८ वैशाख २०८१ शनिबार
खेल

सार्ने कुनै योजना छैन : आइओसी

कटरिन स्टिफानिडी

टोकियो – विश्वभर कोराना भाइरसको त्रास बढिरहेको अवस्थामा खेलाडीहरूले पनि आफ्नो स्वास्थ्यबारेमा सम्बन्धित निकाय गम्भीर नभएको आरोप लगाइरहँदा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले भने टोकियो ओलम्पिक सार्ने कुनेै योजना नभएको दोहोर्‍याएको छ।

‘अहिले स्थिति असामान्य छ र त्यसका लागि संयमित उपायहरू अपनाउनुपर्छ,’ खेलाडीहरूले चर्को आलोचना गरेपछि आइओसीका प्रवक्ताले भने, ‘हामी खेलाडीलाई कुनै असर नगर्ने  विकल्पका बारेमा सोचिरहेका छाैँ। साथै प्रतियोगिताको स्वाभिमान र खेलाडीको स्वास्थ्यका बारेमा समेत हामी सचेत छौं। अहिलेको अवस्थामा कुनै पनि योजनाले काम नगर्न सक्छ।’यसअघि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले कोरोना भाइरसका त्रासबीच टोकियो ओलम्पिक निर्धारित मितिमै हुने बताएसँगै खेलाडीहरूले आफूहरूको स्वास्थ्यमाथि खेलबाड गरिन लागेको आरोप लगाएका छन्।

ओलम्पिक पोलभल्ट च्याम्पियन कटरिन स्टिफानिडी र इङ्ल्यान्डकी हेपाथलोन खेलाडी कटरिन जोन्सन थोमसले जुलाई २४ बाटै ओलम्पिक सुरु गर्ने आइओसीको तयारीप्रति आपत्ति जनाएका हुन्। यता आइओसीकै एक अधिकारीले भने संक्रमणको त्रासका बीच खेलाडीलाई तयारी अवस्थामा बस भन्नु मूर्खता भएको प्रतिक्रियासमेत दिएका छन्। ग्रिसकी सबैभन्दा सफल खेलाडीमध्येकी एक स्टेफानिडीलाई एक समारोहबीच जापानी अधिकारीले  ओलम्पिक टर्च र्‍याली हस्तान्तरण गर्ने कार्यक्रम थियो।

स्वास्थ्यमाथि खेलबाड : खेलाडी
‘आइओसीले हाम्रो स्वास्थ्यमाथि खेलबाड गरिरहेको छ, साथै हाम्रा परिवार र सर्वसाधारणको स्वास्थ्यमा पनि, हामीलाई सधैँ अभ्यास गर्नु भन्नुको अर्थ के?,’ स्टेफानिडीले ट्विट गरेकी छिन्, ‘४ महिनापछि होइन हामीलाई अहिलेबाट संकटमा पार्ने काम भइरहेको छ।’ मंगलबार आइओसीको बैठक बस्नुभन्दा अघि बसेको युइएफएको बैठकले भने २०२० को युरोपियन च्याम्पियनसिप २०२१ सम्मका लागि सारेको थियो। अहिलेसम्म ओलम्पिकमा ५७ प्रतिशत खेलाडीले मात्र अन्तिम चरणमा आफ्नो स्थान सुरक्षित गरेका छन्। विश्वभर एकपछि अर्को खेलकुद गतिविधिमाथि रोक लागेसँगै ओलम्पिक छनोट पनि रोकिएको छ।

‘अविश्वसनीय,’ स्टेफानिडीले भनिन्, ‘टिममा रहेका अभ्यास गर्ने खेलको हकमा के हुन्छ ? स्विमिङ र जिम्न्यास्टिकमा के हु्रन्छ ? किनभने त्यहाँ सबै खेलाडीले एउटै सामानको बढी प्रयोग गरिरहेका हुन्छन्। खेलाडीको स्वास्थ्यमा सहनशीलता अपनाउनुपर्ने हो तर हामीलाई खतरामा पारिँदै छ।’ जोन्सन थोम्सनले सम्बन्धित राष्ट्रहरुले खेल गतिविधिलाई बन्द गर्नु भन्दै निर्देशन दिइरहँदा आइओसीले खेलाडीलाई अभ्यासलाई निरन्तरता दिन आग्रह गर्नु त्यसको विपरीत हुने बताइन्। ‘मलाई निरन्तर अभ्यास गर्दा दबाब हुन्छ,’ उनले ट्विट गरेकी छिन्, ‘पहिलेकै जीवनशैलीलाई निरन्तरता दिन कठिन छ।’

प्रकाशित: ६ चैत्र २०७६ ०१:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App