अभिभावक

विद्यालय तहमा प्रवेश परीक्षाको औचित्य

मङ्गलबार, ०४ चैत २०७६, १४ : ४३ सृजना पाण्डेय

विद्यालय तहमा नयाँ शैक्षिक सत्र सुरु हुँदैछ । यतिखेर तपाईं हामीमध्ये कतिपयले बाध्यताले अथवा रहरले पुराना स्कुल छोडेर आफ्ना नानीबाबुलाई नयाँ स्कुलमा भर्ना गर्ने तरखर गरिरहेका हुन सक्छौँ । नाम चलेका निजी स्कुलले भर्नाका लागि प्रवेश परीक्षा लिने भएकाले त्यसको तयारी पनि गराइरहेका हुन सक्छौँ । खासमा के हो त प्रवेश परीक्षाको रहस्य ? त्यसबारे चर्चा गरौँ ।

नयाँ कक्षामा भर्ना गर्नका लागि लिइने पूर्वयोग्यता परीक्षा प्रवेश परीक्षा हो । प्रवेश परीक्षा खास गरी दुईवटा उद्देश्यले लिइन्छ । १. मेधावी विद्यार्थी छनोट गर्न २. विद्यार्थीको अभिरुचि अनुसारको शिक्षा दिन ।

मेधावी विद्यार्थी छनोट गरेर गुणस्तरीय शिक्षा दिनका लागि प्रवेश परीक्षा दिने चलन परम्परादेखि चलिआएको हो । पहिले शिक्षाको संस्थागत विकास भइसकेको थिएन । शिक्षा दिने गुरुकुलहरू कम थिए । चाहेर पनि ती गुरुकुलले धेरै विद्यार्थीको चाप धान्न सक्दैनथे । त्यसैले प्रवेश परीक्षा लिएर मेधावी विद्यार्थी मात्र छानिन्थ्यो र गुणस्तरीय शिक्षा दिइन्थ्यो । भर्ना भएका अधिकांश विद्यार्थी सम्बन्धित विषयमा पारङ्गत भएर निस्कन्थे । अहिले पनि कतिपय राम्रा विद्यालयमा मेधावी विद्यार्थी छनोट गर्नका लागि प्रवेश परीक्षा लिइन्छ ।

विकसित देशहरूमा विद्यार्थीको अभिरुचिअनुसारको शिक्षा दिनका लागि प्रवेश परीक्षा लिइन्छ । विद्यार्थीको रुचि जुन विषयमा हुन्छ त्यसै विषयको शिक्षा दिँदा उसले बढी उपलब्धि हासिल गर्न सक्छ । त्यसैले विद्यार्थीको अभिरुचि बुझ्नका लागि प्रवेश परीक्षा लिने र उसले जुन विषयमा राम्रो गर्न सक्छ त्यसैसम्बन्धी शिक्षा दिने प्रवेश परीक्षाको अर्को उद्देश्य हो ।

नेपालका सन्दर्भमा भने प्रवेश परीक्षा स्कुलहरूको देखाउने दाँत मात्र भएको छ । केही औँलामा गन्न सकिने विद्यालयलाई छोडेर अरूले माथि भनिएका दुवै उद्देश्यका लागि प्रवेश परीक्षा लिँदैनन् बरु उनीहरूले प्रवेश परीक्षालाई व्यापारिक प्रयोजनका दृष्टिले हेरेको देखिन्छ । कैयौँ स्कुलहरूले प्रवेश परीक्षाका नाममा विद्यार्थीबाट पैसा असुल्ने गरेको पाइएको छ । नयाँ भर्ना हुँदा बुझाउने शुल्क त छँदै छ, त्यसबाहेक प्रवेश परीक्षाका लागि समेत विद्यार्थीले अलग शुल्क बुझाउनुपर्ने हुन्छ ।

विद्यालयहरूले नयाँ विद्यार्र्थीको प्रवेश परीक्षाका लागि आफैँले सामग्री तयार गर्छन् । त्यस्ता सामग्री प्रायः आफ्नो स्कुलमा पठनपाठन हुने पाठ्यपुस्तकका आधारमा तयार गरिन्छन् । तर समस्या कहाँनेर देखिन्छ भने सबै स्कुलमा एकै किसिमका पाठ्यपुस्तक लगाइएको हुँदैन फरक–फरक लेखकका फरक–फरक प्रकाशनका पुस्तकहरू लगाइएको हुन्छ । पाठ्यपुस्तकअनुसार विद्यार्थीले पढेका सामग्री पनि फरक हुने नै भए । एक किसिमको किताब पढेर कक्षा उत्तीर्ण गरेका विद्यार्थीले अर्को किसिमका किताबमा आधारित परीक्षा कसरी दिने ?

प्रवेश परीक्षामा कस्तो प्रवृत्ति पनि देखिन्छ भने सुरुमा आउँदा नयाँ अभिभावकलाई विद्यार्थीले प्रवेश परीक्षामा यति प्रतिशत अङ्क ल्यायो भने यति प्रतिशत शुल्क छुट हुने भनेर लोभ देखाइन्छ अनि परीक्षाको मूल्याङ्कन गर्दा कम अङ्क दिएर विद्यार्थी र उसका अभिभावकलाई हतोत्साहित गर्ने र चर्को भर्ना शुल्क लिएर भर्ना गर्ने गरेको पनि देखिन्छ ।

प्रवेश परीक्षामा आम रूपमा देखिने अर्को प्रवृत्ति के हो भने नयाँ विद्यार्थीलाई प्रवेश परीक्षामा कम मूल्याङ्कन गरेर पहिले पढेको विद्यालयमा राम्रो पढाइ नभएको, विद्यार्थी कमजोर भएको र आफ्नो विद्यालयमा निकै राम्रो पढाइ हुने भन्ने देखाइन्छ । पछि विद्यालय भर्ना भएर पढ्न थालेपछि प्रवेश परीक्षामा कम अङ्क ल्याएको त्यही नयाँ विद्यार्थी नै कक्षाको सबै भन्दा बढी अङ्क ल्याउने अब्बल विद्यार्थी हुन जान्छ ।

विद्यालयहरूले प्रवेश परीक्षाका लागि प्रश्नपत्र नै तयार गरेर लिखित मौखिक परीक्षा लिने गरेको देखिन्छ । अचम्मको कुरा त के छ भने विद्यालय प्रवेशका लागि लिखित मौखिक परीक्षा लिएर मूल्याङ्कन गरिन्छ तर विद्यार्थीले जतिसुकै अङ्क ल्याए पनि उसलाई भर्ना भने गरिन्छ । अझ कतै त कक्षा जम्प गरेर माथिल्लो कक्षामा समेत भर्ना लिइन्छ । यसले गर्दा प्रवेश परीक्षालाई शुल्क निर्धारणको प्रयोजनका लागि मात्र उपयोग गरेको देखिन्छ।

एउटा कक्षा पास गरेर अर्को कक्षा पढ्न उत्साहित बालबालिकालाई प्रवेश परीक्षामा फेल भइस् भनेर पढ्न चाहेको स्कुलमा पढ्न नपाउने अवस्था सिर्जना गर्नु कदापि ठीक होइन । यसो गर्दा बालमनोविज्ञानमा नकारात्मक असर पर्दछ । यसले अभिभावकलाई पनि नरमाइलो लाग्नु स्वाभाविकै हो ।

नेपालको संविधानले शिक्षासम्बन्धी हकलाई मौलिक हकका रूपमा परिभाषित गरेको छ । यस अनुसार सबै नेपाली नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक छ । त्यसैगरी आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ भनिएको छ । आधारभूत तहमा पढ्ने बालबालिकालाई प्रवेश परीक्षामा फेल गर्नु र पढ्ने मौकाबाट वञ्चित गर्नु भनेको नेपालको संविधानका दृष्टिले सरासर गैरसंवैधानिक कार्य हो ।

सरकारी अधिकारीहरूका अनुसार संविधानले समेत आधारभूत तह निःशुल्क र अनिवार्य भनेको सन्दर्भमा प्रवेश परीक्षा लिएर बालबालिकालाई पास फेल गर्नु उपयुक्त होइन । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिव खुबिराम अधिकारी भन्छन्, ‘आधारभूत तहमा प्रवेश परीक्षा लिएर कसैले पढ्न पाउने कसैले नपाउने स्थिति हुनु भनेको बालबालिकालाई विभेद गर्नु हो । यो संविधानको मर्मअनुरूप होइन ।’ सबैले आफ्नो एरियामा बसेर समान किसिमले पढ्न पाउनुपर्छ भन्ने उनको धारणा छ । अहिले विद्यालय तहको रेखदेख, अनुगमन र निरीक्षण गर्ने अधिकार स्थानीय तहको भएकाले उसले आफ्नो नियम कानुन पुर्‍याएर यसलाई नियन्त्रण र नियमन गर्न सक्ने उनको भनाइ छ । ‘संवैधानिक हकको ख्याल गर्दै स्थानीय तहले बालबालिकाको हितका लागि कार्य गर्न सक्छन्’ अधिकारीको भनाइ छ ।

विद्यालय तहमा लिइने प्रवेश परीक्षालाई शिक्षाविद्हरूले अनुचित मान्दछन् । शिक्षाविद् विद्यानाथ कोइरालाका भनाइमा एउटा कक्षा पास गरेपछि अर्को कक्षामा जान पाउने अधिकार स्वतः हुन्छ । प्रवेश परीक्षा गराई पास भएका बालबालिकालाई मात्र अर्को कक्षामा पढ्न पाउने भन्नु विद्यार्थीका लागि सोझै अन्याय हो । उनी भन्छन्, ‘एउटा कक्षा पास गरेपछि स्वतः अर्को कक्षामा पढ्न पाउनु विद्यार्थीको अधिकारको विषय हो । प्रवेश परीक्षा गराएर बालबालिकालाई कक्षा चढ्न नदिनु भनेको उसलाई सोझै रोक्नु हो ।’ कोइरालाका भनाइमा यसो गर्नु भनेको बालबालिकाको हक अधिकारमाथिको हनन हो । ‘विद्यार्थी धेरै हुनेले र पैसा कमाउने उद्देश्यले प्रवेश परीक्षा लिनु जायज होला तर न्यायिक हिसाबमा यसो गर्नु अन्याय हो,’ कोइरालाले भने ।

शिक्षाविद् कोइरालाका भनाइमा नर्सरी केजीदेखि १० कक्षासम्म इन्ट्रान्स इक्जाम पास गर्नुपर्ने कुरा नै होइन । विद्यार्थीको अभिरुचि बुझ्नका लागि लिइने प्रवेश परीक्षा भने उचित हो भन्ने उनको तर्क छ । उनी भन्छन, ‘विद्यार्थीहरुमा क्वालिटीको प्रश्नभन्दा पनि एक्टिच्यूडको प्रश्न हुन आउँछ । विदेशतिर यो विद्यार्थी यो एक्टिच्युडको छ यो विद्यार्थीलाई मिल्ने पढाइ यो स्कुलमा हुन्छ भनी रेफर गरिन्छ ।  विद्यार्थीले पढ्न नपाउने होइन ।’ यो स्कुलमा जाऊ भनी रेफर गरिदियो भने उसको मनोदशामा केही असर पर्दैन यो स्कुललाई ठिक रैनछु त्यहाँको स्कुललाई ठिक रैछु भन्ने मानसिकता बनाउँछ । तर यदि रेफर नगरी तँ फेल भइस् पढ्न पाउँदैनस् भन्दा कुनै विद्यार्थी डिप्रेसनमा जालान् कोही सधँै दिक्क मान्लान् त्यस्तो स्थिति आउँछ । 

कोइरालाको सुझाव छ ‘यदि कुनै विद्यार्थी कुनै विषयमा कमजोर छ भने त्यही विषयमा उसलाई ट्युसन पढाउन सकिन्छ, कोचिङ पढाउन सकिन्छ, वृज क्लास गराउन सकिन्छ । त्यस्तो खालको क्लासहरु डिजाइन गराउन सकिन्छ । अनलाइनमा पढ्न सक्ने डिजाइन बनाइदिन सकिन्छ ।’ विद्यार्थीलाई हतोत्साही गर्न नहुने उनी बताउँछन् ।

प्रवेश परीक्षालाई शिक्षा मनोविज्ञहरूले पनि उचित ठान्दैनन् । बालमनोविद् डा. रश्मिला कासुला भन्छिन्, ‘हरेक विद्यार्थीमा आफ्नै खालको प्रतिभा हुन्छ । कुनै विद्यार्थीले कण्ठ गरेर सिकेका हुन्छन् भने कुनै विद्यार्थीले अब्जरभेसनबाट सिकेका हुन्छन् । सबैमा एउटै क्षमता हुँदैन । तर प्रवेश परीक्षामा भने सबैको मापन एकै किसिमले गरिन्छ ।’ उनी भन्छिन्, ‘जो विद्यार्थी भर्ना हुन पाउँछन् उनीहरुलाई ठिकै हुन्छ जो भर्ना हुन पाउँदैनन् ती बालबालिकामा ए म त नजानेको पो रहेँछु भन्ने हिनताबोध हुन्छ ।’ यस्तो अवस्थामा बालबालिकालाई नकारात्मक असर पर्ने भएकाले उनीहरूमा यस्तो असर नपरोस् भन्नका लागि अभिभावकमा बालमनोविज्ञानको आधारभूत ज्ञान हुनुपर्छ भन्ने उनको भनाइ छ । 

प्रवेश परीक्षामा सहभागी भएका बालबालिका पास पनि हुन सक्छन् फेल पनि हुन सक्छन् । जो पास हुन सक्दैनन् ती बालबालिकालाई  फ्रस्टेसन हुन सक्छ । मनोविद् कासुला भन्छिन्, ‘एडल्ट हुडमा परेको  फ्रस्टेसन म्यानेज गर्न सक्छन् भने चाइल्ड हुडमा परेको फ्रस्टेसन बालबालिकाले म्यानेज गर्न सक्दैनन् । त्यो फ्रस्टेसन लङलाइफसम्म पर्न जान्छ ।’

अहिले ठूलाठूला नाम चलेका बोर्डिङ स्कुलहरुले त विद्यार्थी र अभिभावक दुवैको परीक्षा लिने चलन छ । अभिभावकलाई जाँच लिँदा स्कुलमा बच्चा राखेपछि हरेक आवश्यकता पूरा गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा हेरिन्छ । विद्यालयहरुले विद्यार्थीलाई भ्रमण लैजाने, पिकनिक लैजाने, विभिन्न किसिमका स्टेसनरी सामान किनिदिन सक्छन् कि सक्दैनन् भनेर हेर्छन् । बालबालिकालाई प्रोजेक्टवर्क गर्नमा अभिभावकले समय दिन सक्छन् कि सक्दैनन् भन्ने जाँच गरिन्छ ।

कासुलाको अनुभव छ ‘प्रवेश परीक्षामा विद्यार्थी पास भएन भने उसलाई स्कुल फोबिया हुन्छ । यसमा स्कुल जाने भनेपछि टाउको दुख्ने, भमिट गर्ने आदि गर्छन् ।’ नचाहँदा नचाहँदै स्कुल जान बाध्य भएपछि स्कुलको वातावरणमा समायोजन हुन बालबालिकालाई गाह्रो हुन्छ । स्कुलको अनुशासनमा बस्न सक्दैनन् । आफूले जान चाहेको स्कुलमा जान पाए भने खुसी हुन्छन् ।

शिक्षालाई व्यापारीकरण गर्ने कुरा राज्यले नियन्त्रण गर्नुपर्छ । खास गरी प्रवेश परीक्षालाई आर्थिक प्रयोजनका लागि उपयोग गर्ने स्कुलहरूमाथि सम्बन्धित निकायको ध्यान जानु जरुरी छ । आधारभूत तहसम्म बालबालिकालाई फेल नगर्ने शैक्षिक नीतिका विपरीत कक्षा उत्तीर्ण भइसकेको विद्यार्थीलाई समेत प्रवेश परीक्षाका नाममा शिक्षाको ढोका बन्द गर्ने कुरा न्याय संगत हुँदै होइन ।

आफ्ना बालबालिकाको चाहना के छ ? उसको क्षमता कस्तो छ भन्ने कुरा अभिभावकले सोच्नुपर्ने हुन्छ । धेरै जसो अभिभावकका महत्वाकांक्षाले बालबालिकाले सास्ती पाएका हुन्छन् । देखासिकी गरेर छोराछोरीलाई नाम चलेको स्कुलमा भर्ना गर्नुलाई इज्जत र प्रतिष्ठाको विषय बनाएको हो भने यस्ता कुरामा अभिभावक सच्चिनै पर्छ । अभिभावकले आफ्नो र आफ्ना बालबालिकाको क्षमता हेरेर उपयुक्त स्कुल छान्नुपर्छ । नाम चल्दैमा स्कुल राम्रो हुँदैन । घरबाट नजिक पर्ने, बच्चाले रुचाएको र उपयुक्त वातावरण भएको स्कुल भयो भने तपाईं हाम्रा बालबालिकाले नै स्कुलको नाम चम्काइदिन सक्छन् ।





यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

Ncell Footer Ad