coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जुम्लामा एसइईमा कडाई : परीक्षा हलमा मोबाइल निषेध

जिल्ला परीक्षा समन्वय समितिको बैठक । तस्बिर : नागरिक

जुम्ला- यही चैत ६ देखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को अन्तिम तयारी भइरहेको छ। मोबाइल, इमेल इन्टरनेट, सामाजिक सञ्जालबाट प्रश्नपत्र बाहिरीने सम्भावना बढी भएपछि जिल्ला परीक्षा समन्वय समितिले परीक्षा हलमा मोबाइल निषेध गर्ने निर्णय गरेको हो।

जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको संयोजकत्वमा बसेको बैठक तथा केन्द्राध्यक्षलाई अभिमुखिकरण गर्न आयोजित कार्यक्रममा एसइई परीक्षा हलमा मोबाइल निषेध गर्ने निर्णय भएकोे शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख मक्कर भण्डारी बताउँछन्। यो पटकको परीक्षा निकै मर्यादित बनाउनका लागि तयारी भइरहेको उनले बताए।

केही परीक्षा केन्द्रमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्षको जिम्मेवारी दिएको छ भने केही विद्यालयका प्रधानाध्यापक तथा मावि शिक्षकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिएको शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख भण्डारीले जानकारी दिए। उनका अनुसार एसइई परीक्षाका लागि सबै केन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तीका समेत तयारी अवस्थामा छ। प्रमुख जिल्ला अधिकारी दर्गा बञ्जाडेले प्रवेशपत्र नभएका परीक्षार्थीलाई परीक्षा हलमा प्रवेश गर्न नदिन र परीक्षालाई मर्यादित बनाउन सबै केन्द्राध्यक्षलाई निर्देशन गरिन्। उनले भनिन्,‘कुनै पनि परिक्षार्थी तथा निरीक्षकले परीक्षा अवधिभर मोबाइल लिन दिएको खण्डमा केन्द्राध्यक्षलाई पनि कारबाही हुनेछ। अभिभावकलाई परीक्षा केन्द्रमा भिडभाड तथा अमर्यादित क्रियाकलाप हुन नदिनको लागि केन्द्राध्यक्षलाई सजग गराएका छौँ।’

प्रहरी नायव उपरीक्षक लालबहादुर धामी एसइई परीक्षा मर्यादित र भयरहित वातावरणमा बनाउनका लागि परीक्षा अवधिभर सुरक्षा व्यवस्था कडा पारिने बताउँछन्। नक्कली परीक्षार्थी राखेको भेटिएमा नियन्त्रणमा लिएर कानुनी कारबाही प्रक्रिया थालिने बताए।

गत वर्षहरुमा जुम्लाको एसइई परीक्षामा आफ्ना विद्यार्थीलाई पास गर्न, राम्रो ग्रेडिङ ल्याउने बाहना अभिभावकदेखि निरीक्षकले नै परीक्षा अमर्यादित बनाउने र चिट चोराउने प्रवृत्ति हाबी भएको बताउँदै यस वर्षको परीक्षामा त्यस्ता खालका बिकृतिलाई रोक्न विशेष अनुगमनको संयन्त्र पनि प्रयोग गरिने शिक्षा बिकास तथा समन्वय इकाइ जुम्लाले जनाएको छ।

माध्यामिक शिक्षा परीक्षामा यस वर्ष जुम्लाका २ हजार ५ सय ७३ परीक्षार्थी सहभागी हुने छन्। जसमा छात्र १ हजार २ सय ५६ र छात्रा १ हजार ३ सय १६ जना रहेका छन्। शिक्षा विकास तथा समन्वय इकाई जुम्लाले एक नगरपालिका ७ गाउँपालिकामा एसइई परीक्षाका लागि १६ वटा केन्द्र निर्धारण गरेको छ।
 
सरकारले एसइई परीक्षा अवधिभर देशभरका परीक्षा केन्द्रमा हेल्थ डेस्क सञ्चालन गर्ने निर्णय अनुसार जुम्लाका १६ वटा परीक्षा केन्द्रमा पनि हेल्थ डेस्क स्थापना गर्ने जनाएको छ। शिक्षा विकास तथा समन्वय एकाइ जुम्लाका प्रमुख भणडरीले जुम्लाका १६ वटै परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय भएको बताए।

 

प्रकाशित: ४ चैत्र २०७६ १२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App