७ वैशाख २०८१ शुक्रबार
राजनीति

माघको पहिलो साता भित्रै स्थानीय निर्वाचनको मिति घोषणा हुन्छ: बर्षमान पुन

अर्घाखाँची- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले  सरकारले  माघ पहिलो साता  भित्रै स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने बताएका छन्।  उनले तीन तहको निर्वाचन सम्पन्न नगरे सम्म संविधान कार्यान्वयन नहुने भन्दै सरकार निर्वाचनको मिति घोषणा गर्न आतुर रहेको बताए।

रिपोर्टर्स क्लव अर्घाखाँचीले सन्धिखर्कमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता पुनले संविधानलाई कार्यान्वयन गराउने उद्देश्यका साथ सरकारले  संविधान संशोधन प्रस्ताव दर्ता गरेको बताए। ‘ मधेसी मोर्चाले संविधान स्वीकार नगरेकाले मोर्चालाई सहमतिमा ल्याउन संविधान संशोधन प्रस्ताव  ल्याइएको हो’ उनले भने, ‘एमाले सहितका  विपक्ष दलहरुले  संशोधन प्रस्तावलाई टेवुल गर्न दिनुपर्छ ।’ उनले  आफ्नो पार्टी एकताबद्ध भएर  स्थानीय निकायको निर्वाचनको तयारीमा जुटिसकेको जानकारी दिए। ‘संविधान संशोधन गर्न नदिइ संसद अबरोध गर्नु  संविधानकै मर्म विपरित कार्य हो ’ उनले भने ‘यस्ता गतिविधिले  अलोकतान्त्रिक प्रवृतिलाई प्रश्रय  मिल्छ।

नेता पुनले प्रमुख दलहरु एक ठाउँमा नउभिँदा संविधान कार्यान्वयन गर्न निकै समस्या भएको भन्दै  संविधान कार्यान्वयन  गर्ने विषयमा  प्रमुख दल एक हुनु पर्ने औंल्याए। उनले एमाले अध्यक्ष केपी ओली र प्रधामन्त्री प्रचण्डका बीचमा संसदको गतिरोध अन्त्य गर्ने विषयमा आजै  ( आइतबार ) छलफल हुन लागेको भन्दै एक दुइ दिन भित्रमा संसद चल्ने बताए।  ‘संसद चल्न दिएपछि संशोधन प्रस्ताव टेवुल गर्छौं’ उनले भने, ‘पास/फेलको विषयलाई सत्तापक्ष र विपक्ष दुबैले प्रतिष्ठाको विषय बनाउनुहुँदैन।’  उनले संसदमा मधेसी मोर्चाको उपस्थिति कम भएपनि संविधान नमान्दा कार्यान्वयनमा समस्या आउने भएपछि संशोधनको प्रस्तावलाई अघि सारिएको बताए। मधेसी मार्चालाई सहमतिमा ल्याउनकै लागि पाँच नम्वर प्रदेशलाई टुक्राइएको भन्दै नेता पुनले तराइबाट अलग हुँदैमा पहाडका नागरिक आत्तिहाल्न पर्ने स्थिति नरहेको बताए। उनले राप्ती, लुम्बिनी र धौलागिरीका पहाडी  जिल्लालाई एकै प्रदेश बनाएपछि पहाडको विकासले तीव्र रुप लिने बताए । उनले  पाँच नम्वर प्रदेशबाट टुक्राइएका पहाडी जिल्लालाई मिलाएर मगराग प्रदेश बनाउने पक्षमा आफ्नो पार्टी लागेको बताए । ठूला ठाउँसँग मिलाएर प्रदेश बनाउँदा ठूला ठाउँका मान्छेले मात्र राज्य गर्ने भन्दै उनले पहाडी समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गर्न पनि पहाडै/पहाडको प्रदेशको आवश्यकता परेको बताए । उनले कृषि, पर्यटन, जङ्गल जडीवुटी, जलविद्युतबाट  पहाडको मुहार फर्ने सकिने भन्दै तराइको प्रदेश भन्दा पनि पडाको प्रदेश  समृद्ध बन्न सक्ने बताए। 

 

प्रकाशित: २४ पुस २०७३ ०९:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App