५ वैशाख २०८१ बुधबार
राजनीति

गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति कति ?

मन्त्रीहरुको सम्पती सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत। तस्बिर: सन्देश/नागरिक

पोखरा- गण्डकी प्रदेश सरकारका मन्त्रीहरुले २५ महिनापछि सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सरकार गठन भएको २ वर्ष १ महिना पछि प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले सम्पत्ति सार्वजनिक गरेका हुन्।

२०७४ साल फागुन ४ गते प्रदेश सरकार गठन भएको थियो। सरकार गठन भएलगत्तैदेखि मन्त्रीहरुले सम्पत्ति सार्वजनिक गर्ने भनेपनि हालसम्म सार्वजनिक गरेका थिएनन्। तर बुधबार सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले प्रदेश सरकारका मुख्यमन्त्रीसहित ७ मन्त्री मध्ये ६ जनाको सम्पत्ति सार्वजनिक गरेका हुन्। मन्त्री परिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार भेटघाटमा उनले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत, भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको सम्पत्ति सार्वजनिक गरेका हुन्। सामाजिक विकास मन्त्रीको भने सम्पत्ति विवरण नआइपुगेकाले सार्वजनिक गर्न नसकिएको उनले बताए। एक/दुई दिन भित्रमा मन्त्री पुनको पनि सम्पत्ति सार्वजनिक गरिने उनले बताए।

बुधबार सार्वजनिक गरिए अनुसार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सम्पत्ति सबैभन्दा धेरै छ। उनको स्थायी बसोबास रहेको लमजुङमा ३७ रोपनी जमिन छ। त्यस्तै उनको श्रीमती मुनीकुमारी गुरुङको नाममा लमजुङ जिल्ला क्होँलासोंथर गाउँपालिकामा रहेको एउटा घरसहितको जग्गा, मुख्यमन्त्रीकी बहिनी आशकुमारी गुरुङको घरसहितको जग्गा तथा लमजुङमै उनकै नाममा २९ रोपनी १४ आना ३ पैसा ३ दाम क्षेत्रफलको जग्गा रहेको छ। जग्गा सबै पैत्रिक रहेको मुख्यमन्त्रीले पेश गरेको विवरणमा उल्लेख छ। त्यस्तै मुख्यमन्त्रीको चल सम्पतीमा ५१ तोला सुन, ९० तोला चाँदी, मुख्यमन्त्री गुरुङको विभिन्न वैंकमा १६ लाख ५० हजार, उनको श्रीमती मुनीकुमारी गुरुङको विभिन्न वैंकमा करीब १० लाख, छोरा विज्ञान गुरुङको नाममा विभिन्न वैंकमा ७० लाख रहेको मन्त्री बस्नेतले जानकारी दिए। यसैगरी १/१ वटा मोटरसाइकल र स्कुटर, एउटा माउन्टेन वाइक, भेंडीगोठमा ९ वटा भेंडा र ७ वटा बाख्रा रहेको जनाइएको छ।

आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको तनहुँ भीमाद नगरपालिकामा आमा बालकुमारी गुरुङको नाममा ११ रोपनी ५ आना २ दामको जग्गा, स्वर्गिय बुबा पूर्णराम गुरुङको नाममा ८९ रोपनी जग्गा रहेको र ति सबै जमिन १ बहिनीसहित ४ दाजुभाईको सगोलमा रहेको मन्त्री गुरुङले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। बुबाको स्वर्गारोहण भएपनि जग्गा नामसारी भइनसकेको जनाइएको छ। यसैगरी मन्त्री किरण गुरुङको नाममा पोखरा १२ मा २२५.२० वर्ग मिटरको घडेरी, पर्वत फलेवास नगरपालिका ६ मा ६ आना र ललितपुर धापाखेलमा ५ आना जमिन रहेको छ। चल सम्पतीमा ४ तोला सुन, श्रीमती कृष्णकुमारी श्रेष्ठको १५ तोला सुन, मन्त्री गुरुङको नाममा विभिन्न वैंकमा करीब १ लाख नगद रहेको छ। त्यस्तै पोखरा रोयल सहकारी संस्था, रोयल दिदीबहिनी किचनलगायतमा सेयर रहेको जनाइएको छ। सवारी साधनमा एउटा महिन्द्रा कम्पनीको स्कोर्पियो गाडीपनि रहेको छ।

त्यस्तै आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानको तनहुँ आँबुखैरहनीमा श्रीमती धनकुमारी चुमानको नाममा १३ रोपनी जमिन रहेको उनले भरेको विवरणमा उल्लेख छ। मन्त्री चुमानको १० तोला सुन, विभिन्न वैंकमा करीब २ लाख र कृषि विकास वैंकमा ३२ सय कित्ता सेयर रहेको जनाइएको छ।

भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतको गोरखा ३ नारेश्वरमा बुबा लिलाबहादुर बस्नेतको नाममा एउटा घरसहित करीब ५० रोपनी जमिन रहेको छ। उनको चल सम्पतीमा १४ तोला सुन, १० तोला चाँदी र विभिन्न वैंकमा करीब साढे ४ लाख नगद रहेको छ। करीब १० लाख ऋण लगाएको र त्यत्तिनै रकम तिनुपर्ने ऋण रहेकाले ऋणधन बराबर रहेको मन्त्री बस्नेतले जानकारी दिए। मन्त्री बस्नेतको एउटा बस, नमूना कृषि फार्म र गोर्खामा गोर्खा बुक्स एण्ड स्टेसनरी सञ्चालनमा रहेको जनाइएको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको पर्वत फलेवास नगरपालिका वडा नम्बर ५ मा करीब साढे ५ रोपनी जग्गा रहेको जनाइएको छ। त्यस्तै नगद ५ लाख, सुन १० तोला र चाँदी ५० तोला रहेको विवरणमा उल्लेख छ। मन्त्री लम्सालको विभिन्न वैंकमा १० लाख मौज्दात रहेको तथा कृषि विकास वैंकमा ३ सय कित्ता सेयर रहेको मन्त्री बस्नेतले जानकारी दिए। मन्त्री लम्सालले कृषि विकास वैंकमा १५ लाख ऋण तिर्नुपर्ने पनि विवरणमा उल्लेख छ।

भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाको संयुक्त परिवारमा एउटा घर र ४३ रोपनी जग्गा रहेको जनाइएको छ। जग्गा बुबा भीमबहादुर थापाको नाममा रहेको र अंशवण्डा भइनसकेको विवरणमा उल्लेख छ। उनको आफ्नै नाममा भने मन्त्री थापाको ३५ तोला सुन, विभिन्न वैंकमा ४ लाख नगद, दरौंदी बचत तथा ऋण सहकारी संस्थामा सेयर तथा १ हल गोरु र ७ वटा बाख्रासमेत रहेको सरकारका प्रवक्ता मन्त्री बस्नेतले जानकारी दिए।

 

 

प्रकाशित: ५ चैत्र २०७६ १०:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App