coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भत्किएको ३ वर्षमा पनि मर्मत भएन सडक

३ वर्षदेखि मर्मत हुन नसकेको भैरहवा–बुटवल ६ लेन सडक

भैरहवा - भत्किएको ३ वर्ष भए पनि वेलहिया–बुटवल ६ लेन सडक मर्मत हुन सकेको छैन। आयोजना सम्पन्न नहुदै भत्किएको सडक अन्तर्गत भैरहवा वसपार्क क्षेत्रको सडक बजेट अभाव, योजना प्रमुखहरुको अस्थिरता र मर्मत स्वीकृतीमा ढिलाईको कारण मर्मतको प्रतिक्षामा रहेको छ।

झण्डै ६ अर्बकोे लगानीमा निर्माणधिन बेलहिया बुटवल ब्यापारिक मार्ग, राष्ट्रिय गौरव आयोजना अन्तर्गतको  सडक हो। भैरहवा वसपार्क क्षेत्रको सडक २०६८ सालमा सम्झौता भई निर्माण प्रक्रियामा गएको थियो। शर्मा दिवा द कन्चनजङ्गा जेभीले २०७१ सालमा निर्माण सम्पन्न गरेको उक्त क्षेत्रको सडक सम्झौता अनुसार एक वर्ष सम्म (२०७२) साल सम्म निर्माण कम्पनिले मर्मत गर्नु पर्ने र त्यस पछि बिग्रे भत्केका सडक आयोजनाले मर्मत गर्नु पर्ने हुन्छ। तर २०७२ पछि विग्रन सूरु भएको उक्त सडक क्षेत्रको मर्मत न त आयोजनाले गरेको न त अन्य कुनै निकायले।

वर्षौ देखि मर्मतकोे प्रतिक्षामा रहेको सडकको अवस्था भासिएर कुरुप बन्दै गएको छ। ८० किलोमिटर प्रतिघण्टाको रफ्तारमा हाक्न सक्ने क्षमतामा निर्मित सडकमा अहिले गाडी गुडाउन पनि हम्मे हम्मे परेको छ। लापरबाहीका कारण अल्प समयमै सडक जीर्ण बन्दै गएकोे छ। निर्माण पुरा भएका केही सडक भत्किदा पनि सरोकारवाला निकाय मौन हुदा यसको प्रत्यक्ष असर सर्वसाधरण,चालक र  सावरी सधानहरुले खेप्नु परेको छ। ६ लेन सडक कालोपत्रे गरिए पनि समयमा मर्मत नगरिएकोले जीर्ण बन्दै गइरहेको छ। दैनिक हजारौ गाडी  कुद्ने सडक मर्मत नहुदा विस्तारै अधिकांस ठाउँमा खाल्डा खुल्डी पर्न थाले पनि मर्मत गर्नेतर्फ कसैले ध्यान दिइएको छैन।

यता निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी शर्मा दिवा कन्चनजङ्गा जेभीका इन्जिनियर नवीन शर्माले भने सडक निर्माणमा कमजोरी नभएको बताए। सडकको क्षमता भन्दा बढि भार बोकेको सवारी साधानहरु गुड्दा सडक विग्रिएकोे बताए, ठूला मालबाहक गाडीहरु मिडयनबाट लगातार रुपमा गुड्दा र समयमै परियोजनाले सडकहरु मर्मत नगर्दा ठाउ–ठाउमा खाल्टाहरु बनेको हो।

हामीले सडक निर्माण भएको एक वर्ष्भित्र सडकमा केही क्षति, विग्रे भत्केको भए बनाउने सम्झौता थियो त्यो बेला विग्रेको सडकको मर्मत निर्माण कम्पनिले गरेको थियो। निर्माण सम्पन्न पश्चात ल्याबबाट गुणस्तर परिक्षण गराएका थियौँ आयोजनालाई हस्तान्तरण गरेपछि सडक विग्रेको हो आयोजनाले दिएको गुण्स्तरमा नै हामीले सडक निर्माण सम्पन्न गरेको थियौ। शर्माले भने नागरिक न्युजलाई भने ५० टन क्षमता भार सह्न सक्ने मापदण्डमा बनेको सडकमा क्षमता भन्दा अधिक भारका गाडी गुडाउने भएकोले सडक भत्केको बेलहिया बुटवल व्यापारिक मार्ग विस्तार आयोजना प्रमुख मेघराज मारासिनीले दाबी गरे। एउटै स्तरको निर्माण सामाग्रीबाट निर्मित सडकमा ओभरलोड गुड्ने क्षेत्रमा मात्र विग्रीनु भनेकै निर्माणमा कैफियत भन्दा पनि अन्यमा कैफियत देखिन्छ प्रमुख मरासिनीले भने।

अर्को कारण सडक क्षेत्रमा (पाइप लिकेज) केही चिसोपन  र डिजाइनमा त्रृटि भएको कारणले पनि सडक विग्रिएको हुन सक्छ। ठेक्का सकिएको ६ वर्ष पुग्न लाग्दा पनि हाल सम्म योजनाले सडक मर्मत गरेको छैन पहिलो पटक बजेट छुटटयाएर मर्मत गर्ने प्रक्रियामा छौ – मरासिनीले भने विग्रीसकेको कालोपत्रेलाई काटेर मर्मत गर्नु पर्छ। मर्मतकालागि करिब ९० लाख बजेट विनियोजन भएको छ। टेण्डर प्रक्रियाबाट निर्माण कम्पनि छनोटको प्रक्रियामा रहेको छ।

छनोट पक्रिया लगतै चैत्रको पहिलो साताबाट मर्मत सूरु हुन्छ आयोजान प्रमुख मरासिनीले नागरिक न्युजलाई जानकारी दिए। गत वर्ष अख्तियारले बिग्रीएको सडकको सेम्पल लिएर अध्ययन गरेको कारण पनि निर्माणमा केही ढिलाई भएको एक स्रोतले जानकारी दिएको छ। हाल सम्म ६–७ जना आयोजना प्रमुखहरुले आयोजना हेर्नु, प्रमुखहरु धेरै समय नटिक्नु, एउटा आयोजना प्रमुखको काम अर्को आयोजना प्रमुखले चासो नदिनु, र बजेट अभावका कारणले पनि  समयमा सडक मर्मत हुन नसकेको स्रोतले बताएको छ।

२४ किलो मिटर सडक ३ बर्षमा पुरा गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको भए पनि ९ वटा निर्माण कम्पनिले विभिन्न प्याकेजमा निर्माण सम्पन्न गर्ने योजना ९ बर्ष वितिसक्दा पनि पुरा हुन सकेको छैन। १०.४० मिटर चौडाईको ४ लेन सडक, सडकको दायाबाया ६ मिटर चौडाईको सर्भिसलेन , विचमा ग्रीन जोन र  डिभाइडरहरु सहितको सडक निर्माणको अन्तिम चरणमा छ। पटक पटक म्याद थप सहित निर्माणको अन्तिम चरणमा पुगेको सडक यही आर्थिक वर्ष भित्र (असार मसान्त) निर्माण सम्पन्न हुने कार्यालयको दाबी छ।

अहिले बेलहिया क्षेत्रमा निर्माणको काम भइरहेको छ भने बुटवल तर्फ  (राजमार्ग चौराहा–चिडियाखोला) को सडक विस्तार कार्य अगाडि बढेको छ बेलहिया तर्फको काम असार भित्रै सकिन्छ भने  बुटवल तर्फका सडक मिचेर बनेका संरचना हटाएर सडक विस्तारका लागि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत अनुमति दिएको छ। बुटवलको सडक विस्तार भएसँगै बुटवल–बेलहिया सडक पूरा हुनेछ। निर्माण सम्पन्न भए पश्चात सडकमा ८० किमी प्रति घण्टाको गति सम्म सवारीसाधन गुड्न सक्ने गरी डिजाइन तथा निर्माण गरिएको आयोजनाले जनाएको छ।

यता ट्रफिक कार्यालयले भने पहिला ओभरलोड भएको गाडीलाई जरीवाना काटेर गाडीहरु छोड्ने गरेको भए पनि अहिले आवश्यक कारवाहीकालागि यातायात कार्यालय पठाउने गरेको जिल्ला ट्राफिक कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक महेश बस्नेतले बताए।

ओभरलोडका गाडीलाई सिमा विन्दुमै लोड मिलान गरी प्रवेश दिएमा वा सडक बनाउदा नै सरकारले त्यही स्तरको अत्याधुनिक सडक बनाए सडक भत्किने समस्या आउने थिएन। ६ अर्ब  खर्चिएर बनेको सडक आयोजनामा क्षमताभन्दा बढी भार बोकेर निर्वाध गुड्ने मालबाहक साधनलाई नियन्त्रण गर्नेतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ। आयोजनाले चैतको पहिलो साता देखि मर्मत हुन्छ भने पनि आयोजना मर्मत कुन निर्माण व्यवसायीले गर्ने छनोट नै नभएको अवस्था छ। गत वर्ष नै मर्मतको लागि बजेट आएको भए पनि मर्मत हुन नसकेको सडक चैतको पहिलो साता सम्म पनि निर्माण व्यवसायी छनोट नै नभएपछि पनि मर्मत होला त विग्रेका सडक ?

प्रकाशित: ४ चैत्र २०७६ ०५:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App