोरोना संक्रमणबाट तीन जनाको ज्यान गइसकेको छ।

पाकिस्तानमा संक्रमण तीन दिनमा तेब्बरले बढ्यो  
पाकिस्तानमा कोरोना भाइरसको संक्रमण दर पछिल्लो तीन दिनमा तेब्बरले बढेको छ। गत आइतबारसम्म ५३ जनामा संक्रमण पुष्टि भएकोमा बुधबार बिहानसम्म त्यो संख्या २७२ पुगेको छ। तीमध्ये दुई जना भने उपचारपछि निको भएर घर फर्किएका छन्। दक्षिण एसियामा सबैभन्दा बढी संक्रमण पुष्टि भएको पाकिस्तानमा कोरोना संक्रमणबाट एक जनाको ज्यान गइसकेको छ।

विश्वभर ८५ करोड विद्यार्थीको पढाई प्रभावित ः युनेस्को
कोरोना भाइरस (कोभिड–१९)को प्रकोपका कारण विश्वभरका आधाभन्दा बढी विद्यार्थी विद्यालय जानबाट वञ्चित भएको संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सामाजिक संगठन (युनेस्को)ले बुधबार जनाएको छ।

युनेस्कोका अनुसार विश्वभरका ८५ करोड विद्यार्थीलाई कोरोना भाइरस संक्रमणको प्रकोपबाट टाढा राख्न सम्बन्धित मुलुकका सरकारले गरेको निर्णयका कारण विद्यालय तथा विश्वविद्यालय नगएका हुन्।   युनेस्कोले यसलाई शिक्षा क्षेत्रमा खडा भएको ‘अप्रत्याशित चुनौती’ भनेको छ।

युनेस्कोका अनुसार विश्वका एक सय १३ मुलुकमा पूर्ण तथा आंशिकरूपमा विद्यालयहरू बन्द गरिएका छन्। यसमध्ये एक सय दुई मुलुकमा विद्यालय पूर्णतया बन्द गरिएका छन् भने ११ अन्य मुलुकमा आंशिकरूपमा बन्द भएका छन्। युनेस्कोका अनुसार आगामी केही दिनमा थप देशहरूले पनि विद्यालयलाई बन्द गरी विद्यार्थीका कारण संक्रमण फैलिने सम्भावनालाई रोक्ने पहल भइरहेको छ।

प्रकाशित: ६ चैत्र २०७६ ०१:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App