८ वैशाख २०८१ शनिबार
कला

सुटिङ स्थल सुनसान

इलाम – निर्देशक सुदर्शन थापाले इलामसहित पूर्वी जिल्ला आएर ‘म यस्तो गीत गाउँछु २’ फिल्मको सुटिङ गर्ने योजना बनाएका थिए। तर इलाम वरपर सुटिङ नगरिकन उनी फिल्म सिध्याउन बाध्य भएका थिए। संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेसँगै उनले इलाम वरपर खिच्नुपन केही दृश्यहरू नखिचेर फिल्मको सुटिङ सिध्याए।

यसअघिको ‘म यस्तो गीत गाउँछु’ फिल्म इलाम वरपर खिचेका कारण सिक्वेलका केही दृश्य त्यहाँ खिच्ने तयारी उनले गरेका थिए। ‘फिल्मको केही दृश्यहरू इलाम वरपर खिच्नुपर्ने थियो। सरकारले भेला, उत्सव र महोत्सवलगायतमा सहभो भनेसँगै फिल्मको सुटिङ स्थगित गरेका थियौं,’ उनले भने।

गत वर्ष उनले इलामको सन्दकपुर, भालुढुंगा र कन्यामलगायत स्थानमा ‘म यस्तो गीत गाउँछु’ फिल्मको सुटिङ सिध्याएका थिए। ‘ म यस्तो गीत गाउँछु’ फिल्मको सिक्वेलका लागि पनि उनले इलाम आउने निधो गरेका थिए। ‘इलामको रमणीय दृश्य र सोही फिल्मको सिक्वेल भएकाले कथामा जोडिने भएकाले यसपटक इलाम आउने योजना थियो,’ उनले भने, ‘तर संसारभर फैलिएको कोरोना भाइरस संक्रमणको त्रासका कारण फिल्मको सुटिङ छिटो सिध्याउनुपर्ने भएकाले इलाम आउने योजना रद्द गर्नुपरेको छ।’

संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपछि सुटिङ स्थगित गर्न नेपाल चलचित्र निर्माता संघले आह्वान गरेलगत्तै अधिकांश फिल्ममेकरहरूको सुटिङ रोकेका छन्। यसले गर्दा इलामसहित पूर्वी जिल्ला आएर हुने भनिएको फिल्मका सुटिङ प्रभावित भएका छन्।

जिल्लाको अग्लो सन्दकपुरमा मंसिरसम्म फिल्म, म्युजिक भिडियो र डकुमेन्ट्री खिच्ने फिल्ममेकरहरूको घुइँचो लाग्थ्यो। सन्दकपुर पुग्ने कच्ची सडक सहज भएसँगै विगत चार वर्षदेखि फिल्म सुटिङका लागि काठमाडौं र भारतका विभिन्न स्थानबाट यहाँ आउनेको संख्या बढ्दो थियो। नेपाली, हिन्दीलगायत फिल्म खिच्न आउने फिल्ममेकरहरू कोरोना त्रासका कारण फिल्म सुटिङ गर्न नआउँदा सन्दकपुर सुनसान भएको छ। ‘चैत–वैशाख र असोज–कात्तिकलाई फिल्म, म्युजिक भिडियो र डकुमेन्ट्री खिच्ने सिजनको रूपमा लिइन्छ,’ स्थानीय व्यवसायी तथा जनप्रतिनिधि पेमाडण्डु शेर्पा भने, ‘यसपटक फिल्म, म्युजिक भिडियो र डकुमेन्ट्री खिच्न कोही आएका छैनन्। कोरोना त्रासले गर्दा सिजनमा समेत सुनसान भएको छ।’

इलाममा अहिले आकाश खुलेसँगै बोटबिरुवामा नयाँ पालुवा पलाएको छ। पोहोरसम्म यस सिजनमा फिल्मको एक्सन–कट सुनिन्थ्यो। तर अहिले न यहाँका फिल्मकर्मी देखिन्छन्, न पर्यटक नै।

कोरोना भाइरस (कोभिड १९) सर्ने डरले हाल यहाँ कुनै फिल्म, म्युजिक भिडियो र डकुमेन्ट्रीको सुटिङ हुन सकेको छैन्। स्थानीयदेखि संघीय सरकारले समेत भेला, उत्सव र महोत्सवलगायत सहभागी नहुन निर्देशन दिएलगत्तै इलामको सौन्दर्य ओझेलिएको छ। सुटिङ गन्तव्यहरू अन्तु डाँडा, कन्याम, फिक्कल, भालुढुंगा, माइपोखरी र जस्बिरेलगायत अहिले सुनसान हुँदैछन्।

फिल्म सुटिङको लागि चर्चित भालुढुंगामा फिल्मकर्मीहरू नआएको स्थानीय बताउँछन्। ‘गत वर्षसम्म भालुढुंगामा यस सिजनमा धेरै फिल्म सुटिङ भइरहेको थियो,’भालुढुंगा पर्यटन प्रवद्र्धन समिति अध्यक्ष हरि गुरुङले भने, ‘यस पटक सिजनमा समेत सुनसान भएको छ।’ कन्याम, अन्तु र फिक्कललगायत स्थलमा फिल्मकर्मी नदेखिएको यहाँका व्यवसायी बताउँछन्। अन्तु सामुदायिक होमस्टेका अध्यक्ष रुद्र घिमिरेले दुई सातादेखि अन्तुमा फिल्म सुटिङ रोकिएको जानकारी दिए। ‘१५ दिनअघि तराईबाट आएको एउटा समूहले राजवंशी फिल्म सुटिङ गरेको थियो। अहिले फिल्मकर्मीमात्र नभएर पर्यटक समेत आउन छाडेका छन्,’ उनले भने, ‘गत वर्षसम्म यस सिजनमा फिल्म सुटिङ गर्न आउनेहरूले होमस्टे बुक गरिसकेका हुन्थे। अहिले एउटा पनि बुक छैन।’

कोरोना त्रासले फिल्म सुटिङमात्र नभएर स्थानीयस्तरमा आयोजना हुने भनिएको दुई वटा महोत्सव समेत स्थगित गरिएका छन्। हरेक वैशाख १ लाई लक्षित गरेर मनाइने इलाम महोत्सव र सूर्याेदय सडक महोत्सव स्थगित गरिएका हुन्। इलाम नगरपालिकाले ‘साझा पर्व’ का रूपमा हरेक वैशाख १ लाई महोत्सव आयोजना गरी मनाउने घोषणा यसअघि गरेको थियो। तर फागुन २२ मा बसेको नगर कार्यपालिका बैठकले महोत्सव स्थगित गर्ने निर्णय गरेको थियो। नगर प्रवक्ता ठाकुरनारायण श्रेष्ठले नगरको साझा पर्व कोरोनाको कारण स्थगित गर्नुपरेको बताए।

सूर्याेदयमा चैत २९ र ३० का लागि आयोजना गरिने सडक महोत्सव स्थगित गरिएको सूर्याेदय होटल व्यवसायी संघ अध्यक्ष युवराज प्रधानले बताए। ‘महोत्सव, भेला र उत्सवलगायत आयोजना नगर्न सरकारले गरेको निर्देशन पालना गर्दै हाम्रो कार्यक्रम स्थगित गरेका छौं,’ उनले भने। विद्यालयस्तरमा आयोजना गरिने नाटक, कलाकारिता, अभिनयबारेका कार्यक्रमसमेत कोरोना त्रास कारण स्थगित गरिएको छ। जिल्लास्थित चेतना नाट्य समूहले चैतका लागि आयोजना गरेको ‘भाँडाकुटी कार्यशाला’ स्थगित गरिएको हो। ‘जिल्लामा नाटक, अभिनय कलाबारे विद्यार्थीलाई जागरुक गराउन हरेक वर्ष समूहले भाँडाकुटी कार्यशाला आयोजना गथ्र्याे,’ समूह अध्यक्ष सुरेश पोर्तेलले भने, ‘नाटक मञ्चन गर्ने कार्यक्रम पनि थियो। कोरोना संक्रमणको त्राससँगै अहिले स्थगित गरेका छौं।’

प्रकाशित: ५ चैत्र २०७६ ०३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App