६ वैशाख २०८१ बिहीबार
समाज

जुम्लामा भारी हिमपात, जनजीवन कष्टकर

जुम्ला–जुम्लामा यो वर्षमा पहिलो पटक हिमपात भएको छ।  गतवर्षमा कातिक महिनामै हिमपात हुने गरेकोमा यो वर्ष पुस अन्तिममा हिमपात भएको हो।   हिमपातले जुम्लाको जनजीवन कष्टकर बनेको छ। मध्य रातिदेखि परेको हिमपातले जुम्ला सेताम्य भएको छ । दुई दिनदेखि बादल लागेपछि राति हिउँ परेको हो।

हिमपातका कारण सदरमुकाम खलंगामा झण्डै पाँच इन्चसम्म हिँउ परेको छ भने  जिल्लाको डिल्लीचौर, छुमचौर, पातारासी गोठीचौर, वुम्रामाडिचौर, वोता मालिका, मालिकाठाटा, घोडेमहादेव र ताम्ती गाविसलगायतका गाविसमा बाक्लो हिमपात भएको छ ।  

दुई दिनदेखि बादल लागेका कारण  यहाँका सोलारबाट चलेका स्थानीय सञ्चार माध्यम बन्द हुने अवस्थामा पुगेका छन्।   सरकारी तथा गैरसरकारी कार्यालयमा आगो तापेर कार्यालय खुलेका छन्।  हिमपातले जनजीवन निकै कष्टकर बनेको स्थानीय बताउँछन्।  गाईवस्तुलाई दानापानी दिनदेखि बालवालिका र वृद्धावृद्धालाई चिसोको प्रभाव निकै परेको स्थानीयले बताएका हुन्।

हिमपातले यहाँ चल्ने हवाइजहाज बन्द भएका छन्।   सदरमुकाम आसपासको जंगलमा झण्डै आधा फिट हिउ परेको स्थानीय बताउँछन्।  यहाँका मानिसहरु घरमा आगो बालेर बसेका छन्। हिमपातले सबै भन्दा जिल्लाको  उच्च भेगको जनजीवन झन कष्टकर बनेको हो। हिमपातका कारण सदरमुकाममा रहेका पसल तथा दोकान बन्द हुने अवस्थामा छन्। अझै बाक्लो वादल लागेकोले हिमपात हुन सक्ने अनुमान गरिएको छ।

सबै तस्बिर: डिवी बुढा

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App